स्रोत: नागरीक दैनिक
-स्मृति ढुंगाना
नेपाली संगीतको बजार खस्किँदै गए पनि अञ्जु पन्तको मूल्य बढिरहेको छ। महँगी गायिकाको रुपमा चर्चित छिन् अञ्जुले केही दिनअघि हेटौंडाको एउटा स्टेजमा गाउँदा ५० हजार रुपैयाँ लिइन्। ‘स्वरको माग बढ्न थालेपछि पारिश्रमिक पनि बढाएकी हुँ। निशुल्क गाउनु भनेको पेशाप्रति जिम्मेवार नहुनु हो,’ उनले भनिन्।
सांगीतिक क्षेत्रमा पाइला चाल्दै गर्दा उनी दैनिक १४ घन्टा रियाज गर्ने गर्थिन्। हालसम्म ५ हजारभन्दा बढी गीत रेकर्ड भइसकेको उनको भनाइ छ। आधुनिक, लोक र आइटम गीतमा समेत उनी छाएकी छन्। उनी अरुको एल्बममा गीत गाएको १८ देखि २० हजार रुपैयाँ लिने गर्छिन्। कुनैबेला दिनको पाँचवटासम्म गीत रेकर्ड गर्ने उनी अचेल दुइटामात्र रेर्कड गर्ने गर्छिन्। ‘मेरो सम्पति भनेको यही आवाज हो। त्यसैले एक दिनमा दुइटाभन्दा बढी गीत रेकर्ड गर्दिनँ। स्वरलाई आराम दिन्छु। प्राय गीत आधा घन्टामा रेकर्ड गरिसक्छु,’ उनले भनिन्। नेपाली फिल्म र कलेक्सन एल्बममा स्वर दिन उनलाई भ्याइनभ्याइ छ। ‘काममा नयाँ र पुरानो भन्ने हुँदैन। फिल्मको गीत गाउन अप्ठ्यारो हुन्छ। लोकदोहोरी सबैभन्दा सजिलो लाग्छ,’ उनले भनिन्। उनका अधिकांश गीत प्रिज्मा र त्रिवेणी स्टुडियोमा रेकर्ड हुने गरेका छन्।