स्रोत: कान्तिपुर
-निर्मल श्रेष्ठ
हङकङ। विश्व चर्चित सांघाई वल्र्ड एक्स्पोमा प्राचीन वास्तुकलाको सम्मिश्रण सहित नेपालले बनाएको कलात्मक मण्डला एक्स्पोकै आकर्षण बनेको छ । वैशाख १८ मा भव्य शुभारम्भ हुने एक्स्पो मंगलबारदेखि परीक्षण सञ्चालनमा छ । परीक्षणका क्रममा प्रति दिन दुई लाखलाई एक्स्पो अवलोकनको निम्तो दिइएको छ । ‘परम्परागत वास्तुकला र संस्कृति झल्कने नेपाली मण्डला सबैको आकर्षण बनेको छ,’ Nepal Pavilion का निर्देशक विनायक शाहले भने, ‘काठमा हातले कुदिएका कलात्मक बुट्टाबारे अधिकांशले रुचिपूर्वक जिज्ञासा राख्ने गरेका छन् ।’
नेपाल-चीन सम्बन्धका सूत्रधार अरनिकोका नामबाट यसको नाम ‘नेपाल अरनिको सेन्टर’ मण्डला नामाकरण गरिएको छ । एक्स्पो स्थलमा नेपालका लागि बाह्र हजार वर्गमिटर क्षेत्रफल छुट्याइएको छ । त्यस मध्ये करिब छत्तीस सय वर्गमिटरमा विश्व सम्पदामा सूचीकृत काठमाडौं वसन्तपुर दरबार क्षेत्रको झल्को दिने मण्डला बनाइएको छ । कलात्मक झ्याल-ढोका, बुट्टेदार इँटा र झङि्गटीका छाना भएका परम्परागत शैलीका घरहरू, चौबीस मिटर अग्लो बौद्ध स्तुपा र पोखरी मण्डलाका आकर्षण हुन् ।