स्रोत: कान्तिपुर
-बुद्धिनारायण श्रेष्ठ
बुद्ध नेपालमा जन्मेका थिए । आजभन्दा २ हजार ५ सय ५७ वर्षअघि बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । बुद्धको आमा मायादेवी तिलौराकोटबाट माइती देवदेह जाँदा लुम्बिनी पुगेको बेला प्रसव वेदनाले च्यापी बुद्धको जन्म त्यहीं भएको थियो । पौराणिक वृत्तान्तअनुसार बुद्ध जन्मने बित्तिकै उत्तरतर्फ सात पाइला हिंडेका थिए । उनलाई राजा शुद्धोदनको छोरा राजकुमारका हैंसियतमा ‘सिद्धार्थ’ अनिे भिक्षुका रूपमा ‘गौतम’ र ज्ञान प्राप्तकर्ताका हैसियतमा ‘बुद्ध’ भन्ने गरिन्छ । उनलाई शाक्य वंशका प्राज्ञ (सिद्ध) का कोटिमा ‘शाक्यमुनि’ भन्ने चलन पनि रहेको छ । ज्ञानोपार्जनका लागि २९ वर्षको उमेरमा बुद्धले तिलौराकोट दरबार छाडी भारतमा बुद्धत्व प्राप्तिपछि उपदेशकका रूपमा नेपाल फर्केका थिए । शान्ति, अहिंसा, परमोधर्म जस्ता उनको उपदेश विश्वभर प्रख्यात रहेको छ । उनको जन्म पूणिर्मा तिथिमा भएको थियो भने असी वर्षको उमेरमा पूणिर्मा तिथिकै दिन देहान्त भएको थियो । शाक्यमुनि सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अनेक प्रमाण छन् । त्यस्ता प्रमाणहरूमध्ये बुद्ध जन्मेको ३५० वर्षपछि भारतका सम्राट अशोकले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण गरेको साढे ६ मिटर अग्लो ‘अशोक स्तम्भ’मा लेखिएको ‘हितबुधे जाते सक्यमुनिति’ अर्थात ‘यहाँ बुद्ध शाक्यमुनिको जन्म भएको’ नै ज्वलन्त प्रमाणका रूपमा रहेको पाइन्छ ।
लुम्बिनी बुद्धको जन्मस्थल हो भनी संयुक्त राष्ट्रसंघको युनेस्कोले विश्वसम्पदा सूचीमा सन् १९९७ मा सूचीकृत गरेको छ । जर्मनी, जापान, क्यानाडाजस्ता विभिन्न देशका पुरातत्त्वविदहरूले उत्खनन गरी लुम्बिनीमा बुद्ध जन्मेका थिए भन्ने अनुसन्धान प्रतिवेदन तयार पारेका छन् । बुद्ध नेपालमा जन्मेका हुन् भनी यत्तिका प्रमाण हुँदाहुँदै पनि छिमेकी मित्र देश भारतले बुद्ध भारतमा जन्मेका हुन् भनी मिथ्या प्रचार गर्दै आएको छ । उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्ला अन्तर्गत पिप्रहवा गाउँमा बुद्ध जन्मेका हुन् भनी भारतले भन्ने गरेको छ । कहिलेचाहिं उडिसा राज्यको कपिलेश्वर बुद्धको जन्मस्थल हो भन्ने गरेको छ । शैक्षिक कोर्स किताबमा बुद्ध भारतमा जन्मेका हुन् भनी पठन-पाठन गर्ने गरिएको छ । गएको वर्ष फागुन २४ मा दिल्लीको ‘टप ट्राभल्स’ले ३ वटा ठूला बसमा १०३ भियतनामी बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भ्रमणको क्रममा सोनु जयसवाल नामक भारतीय पथप्रदर्शकले पर्यटकहरूलाई बुद्धको बाबु राजा शुद्धोदनको राजप्रासाद भारतको पिप्रहवामा भएको बताए । त्यसबखत कान्तिपुर सञ्चारकर्मीले किन गल्ती जानकारी गराएको भनी भारतीय पथप्रदर्शक समक्ष जिज्ञासा राख्दा ती पथप्रदर्शकले भने- ‘मैले यस्तै पढेको र जानेको हुनाले यस्तै भनेको हुँ ।’ यसबाट बुद्धको जन्मस्थलबारे कुन तहसम्म भ्रम पै्रदा गरिएको रहेछ भनी बुझ्न सकिन्छ ।
वास्तवमा राजा शुद्धोदनको दरबार नेपाल-भारत सीमाबाट १३ किलोमिटर उत्तर नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा पर्छ । तर भारतले नक्कली दरबार सीमारेखाबाट भारततर्फ १ किलोमिटर दक्षिण पिप्रहवामा बनाई बुद्धको जन्मस्थलबारे मिथ्या प्रचार-प्रसार गर्ने गरेको पाइन्छ । आखिर भारत किन यस्तो गर्छ र बुद्ध भारतमा जन्मेका हुन् भनी किन भन्ने गर्छ ? यसको जावाफमा राजनीतिक र आर्थिक कारण रहेको हुनसक्छ । भारत चीनभन्दा अगाडि बढ्दै गयो भने अमेरिका तथा पश्चिमा मुलुकले भारतलाई अझ बढी मुलाहिजा गर्नेछ भन्ने धारणाले पनि यस्तो गरिएको हुनुपर्छ । भारतले बुद्ध उसको देशमा जन्मेको हो भन्ने कुरामा बोधगयामा बुद्धत्व प्राप्त गरेको तथा भारतकै कुशिनगरमा उनको देहान्त भएको हुनाले भ्रम पार्न खोजिएको छ ।
बुद्ध भारतमा जन्मेका हुन् भनी भारतले प्रचार गर्नुका पछाडि आर्थिक कारण पनि रहेको छ । विश्वका विभिन्न देशका लगभग ५० करोड -चीन बाहेक) जनसंख्या बुद्ध धर्मावलम्बी छन् । उनीहरूमध्ये बहुसंख्यक प्रतिशतका व्यक्ति एकपटक बुद्धको जन्मस्थल टेक्ने अभिलाशा राख्छन् । संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव बान कि मुनको सानैदेखिको इच्छा जीवनमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने रहेकोमा २०६५ कात्तिक १७ मा उनले लुम्बिनीको दर्शन गरेका थिए । थाइल्यान्डका भूतपूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले २०६८ पुस २ मा लुम्बिनी दर्शन गर्ने आफ्नो सपना साकार भएको कुरा व्यक्त गरेका थिए । यस प्रसंगमा विश्वका करोडौं बुद्ध धर्मावलम्बी पर्यटक भारतमा भित्र्याएर प्रतिवर्ष अर्बौं डलर आर्जन गर्न बुद्ध भारतमा जन्मेका हुन् भनी भ्रम फैलाउने गरेको बुझिन्छ । नेपालमा विभिन्न प्रकारका राष्ट्रिय चिन्तन, मनन र भनाइको कमी छैन । तर कार्यान्वयनमा सख्त कमी र कमजोरी सधै रहिआएको छ । अब बुद्धको जन्मस्थल बारेको मिथ्या प्रचारलाई हटाउन ठूलो तामझाम गरिरहनु पर्दैन । करोडौं धनराशि खर्च गर्नु पर्दैन । चाहिन्छ त एउटा सानो प्रतिबद्धता । यस्तो प्रतिबद्धता निम्न माध्यमद्वारा कार्यान्वयन गर्न-गराउन सकिन्छ । प्रथमतः मन्त्रिपरिषदको निर्णयद्वारा मन्त्रालयदेखि जिल्ला तथा गाविससम्मका सरकारी/अर्धसरकारी कार्यालयहरूको लेटर प्याड र पदाधिकारीको भिजिटिङ कार्डको पुछारमा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भनी उल्लेख गर्नुपर्छ । विभिन्न निकायका ब्रोसर, पम्प्लेट, परिचयपत्र, वेब साइट, होम पेजमा र इ-मेलको पुछारमा ‘बुद्ध वाज बर्न इन नेपाल’ उल्लेख गरिनुपर्छ ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको आगमन कक्षमा ठूलो अक्षरले ‘वेलकम टु द कन्ट्री अफ बुद्ध’ र प्रस्थान कक्षमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेख्ने प्रचलन गर्नुपर्छ । होटलको ‘चेकइन काउन्टर’को भित्तामा तथा वाणिज्य बैंकमा यसैगरी लेखी पर्यटकले पैसा कारोबार गरेको रसिद तथा हवाइयात्रुको अध्यागमन कार्डको पुछारमा पनि अनिवार्य रूपले उल्लेख गर्ने परिपाटी बसालिनुपर्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सचिवका विदेशी भेटघाट गर्ने कार्यकक्ष भित्ताको सुहाउँदो ठाउँमा सुहाउँदो अक्षरमा अङ्कन गर्नु बढी प्रभावकारी हुनसक्छ । भारत र चीनको सीमा-नाकामा बनिएका सीमाद्वारमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिने व्यवस्था गरिनुपर्छ । सीमावर्ती जिल्लाका अदालत, प्रहरी, भन्सार, अन्तःशुल्क, अध्यागमन कार्यालय, विद्यालय तथा निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता उद्योगी व्यवसायीले यस कुरालाई अनुशरण गर्नुपर्छ । विदेशस्थित नेपलको दूतावास, नियोगमा राजदूतको भेटघाट कक्ष तथा भिसा काउन्टरमा पनि यस्तै प्रक्रिया अवलम्बन गर्ने निर्देशन गर्नुपर्छ । दूतावासको लेटर प्याड, राजदूतको भिजिटिङ कार्ड, नेपाली भिसा स्टिकरको पुछारमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश व्यापक रूपमा विश्वभर प्रचार-प्रसार हुनसक्छ । यस्तैगरी संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय निकाय तथा विदेशी सभा, सम्मेलन, बैठकमा नेपाली पदाधिकारी प्रतिनिधिको भाषणको अन्त्यमा ‘थ्याङ्क यु, बुद्ध वाज बर्न इन नेपाल’ भन्ने परिपाटी पनि अपनाउन सकिन्छ । विदेशीलाई उपहार प्रदान गर्दा ‘शान्ति र समृद्धिका प्रतीक बुद्ध नेपालमा जन्मेका हुन्’ भनी उपहारमा लेख्नु अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा कुनै अतिशयोक्ति हुने देखिंँदैन । यसबाट दूरगामी सन्देश प्रवाह हुन जान्छ । बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रामक प्रचारलाई चिर्न हाम्रो सरकारी तवरबाटै सशक्त भूमिका खेली सञ्चारमाध्यमद्वारा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश प्रवाह गराउने परिपाटी मिलाउनुपर्छ । यसैगरी बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ठोस प्रमाण र अन्तर्राष्ट्रिय मान्यतासमेत संलग्न गरिएको पुस्तिका हिन्दी, चिनियाँ र अंग्रेजी भाषामा तयार गरी खास गरेर भारत र चीनमा व्यापक रूपले बिक्री-वितरण गर्ने चाँजोपाँजो मिलाउनुपर्छ । यसबाट बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वभर प्रवाह हुनसक्छ ।
२०७० साल जेठ ११ गते शनिवार।
Leave a Reply