स्रोत: कान्तिपुर
-डा.वासुदेवकृष्ण कोइराला
चन्द्रमास अनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशमी सम्म शक्ति उपासना गर्ने पद्धतिलाई दशैं भनिन्छ । संगठित शक्तिविना कुनै पनि काम गर्न सकिँदैन । ‘नवदुर्गा भवानी’को शक्ति संगठित शक्तिको प्रतीक हो । दुर्गा भवानीको कृपा, आशिर्वाद, शक्ति प्राप्त गर्नका लागि दशैंपर्व मनाउने शास्त्रीय विधान छ । घटस्थापनाको दिन शुद्ध माटो, गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको आह्वान, स्थापना र पूजाआराधना गर्नुपर्छ ।
आद्यशक्ति जगज्जननी अनेकौं रूपमा अवतरति भईर् मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतमा वर्णन गरिएको छ । वर्षमा चारवटा नवरात्रहरू पर्छन् । तीमध्ये शरद र वसन्त ऋतुमा पर्ने नवरात्रमा देवीको विशेष पूजा गरिन्छ । घटस्थापनाको दिन देवीको पूजा गरी गहुँ र जौं मिसाएर जमरा राख्ने विधान छ । प्रत्येक दिन नवदुर्गाका भिन्न-भिन्न रूपको पूजा गर्ने विधान रहेको छ ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, यसैगरी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गर्ने विधान छ ।
षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दशैंघरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीको राति कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन सिंहको पनि पूजा गरिन्छ । गणेश, भैरव, चतुःषष्ठी योगिनी तथा शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा नवदुर्गा स्वरूप नौजना कन्याको पूजन गर्नुपर्छ । दशमीका दिन अपराजिता देवीको पूजा गरिन्छ ।
भगवती दुर्गाले चण्डमुण्ड प्रचण्ड, शुम्भनिशुम्भ, रक्तबीज आदि दैत्यहरूलाई वध गरेको हुनाले दुष्ट दानवको वध गरी सम्पूर्ण लोकको कल्याण गर्नुभएको र भगवान रामले रावणको वध गरेको प्रसङ्गलाई असत्यमाथि सत्यको विजयका रूपमा पनि विजयादशमी मनाइन्छ ।
मान्यजनहरूबाट विजयादशमीको टीका-प्रसाद ग्रहण गरिन्छ ।
नवदुर्गा भवानीका प्रसादले- द्रोणपुत्र अस्वत्थामाको जस्तो पूर्ण आयु, दसरथ राजाको जस्तो श्रीसम्पत्ति, शत्रुक्षय गर्नमा भगवान् रामको जस्तो शक्ति, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान तथा भगवान् नारायणको जस्तो कीर्ति तपाईलाई प्राप्त होस् ।
भगवतीको स्तुति, मन्त्रगान आदि गरी वर्षभरी आउने अशुभ, अशान्ति, दुःखकष्ट निवारणका लागि आशिर्वाद लिनुपर्छ । सनातन वैदिक हिन्दुहरू वसुधैव कुटुम्बकम् । विश्वभरका सम्पूर्ण प्राणी कुटुम्ब हुन् तथा द्यौः शान्तिः…जस्ता वैदिक मन्त्रका अनुयायीहरू मनुष्य, वनस्पति, कीटपतङ्गादिमा देवताको स्वरूप देख्छन् । दशैंमा आरोग्यताका लागि गहुँ र जौं मिसिएको जमरा शिरमा लगाउनु, बेलपत्रलाई मानवीय रूपमा भगवतदर्शन गरी पूजा, आमन्त्रण, प्रवेश गराउनु, नवपत्रिकालाई बाजागाजासहित दशैंघरमा प्रवेश गराउनु, हविष्यान्न भोजन गर्नु, कुभिन्डो, नरीवल आदिको बलि दिनु जस्ता कार्यले वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा रहेको दशैंको महत्त्वलाई झनै विशिष्टता प्रदान गरेको छ ।
जमरा किन ?
घटस्थापनादेखि दस दिनसम्म नयाँ फूलको स्वरूपमा गहुँ, जौं अंकुर जमरा विजयादशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादको रूपमा लगाइन्छ । सुख, शान्ति, समृद्धि र स्वास्थ्यलाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले असाध्यभन्दा असाध्य रोगहरू पनि निको हुन्छन् । जमरालाई महौषधी भनिएको छ । निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न प्रकारका रोगव्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम -शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक आहार) आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि उत्तम मानिन्छ ।
फूलपाती किन ?
सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनारको डाँठ, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैंघरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वषर्ाऋतु सिद्धिएर शरद् ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरयिा) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घर या निवासस्थानमा रहन सक्दैनन् । यी औषधीयुक्त पालुवाहरूलाई फूलपातीपछि औषधीय गुणले युक्त भएका पालुवाहरूको लेप लगाउनाले रोगव्याधि निको हुन्छ ।
बलि किन ?
काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यी ६ प्रकारका विकारहरू हुन् । यी विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गा भवानीको प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव रहेको छ । कामको प्रतिनिधि पात्र बोको, क्रोधको प्रतिनिधि पात्र राँगो, लोभको प्रतिनिधि भेडो, मद, मात्सर्यको पात्र कुखुरो र हाँस हो । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरुप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी स्वभावलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउ भन्ने भाव शास्त्रीय भाव हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिको रूपमा चढाउन थाले । मानिस भित्रका नराम्रा विकारलाई बलिको रूपमा चढाउनु भन्ने भाव हो ।
टीका किन ?
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रङ्गाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । यसपटक विजयादशमी कात्तिकमा परेको छ । नवविवाहिता दम्पतीहरूका लागि पहिलो दशैं अति उत्तम रहेको छ ।
Leave a Reply