स्रोत: नागरिक दैनिक
-लक्ष्मण वियोगी
धुरुधुरु नरोऊ आमा
तिम्रो आँसु पुछेर छाडौंला…
चालिसको दशकमा जनकविकेशरी धर्मराज थापाले गाएको यो गीत निकै रुचाइएको हो। त्यसताका यो गीत नगुन्गुनाउने सायदै कोही थिए। खण्डित, विभाजित एवं दुखेको देशमा एकताको मलम लगाउनुपर्छ भन्ने गायक तथा कवि थापाको उद्घोष थियो त्यो।
तर आज देश जोडिने उपक्रममा बाँडिएको छ। जोडिनुपर्ने मत र सिद्धान्तको दुरी टाढिँदैछ। मुलुक आफ्नै अस्तित्वको मलामी बनेर क्षितिजमा बिलाउँदै गएको आभाष हुन थालेको छ। यस्तो अवस्थामा आमाको आँसु पुछेरै छाड्ने कसम खाएका उनै कवि तथा गायक थापाको पार्थिव शरीरले यो संसारबाट बिदा लिएको छ। पोखराको बाटुलेचौरमा विसं १९८१ साउने संक्रान्तिका दिन खुलेका थापाका आँखा असोज २८ गते मंगलबार बिहान पाँच बजे ९० वर्षको उमेरमा सदाका लागि बन्द भए।
देश हिजोभन्दा आज जर्जर बन्दो छ। राणा शासन ढालिएको ५ दशकसम्म आमाका आँसु पुछ्ने छोरो जन्मिएन। बहुदलीय प्रजातन्त्रपूर्वका राजनीतिक दलले थापाका गीत–कवितालाई परिवर्तनको नारा बनाए। परिवर्तनको उद्घोष गर्न टुँडीखेलमा नेपाली कांग्रेसले जनसागर उतारेको थियो। भाषणका बीच जनसभालाई थापाको यही गीतले गोलबद्ध गरेको उनका समकक्षी कवि तथा साहित्यकार बताउँछन्।
प्रवासी नेपाली छरिएका दार्जिलिङ, भाक्सु, सिम्ला, सिक्किम, गृहावटी, देहरादून, सिलोङ, मेघालय र बर्माका बस्ती–बस्तीमा उनका गीत सदाबहार रुपमा गुन्जिरहन्छन्। लोकतन्त्रले भोगेका समस्या र समाधानका विकल्प थापाले उहिल्यै औंल्याएका थिए। उनका गीतमा इतिहास र मानिसका सम्बन्धको झंकार बज्ने गर्थ्यो। तर, त्यो धून साँचो अर्थमा लोकतन्त्रले आत्मसात गर्न सकेको छैन।
सेतीका बाछिटा र फेवातालका स्थिर पानीका छालसँग खेलेर कवि थापाको बाल्यकाल बितेको थियो। धवलागिरि र माछापुच्छे्रको छहारीमा लडिबुडी खेल्दै पञ्चासे र नौडाडाँलाई चुम्न आउने झुल्केघामसँगै उनले लोकजीवन सुसेल्न सिकेका थिए। प्रकृतिको यही सेरोफेरोमा उनमा काव्यरस पसेको थापा सुनाउँथे।
मानव संवेदनालाई सरल रुपमा साहित्यमा उतार्नु, राष्ट्र र राष्ट्रियताको छवि सदा उचो राख्नु उनको काव्यिक सरसता थियो। कवितालाई झ्याउरे लयमा गाउन सिपालु उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘झ्याउरेको बुलबुल’ उपनाम जोडिदिएका थिए। लोक–साहित्य र लोकगीतमार्फत नै उनले राष्ट्रमा योगदान पुर्याेउँदै आए। थापाको गलाबाट प्रभावित तत्कालीन राजा महेन्द्रले योगदानको कदर गर्दै विसं २०१३ मा ‘जनकविकेशरी’ को उपाधि दिएका थिए।
राजा महेन्द्रबाट उपाधि पाएकाले लोकतन्त्रले उनलाई राजावादीको पगरी गुथायो, जनतन्त्रविरोधी भनेर हियायो। वास्तवमा तत्कालीन समयमा राजतन्त्रलाई उनले एउटा प्रतीक मात्र मानेका थिए।
शिरमाथि नेपाल आमालाई
काँधमाथि महेन्द्र राजालाई…
तर, उनले देशभन्दा माथि कोही, कसैलाई राखेनन्। माटो हावा र पानीको सुगन्ध गीतमा उन्न सिपालु थापा मातृभूमिका सच्चा पुजारी नै थिए। उनका गीतमा हरदम मौलिकता र राष्ट्रप्रतिको समर्पण पोखिएको थियो। ‘समयभन्दा ठूलो केही थिएन, राजाको उपमा राख्नु बाध्यताको उपज थियो,’ उनका जेठा छोरा तथा धर्मराज–सावित्री थापा गुठीका अध्यक्ष मदनराज थापाले बाबुलाई सम्झँदै भने।
थापाविरुद्ध जस्तोसुकै पूर्वाग्रह पालेको भए तापनि लोकतान्त्रिक सरकारले अन्तिम क्षण उनको योगदानलाई बिर्सेन। सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गर्यो । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिएको उनको पार्थिव शरीर मंगलबार नै आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो।
तर उनलाई राजावादी भन्नेहरुले २०४६ सालपूर्व जेल तोडेर भागेका डा. इन्द्रजित कुवँर (केआई सिंह) को गीतमा हौसिएका यी पंक्ति बिर्सनुहुन्न :
‘क्रान्तिकारी हे वीर के आई सिंह,
कहाँ गयौ जेलखाना तोडेर …
उक्त गीत गाएपछि उनले एक महिना जेलको चिसोमा बिताउनुपरेको थियो। जनताका गायक भएकैले तत्कालीन सरकार उनलाई छाड्न बाध्य भयो। उनको बोली, गीत र कवितामा एउटै सन्देश हुन्थ्यो– देशभन्दा माथि कोही हुँदैन।’ उनका गीतमा प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पादेखि बुद्धको महिमासमेत समेटिएको छ।
हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा,गम्केर बज मुजुरा, जन्मेछौ बुद्ध नेपालमा नेपालीजनको मनमा, आज मादल बजेको किन, घर सम्झी रोएको होला डाँडा काटी गएको नेपाली ….
आञ्चलिक लोकजीवनको अध्यननसमेत गरेका थिए जनकवि थापाले। ‘तनहुँ फूलबारी’ र ‘चितवन दर्पण’ उनका खोजमूलक लोकसाहित्यका पुस्तक हुन्। थापाले मंगली कुसुम, कालीको लहर, गोलसिमल, तिलोत्तमाको भेल, वनचरो, रानीपोखरा, चिरायुलगायत तीन दर्जन बढी गीत, कविता र खण्डकाव्य नेपाली लोकसाहित्यलाई छाडेर गए।
धर्मराज थापाको ‘मंगली कुसुम’ खण्डकाव्यले मदन पुरस्कार पाएको थियो। लोकगीत र लोकसाहित्यमा समान योगदान पुर्याजएबापत उनले जगदम्बाश्री पुरस्कारसमेत पाएका थिए। नेपाली साहित्यिक इतिहासमा मदन र जगदम्बाश्री दुवै पुरस्कार पाउने उनी एक्ला व्यक्तित्व हुन्।
समयान्तरमा उनमा एउटै गुनासो र चिन्ता थियो— फेरिँदो समय र आधुनिकताको सनासोमा च्यापिँदै युवाले देश भुलेकोमा। यो माटो, हावापानी र लोक–जीवनभन्दा पर गएर पसिना बगाउँदैमा देश बन्दैन भन्नेमा उनी अडिग थिए। यही सन्देश मिसिएको उनको गीत बोल्छ :
जन्मेको देशलाई नेपाली भेषलाई
नेपालीले माया मार्योष बरी लै,
मागेर डुल्छन् आँतका भाइ
अरुकै निम्ति लड्दछन् दाइ
रोप्तैछौं हामी, काट्तैछौं हामी
दाइँ हाल्छ अर्कै पाखाको आई
नेपालीले माया मार्यो बरी लै …
मुलुक हाँक्ने आजका अनुहारलाई उनका गीतका पंक्तिले झापड हानेको छ। विश्व विकासको चुलीमा चढिरहँदा देश अविकासको भुंग्रोमा पिल्सिनु दुर्भाग्य हो। थापाले गाएझैं अचेल इतिहास र मानिसको सोझो सम्बन्धको लय बज्दैन। बज्छ त केवल अशान्ति, अविकास, अभाव र परजीवी हुनुको एउटा अव्यक्त पीडा मात्रै। उनी कवि, गायक र अध्येता मात्र थिएनन्। इतिहासको विनिर्माण गर्ने युगका सच्चा प्रतिनिधिसमेत थिए।
लोकगीत–संगीत गायन, अध्ययन र प्रचारमा सिंगो जीवन खर्चेका थापाले दुनियाँलाई सारंगी र गन्धर्वको परिचय गराएका थिए। बाटुलेचौरका स्व. झलकमान गन्धर्वलाई रेडियो नेपाल ल्याएर जागिर ख्वाएका थापाले टुँडिखेलमा देशभरका गन्धर्वको सम्मेलनसमेत आयोजना गराएका थिए।
सरकारले वा यस क्षेत्रका अगुवाले थापाको अभियानलाई निरन्तरता दिनुपर्छ। लोकगीत र लोक–साहित्यमार्फत जागरण ल्याउने कर्म रोकिनु हुँदैन। ९० वर्षमा विश्राम लिएको धर्मराज थापाको जीवन र कर्मलाई आजको युगले आत्मसात गर्न सके देशप्रतिको आस्था र सभ्यतामा विचलन आउने थिएन। इतिहासका अनेक घुम्ती मिच्दै सपना र कल्पनाको नयाँ सन्धी गर्न खोज्नेले उनको कर्म फर्केर हेरिदिए हुन्थ्यो।
थापाको एक दशक कम शतकीय जीवन जसरी बिते पनि उनलाई जनताले कहिल्यै नबिर्सने कालजयी गीतहरु सधैं घरघर, मनमनमा गुन्जिरहनेछन् :
हरियो डाँडामाथि
हलो जोत्ने साथी
हो हो माले हो हो
हो हो तारे हो हो …
२०७१ साल असोज २८ गते मंगलवार।
Leave a Reply