-गोमा जि.सी. (थापा)
सधैं जस्तो यो बर्ष पनि बडा दशैं फेरि नेपालीको घर-आँगनमा भित्रिंदैछ। आफ्नो जन्मथलोबाट हजारौं माईल टाढा भए पनि मेरो मन हिंजोआज त्यही गाउँ ठाउँमा नैं बरोबर टहलिन पुगिराखे जस्तो मलाई महसुस भैराखेको छ। प्रत्येक पल तम्घास, छल्दिपना, राङ्दल, चौरासी, सिलादी, सिमाल्टारी, नमता, मैदान हुँदै देउराली चढ्न शुरु गरिरहे झैं लाग्छ मेरा मन-तरङगहरु। यसरी, तिनै अतितका अनगिन्ति यादहरुले एकाएक कताकता मुटुभित्र चस्काइरहे झैं लागिरहेछ अचेल। हुन त यहाँ पनि सम्भव भए सम्म वरीपरीका सबै नेपालीहरु एकै ठाउँमा जम्मा भएर चाडपर्बहरु रमझमका साथ नमनाउने गरिएका होईनन् तैपनि भौतिक सुबिधाले भरिपूर्ण ठाँउ मात्र सबै कुरा कहाँ हो रहेछ र। त्यो बाल्यकाल, गाउँ, पाखा, छहरा, पहरा, सबभन्दा प्यारो बनेर उभिंदा रहेछन् समयका विविध घुम्तिहरुमा।