स्रोत: गोरखापत्र
– बोधनाथ पौडेल
विजयादशमीपछिको अर्का ठूलो चाड तिहार पनि नजिकै आइपुगेको छ । यमपञ्चकलाई प्रचलित नेपालीमा तिहार र काठमाडौंको परम्परागत नेवारी भाषामा स्वांतिचह्रे पनि भनिएको पाइन्छ । तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमराजसँग रहेको र कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिन मनाइने चलन भएकाले हामी यस चाडलाई यमपञ्चक पनि भन्दछौं । यमपञ्चकमा त्रयोदशीदेखि क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु र बलि एवं गोवर्द्धन र अन्तमा यम र उनकी दिदी यमुनाको सम्झनामा दिदी बहिनीले दाजु भाइको पूजा गरेर यो पर्व समाप्त हुन्छ । पञ्चकको सुरूदेखि नै बहिनीले आˆना दाजुलाई घरमा निम्त्याउँछन् र मीठा खानेकुरा, मन परेको सामान दिई देवताको रूपमा पूजा गर्ने गर्दछन्।