स्रोत: ई-कान्तिपुर
-डा. मनप्रसाद वाग्ले
“विद्यालय पुनर्संरचनाको प्रस्तावले एसएलसीलाई क्षेत्रीय स्तरमा र १२ कक्षालाई अहिलेको एसएलसी जस्तो राष्ट्रिय परीक्षाको रुपमा लिने प्रावधान गरेको छ ।”
यस वर्षको एसएलसी परीक्षाको अन्तसँगै ७८ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय एसएलसी परीक्षाको आयु अब एक वर्ष मात्र बाँकी छ । एसएलसीलाई नेपालमा सबैभन्दा बढी महत्त्व दिइएको परीक्षाका रूपमा लिइन्छ । पहाडी ग्रामीण भेग देखि तराई भेगसम्म एसएलसी एउटा यस्तो मापन विन्दु बनेको छ, जसलाई आधार बनाएर व्यक्तिको पहिचान गरिन्छ । बजारमा जागिर खोज्न होस् वा केटीहरूको विवाहको न्यूनतम योग्यता होस्, एसएलसी उत्तीर्ण भए वा नभएको कुरा बढी चासोको विषय बन्छ । सरकारी जागिरमा राजपत्र अनङ्कति द्वितीय श्रेणीको पद वा प्राथमिक तहको शिक्षकको न्यूनतम योग्यता नै एसएलसी उत्तीर्ण राखिएको छ । घरको आर्थिक अवस्थामा सहयोग गर्नुपर्ने कैयौं युवा एसएलसी उत्तीर्ण गरे लगत्तै खरदार पदमा लोकसेवा दिने तयारी गर्छन् । एसएलसी पनि गर्न नसकी पियन पदमा हल्लिनु पर्ने बाध्यतामा हजारौं युवा परेका छन् । यसरी एसएलसी एउटा यस्तो सन्दर्भ विन्दु बनेको छ, जसबाट जीवनका विभिन्न पाटोमा प्रभाव पर्न गएको छ ।