(“सालको पात झरेछ आलीमा, नयाँ आयौ भर्छौ कि खालिमा….!” नयाँ वर्ष वि.सं.२०७१ सालको पुनित अवसरमा…….)
सम्भावना भएकैलाई म भन्छु
नयाँ वर्ष
प्रत्येक नयाँ पलमा
यो बोली
देव-वाणी होस्
यो कामना
शाश्वत, जादुमयी पुगोस्
नरोकियोस्
यो चकचके, यो फुत्फुते
सदाबहार नौलो समय
बरु
प्रत्येक बिहानी झुल्किन नपाउँदै
भालेको डाँक भूईंमा ठोक्किन नपाउँदै
त्यो दूर आकाशमा
तीन-तारे उदाउन नपाउँदै
बूढी गण्डकीको
शितल, एकछत्र गति झैं
सारा मनमा
उर्जाशील आँटहरु जुर्मुराउन्
सारा तनमा
सृजनशील सासहरु सगबगाउन्
साराका सारा,
मर्त्यलोकैभरी
अनन्त
सुवास फैलिईरहोस्, होनहार वसन्तको
आनन्दको हरियाली छाईरहोस्
हरेक मुठी हावा
अटुट विश्वासको संवाहक बन्दै जाओस्!
**
भनेर साईत जुर्ने भए
अपेक्षा तथास्तु हुने भए
सारा मनका बीचबाट
समन्वयकारी,
संस्कार मौलाओस् सह-अस्तित्वको
स्वत:
द्वेष-भाव दूर होस्
मित्रभाव भरपुर रहोस् सबै दिशा
सारा जन
आतुर होउन् सेवाभावले
तँछाडमछाड गरुन्
सामाजिक दायित्वबोधले
छर-छिमेक
रहँदा बस्दा
कोही उँचो र कोही निचोको
छेडखानी
बिदा होस् सदा सदाका लागि
कसैले
अबला भएर अलग्गिन नपरोस्
कुनैले
निर्धो भएर हेपिन नपरोस्
गाँवैभरी, शहरैभरी
तमाम मान्छेका सर-संगतभरी
यत्रतत्र
आदरार्थी मुस्कुराओस्
मर्यादा मसक्क मस्कियोस्
आधी बाटैमा
कहिल्यै आशाका कोपिलाले
मुर्झाउन नपरोस्
सबैतिर सद्बुद्धी
र, भाइचाराका पर्रा छुटिरहुन्!
**
सपना, साक्षात पाऊलागी गर्ने भए
चिताएको चुस्त-दुरुस्त ढिम्किने भए
ओहो!
अब आउने नयाँ साल
र, सँधैं सँधैं
म बढेहुर्केको रनबन
मेरो खानीखोलाको एकान्त
अदभूत सन्नाटा बोकेर
तर, अमूल्य बनपैदावरले झरिझुत्त
उही जिवन्त बाँचिरहोस्
बनको
निस्फिक्री नाचिरहुन्
मेरो
मुरली, भदुवार, र जलकन्या खोलाका
छाँगाबाट
निरन्तर
सङ्लो र कञ्चन पानी
अबिच्छिन्न छङ्छङाइरहोस्
ती गौलेतो र जलुको
झाँगिईरहुन उसरी नैं
मेरो बैखोलो
प्रत्येक नौलो समय
र, सँधैं सँधैं
बैंश बोकेर सुसाइरहोस् नथाकीकन
रसिलो
मेरो चौतारडाँडो
भरिलो
मेरो नामजुङ्
सदा जागा रहोस्
षोडसी साँचिरहोस् जुनीजुनी
कदापी
नलागोस् प्रकृतिको कर्के आँखा
अहँ
म जन्मेको अनुपम माटोमा
मेरो बचपन मडारिएको धुले-छातिमा
निथ्रुक्क
मेरो पसिना भिजेको धरतीमा
निर्धक्क
बाँचिरहोस्
अबिरल हाँसिरहोस्
मायाले, मैले चुमेको त्यो माटो!
**
मनोकामना साकार हुने भए
बोलीमा “सह” सञ्चारित हुने भए
बिल्कुल
नयाँ वर्ष
प्रत्येक नयाँ घडी
विकासशिल बनिरहोस् मेरो भूमिमा
एक चिम्टी
संशय ओढेर बाँच्न नपरोस् कसैले
निर्धक्क
मान्छेका भीडमा
बहाल रहोस् मान्छेका सकल अधिकार
निर्णायक
सधैंका निम्ति अस्ताओस्
जड दण्डहीनता मेरो प्यारो ठाउँको
क्याबात्!
अब आउने नयाँ समय
निश्चिन्त
राज्य, राज्य जस्तो होस्
धातु झैं अमीट अक्षरहरुले
जनका लागि
जन-समझदारीमा
लेखियोस् राज्याविधान
र
अब्बल भूमिमा
अविरल, प्रगतिको बाटो
सदाका लागि स्थापित होस्
लमतन्न
व्यग्र पर्खाई
परिवर्तित होस् अर्थपूर्ण उपलब्धीमा
काकाकुल देश कन्दरा
सन्तुष्टीले होउन् भरिपूर्ण
बिन्दास
म, ऊ, तिमी र हामी
अब प्रत्येक नयाँ दिन
चौडा छातिले गौरव बाँच्न पाऊँ
पुन:
आम नागरिक गुनासा
नयाँ कलेवरमा
आफ-से-आफ
फेरि प्रतिध्वनित हुनु नपरोस्
बस्
अरु त, को के भन्न सक्ला
एक्लो आवाज
आवाज नैं पो के ठहर्ला
जो-जससँग सम्बन्धित
आखिर, कामना गर्ने कुरा न हो।
** **
Leave a Reply