नेपाल भेटेरिनरी एशोसिएसनले २०७७ साल जेठ ३१ गते (June 13, 2020) आयोजना गरेको (अनलाईन) कविता प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल मेरो रचना:
केवल
साईनो होइन यो
साक्षात्
गाढा
भावनात्मक नाता
गहकिलो
एउटा अद्वितीय नाता
सहजै
म जान्ने नहुँदै देखिको नाता
जगजाहेर
स्वत-स्फुर्त नाता
भनौं
विशुद्ध
ठेट
जन्मजात स्थापित नाता
चोखो
साख्खै
मेरो माटोसँगको नाता
अहँ,
न कोत्रिन्छ
न चोईटिन्छ
घघडान्
तर, शान्त
मेरो माटोको
कञ्चन ऐश्वर्यता पिउने मन
मौलिक सानिध्यता जिउने मन
मनैभरी
मेरो माटो
सजाइरहने मन।
**
घाँस-दाउरा
गोठालो जाँदाको त्यो सुदूर समय
तर,
भर्खर
उदाउँदै गरेको
एउटा झरिलो सपनाको समय
स्वतन्त्र
गोरखाली
तल्लो पहाडको फेदीमा
मग्नमस्त
त्यो जामुनेडाँडो
त्यो काटीस्वाँरो
त्यो बैखोलो
ओहो
त्यो रनबन
त्यो मेरो सेरोफेरो
अहिल्यै
उस्तै
दुरुस्तै
देखिरहुँ भन्ने मन
धित मरुञ्जेल
चाहारिरहुँ भन्ने मन
सँधैभरी
मेरो माटोको सुवास
पछ्याइरहने मन।
**
अभिलेखमा
कतै
प्राकृतिक बिपत्तिले बनाएको खण्डहर
कतै
जातीय विभेद, महामारीको कहर
तर
निर्घात चुनौतिभित्र
अभूतपूर्व
उच्च मनोबल
संयम भरेर
एकापसमा
भाइचारा फुले-झुलेको हेर्ने मन
टोल-छिमेकमा
सामुहिक प्रयास जुटे-खुलेको हेर्ने मन
निष्ठुरी
बहत्तर साले भूइँचालाले
सिरिखुरी
मेरो घरको भग्नावशेषमा
दण्डवत्
स्वप्नभरी हराइरहने मन।
**
चलायमान
कहिले
अकल्पनीय समय
कहिले
उत्पात समय
गौरवशाली
नेपाली ईतिहासमा
कहिले
समग्र जनआन्दोलनकारीको समय
कहिले
राता फेटाधारीका समय
सरासर
मेरो प्यारो माटोमा
मिल्ने भए त
यो
बहुरुपी समय
एकैछिन रोकेर
मेरो बुबाको
“उहिले र अहिले” को
घतलाग्दो बेली-बिस्तार सुनिरहने मन
सांसारीक सत्य-सगरमा डुबिरहने मन
गाउँ-बस्तीभरी
हर शहरभरी
मेरो माटोको विगत
बर्तमानमा बुलन्द जगाइरहने मन।
**
मान्छे, मान्छेको भिडमा
अनेक, तर एक
छासमिसमा
आफ्नै
र, विशेष
निश्छल
निश्कलंक
मेरो माटोभरी
शिरा-शिरामा
अतुलनीय धनी संस्कृति
बिचित्र भौगोलिक प्रकृति
भगवन्!
यो व्यस्तता
दैनिकी
एकैछिन थाँती राखेर
मादलको
घिन्ताङ-घिन्ताङ्मा भुल्ने मन
सारङ्गीको
सुरताल सँगै झुल्ने मन
मेरै रैथाने
लोकभाकासँग चुर्लुम्म मन्त्रमुग्ध हुने मन
लालीगुराँसको
बैंशसँगै मदहोस् हुने मन
बिन्दास
जुनीजुनी
मेरो माटोको अब्बल छटा
अघाउञ्जेल नियालिरहने मन।
**
जिवन
आरोह-अवरोह
जिवन
संघर्ष र सुखको अगणितीय संयोग
यहाँनिर,
स्रष्टा सञ्जीव उप्रेतिको भावमा
जिवन – “घनचक्कर”
हो
सोह्रैआना !
तर,
अथाह
जिन्दगीको कहरभित्र
लहलह
रहरहरुका आँगनी हेर्ने मन
जिजीविषाका जवानी हेर्ने मन
नौमुरी
नेपाली संपदाभित्र
अबिराम
नेपाली बान्की मुस्कुराइरहेको हेर्ने मन
विशिष्ट
नेपाली धर्तीका कुना-कन्दरा सम्म
उदीयमान
नेपाली कार्यकुशलता हेर्ने मन
नेपाली माझ
हरदम
हार्दिक
सुमधुर सामञ्जस्य भरिएको हेर्ने मन
दीर्घकालीन
राष्ट्रिय सङ्कल्प जरिएको हेर्ने मन
निरन्तर
प्रगतिवादी, व्यग्र मन
सुशिल
आशावादी मन
सौम्य
मृदुभावमा
मेरो पहिचान
मेरो माटोको बखान गरेर
कालजयी
सररर्र
एउटा कविता कोरिदिने मन
सदा सर्बदा
मेरो माटोको
उत्तरोत्तर प्रगति उजागर गरिरहने मन।।
** **
Leave a Reply