स्रोत: कान्तिपुर
– डा. प्रदीपकृष्ण श्रेष्ठ
विश्वभरि नै जीवनशैलीमा आएको परिवर्तन, विशेषगरी खानपान, निस्क्रिय जीवनशैली, मोटोपन र तनावग्रस्त वातावरणको कारण मधुमेहले भीषण रूप लिइरहेको छ । विश्व स्वास्थ्य संगठनको सन् १९९७ मा प्रकाशित प्रतिवेदनअनुसार १९९५ मा विश्वमा जम्मा १२ करोड ४७ लाख मधुमेह भएका मानिसहरू थिए । समयमै मधुमेह रोकथामका चेतनामूलक उपायहरू अवलम्बन नगर्ने हो भने २०२५ सम्ममा यो संख्या दोब्बरभन्दा बढी भई महामारीको रूप लिने अनुमान गरिएको छ । तर आज उक्त प्रतिवेदनको १४ वर्षपछिको स्थिति अनुमान गरिएको भन्दा भयावह भएको देखिन्छ । दुर्भाग्यवश, उक्त वृद्धिको भार विकसित राष्ट्रहरूमा भन्दा जीवनशैलीमा व्यापक परिवर्तन भइरहेको नेपालजस्तो विकासशील राष्ट्रहरूले बहन गर्नु पर्नेछ ।
रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह चार प्रकारका छन् । संसारमा दोस्रो प्रकारको मधुमेह महामारीको रूपमा बढिराखेको छ । तीव्र रूपमा आर्थिक तथा सामाजिक परिवर्तन भइरहेका विशाल भारत तथा चीनमा मधुमेही जनसंख्याको वृद्धिदर संसारमा सबैभन्दा उच्च रहेको छ । यी दुई ठूला राष्ट्रबीच चेपिएको र समान रहनसहन तथा तीव्र रूपान्तरित भइरहेको नेपालमा पनि मधुमेहको वृद्धि केही कम छैन । यस जटिल समस्याबारे जनचेतना अभिवृद्धि गराउन विश्व स्वास्थ्य संगठनले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवस घोषणा गरेको छ ।
के मधुमेह रोकथाम गर्न सकिन्छ ?
विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले महामारीको रूप लिइरहेको दोस्रो प्रकारको मधुमेहलाई थोरै प्रयासबाट जोखिममा परेका व्यक्तिहरूले जीवनशैलीमा परिवर्तन गरेर अर्थात् स्वस्थ जीवनशैली अपनाएर रोकथाम गर्न सकिने कुरा पुष्ट्याइसकेको छ ।
दोस्रो प्रकारको मधुमेह हुनसक्ने सम्भाव्य व्यक्तिहरू
– भुडीमा लागेको मोटोपन (नाइटोमा पेटको गोलाइः महिलामा ८० से.मि. र पुरुषमा ९० से.मि.भन्दा ठूलो) बढी भएका व्यक्तिहरू
-निष्क्रिय जीवनशैली वा व्यायाम कम गर्ने व्यक्तिहरू (लगातार ४५ मिनेटभन्दा कम हिँड्ने)
-वंशानुगत वा नजिकको नातेदारमा दोस्रो प्रकारको मधुमेह भएका व्यक्तिहरू
-गर्भावस्थामा मधुमेह भएकी आमा तथा तिनबाट जन्मेको बच्चाहरू
-रगतमा चिनी, सामान्यभन्दा केही धेरै भएकाहरू अर्थात् कमसेकम ८ घन्टा खाली पेटमा चिनी जाँच्दा १०० देखि १२५ मि.ग्रा. प्रति डे.लि. वा ८२.५ ग्राम चिनी पानीमा घोलेर खाली पेटमा खाएको २ घन्टापछिको रगत जाँच्दा १४० देखि १९९ मि.ग्रा. प्रति डे.लि. हुने वा भएका व्यक्तिहरू
-रगतमा असामान्य चिल्लो भएका व्यक्तिहरू
-उच्च रक्तचाप भएका व्यक्तिहरू
-तनावग्रस्त जीवनशैली भएका व्यक्तिहरू।
माथि उल्लिखित जोखिमका व्यक्तिहरूले निम्न बुँदाहरू गम्भीरता साथ लागू गर्न सकेमा मधुमेह रोकथाम गर्न सकिन्छ:-
सक्रिय जीवनशैली (कमसेकम हप्ताको १५० मिनेट फटाफट हिँड्ने)।
उचित पेटको गोलाइ कायम गर्ने।
चिनी वा गुलियो पदार्थको कम प्रयोग गर्ने।
चिल्लोयुक्त खानामा परहेज गर्ने।
तरकारी र फलफूलको बढी सेवन गर्ने।
यसर्थ, उचित पेटको गोलाइ, सन्तुलित खाना तथा नियमित व्यायाम नै मधुमेह रोकथामको मूलमन्त्र हो । यस मूलमन्त्रलाई समाज, स्कुल, परिवार र व्यक्तिसम्म पुर्याउन सबै तहका मानिसहरूको सहयोग नितान्त जरुरी छ । यसबाट नेपालले धेरै सस्तोमा मधुमेहको महामारीबाट मात्र होइन, हृदयाघात, पक्षाघात, अन्धोपन, मृगौलामा हुने खराबीजस्ता जटिल रोगबाट राहत पाउने थियो । स्वास्थ्यमा खर्चिने बजेट परिवार र देशले अरूमा केन्दि्रत गर्नसक्ने थियो ।
आफ्नो रोगसम्बन्धी अपर्याप्त ज्ञान तथा जीवनभरि गर्नुपर्ने खर्चिलो उपचारको कारण धेरै व्यक्तिले मधुमेहको उचित उपचार गर्नसकेका छैनन् । परिणामस्वरूप अनियन्त्रित रक्त ग्लुकोजको कारण उत्पन्न जटिल दुष्परिणामबाट ग्रस्त व्यक्तिहरूको संख्या बढ्दो छ । तसर्थ झन् खर्चिलो उपचार गर्न बाध्य व्यक्तिहरूको संख्या बढ्दैछ । त्यस्तै चमत्कारिक उपचार गरिदिन्छु भन्ने मिथ्यापूर्ण सन्देश दिनेहरू तथा भ्रमको खेती गर्नेबाट पनि रोगीलाई बचाउन सकिरहेको छैन ।
हालसम्म पूर्णरूपमा निको पार्न नसकिएकोले मधुमेह भएपछि जीवनभरि उपचारमा रहनुपर्ने आवश्यकताका साथै मधुमेह अनियन्त्रित भएर देखापर्ने जटिल समस्याहरूका कारण मुख्यतया आँखाको खराबी भई लेजर थेरापी गर्नुपर्ने वा अन्धोपन, मृगौलाको खराबीले डायलाइसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने, उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, खुट्टाको नसा र रक्तनलीमा खराबीले खुट्टाको समस्या वा काटेर फाल्नुपर्ने अवस्था आदिबाट बचाउनु नै उपचारको लक्ष्य हो । मधुमेह सुरुदेखि नै नियन्त्रणमा राख्नसकेमा उक्त समस्याहरूबाट बच्न सकिन्छ वा घटनालाई पछि सार्न सकिन्छ ।
मधुमेह उचित नियन्त्रणका उपायहरू
मधुमेहको उचित नियन्त्रणका लागि यस सम्बन्धी शिक्षा पहिलो अपरिहार्य उपाय हो । शिक्षाले आफ्ना समस्याहरूलाई नियन्त्रणमा राख्न र आफ्नो परिवारलाई मधुमेहबाट बचाउन प्रोत्साहित गर्छ, जसको अभ्यास विश्वभरि गरिन्छ । खानाको सही ज्ञान तथा नियमित शारीरिक व्यायाम अर्को महत्त्वपूर्ण उपाय हो । यी उपायहरू कुनै खराब असर नभएका औषधी सरह हुन् । यी उपायहरू अपर्याप्त भएमा खाने औषधी तथा इन्सुलिन सुईको समेत समयमा प्रयोग गर्नुपर्छ । औषधी- शिक्षा, व्यायाम तथा उचित खानाको विकल्प होइनन्, यी सबै एकसाथ गर्नुपर्छ ।
[प्रा. श्रेष्ठ नर्भिक इन्टरनेसनल हस्पिटलका डायबेटोलोजी तथा ग्यास्ट्रोइन्टेरोलोजी सम्बन्धी सिनियर कन्सल्ट्यान्ट हुन् ।]
२०६८ साल कार्तिक २४ गते विहीवार प्रकाशित।
Leave a Reply