स्रोत: ई-कान्तिपुर
-झमक घिमिरे
यतिबेला मलाई प्रजातन्त्र स्वतन्त्रताको कुरो गर्दा हिमालसँग सोध्न मन लाग्छ- तँ कहिले कुण्ठित थिइस् ?’ पहाडसँग सोध्न मन लाग्छ- तँ कहिले बन्धनभित्र थिइस् ?’ अनि तराई मधेससँग सोध्न मन लाग्छ- तँ पनि कुन सीमाभित्र बाँधिएको थिइस् । कुनै बन्धन र सीमाभित्र छैनन्, कुनै कुण्ठाभित्र पनि छैनन् । तर बन्धन केको ? कुण्ठा केको ? सीमा केको ? र विवाद केको ? उही मान्छेको ? त्यसो भए सबै कुराको जड मान्छे हो । यो समयमा पनि हिमालको भारी बोकेर पेट पाल्ने लाक्पाले प्रजातन्त्रको अनुभूति गर्नपर्यो । उसको जीवनशैलीमा के परिवर्तन ैल्यायो ? पहाडको दिनभरि मजदुरी गरेर आफ्ना बचेरा पाल्ने भुन्टे दाइको दिनचर्यामा के फरकपना देखियो ? अनि तराई, मधेसको दिनरात नभनी पसिना बगाएर खाने रामझिगान पासवानको जिन्दगीमा के उपलब्धि भयो ? तलका मान्छेहरूका लागि हिजो पनि उस्तै थियो, आज पनि उस्तै छ । सायद भोलि पनि उस्तै हुनेछ । यहाँ काम गरेर बाँच्ने मान्छेहरूको श्रमसँग सरोकार होइन, तर प्रजातन्त्र र स्वतन्त्रताले उनीहरूको जिन्दगीलाई के कतिको सकारात्मक प्रभाव पार्यो भन्ने सवाल उठाउन खोजिएको हो ।