स्रोत: नागरिक दैनिक
-रवीन्द्र मिश्र
प्रिय सुशील कोइरालाजी,
अन्ततः संविधानसभाको म्याद थपियो। यो पालि शान्ति प्रक्रिया र संविधान लेखनमा प्रगति हुने झिनो आशा पलाएको छ। किनभने, हालैको फैसलामा सर्वोच्च अदालतले संविधानसभाको छ महिनाभन्दा बढी म्याद थप्न नपाउने निर्णय दिएको धेरैको बुझाइ छ। सोही कारणले माओवादी यो पटक लडाकु र हतियार व्यवस्थापनमा बढी गम्भीर हुने अपेक्षा गर्न सकिन्छ। तपाईँलगायत अधिकांश नेताले अत्यन्त महत्वपूर्ण एउटा पक्षलाई सधैँ बुझेर पनि बुझ पचाइरहनु भएको छ। कुन्नि किन हो, देशका कैयन् गम्भीर ठानिएका विषयमा अग्रगामी भूमिका निर्वाह गर्न खोज्ने नागरिक समाजका अधिकांश वरिष्ठ सदस्यहरू पनि त्यस विषयबारे ‘तैँ चुप, मैँ चुप’ बस्न रुचाउँछन्।
हाम्रा हरेक महत्वपूर्ण राजनीतिक निर्णयका घडीमा भारतीय कूटनीतिक र गुप्तचर गतिविधि तीव्र्र हुने गर्छ। उनीहरू सफल हुन् या नहुन्, त्यसले हाम्रो आन्तरिक निर्णय र संकट व्यवस्थापनको क्षमतालाई क्षीण बनाइदिने गरेको छ। हामी कस्तो विडम्बनापूर्ण अवस्थामा पुगिसकेका छौँ भने एउटा समस्या सल्टाउने बित्तिकै अनपेक्षितरूपमा प्रकट हुने अर्को समस्याले तुरुन्तै गाँज्न थालिहाल्छ। किनभने, व्यक्तिगत र पार्टीगत स्वार्थमा दिल्लीको ‘दलाल’ हुँदा गर्व गर्नेहरू यहाँ धेरै छन्। त्यसैले अहिले नै सहजै अनुमान लगाउन सकिन्छ, यो पटक शान्ति प्रक्रिया पूरा भयो र संविधान लेखियो भने पनि छिटै भारत उत्प्रेरित तर हामी माझैबाट सिर्जित जस्तो देखिने अन्य समस्या प्रकट हुनेछन्। तिनले देशमा राजनीतिक स्थिरता कायम हुनै दिने छैनन्।
विगतमा जस्तै यो पटक पनि संविधानसभाको म्याद सकिन लाग्दाको संवेदनशील क्षणमा भारतीय गुप्तचर संस्था ‘र’का अधिकारी काठमाडौँ आएर तिनले आफ्नो गतिविधि बढाए। त्यस विषयका जानकारहरूले अनौपचारिक रूपमा यसको पुष्टि पनि गरिसकेका छन्। सञ्चार माध्यममा पनि उनीहरूको आगमन र गतिविधिबारे थुप्रै चर्चा भएका छन्। ‘र’ का अधिकारीको नेपाल आगमनसँग मधेसी जनअधिकार फोरमको विभाजनलाई जोडेर पनि हेरिएको छ।
तपाईँका महामन्त्री कृष्णप्रसाद सिटौलासँग विगतमा तपाईँको त्यति मधुर सम्बन्ध थिएन। बाह्र बुँदे सहमतिदेखि नै माओवादीलाई चाहिनेभन्दा बढी छुट दिइएको भन्दै सिटौला प्रति तपाईँको गुनासो हुने गर्थ्यो। तर, दिल्ली र सिटौलाबीच छ भनिएको सद्भाव र विश्वासपूर्ण सम्बन्धका कारण उनैलाई दलको महामन्त्री बनाउन तपाईँ बाध्य हुनुभएको भन्ने धेरैको अनुमान छ। त्यस परिप्रेक्षमा हेर्दा विगतमा दिल्ली माओवादीप्रति नरम हुँदा उनीहरूप्रति नेपाली कांग्रेस नेतृत्व अत्यन्तै नरम हुनु र अहिले दिल्लीले जसरी पनि माओवादी एमाले वाम गठबन्धन तोड्न र माओवादीलाई घुँडा टेकाउन खोजिरहेको छ भन्दा नेपाली कांग्रेसका निश्चित नेताहरू संविधानसभा भंग भए पनि होस् भन्दै माओवादी प्रति असाधारणरूपले कडा ढंगबाट प्रस्तुत हुनुलाई कसरी व्याख्या गर्ने? दिल्लीसँगको यस्ता ‘सहकार्य’ले तत्कालका लागि कुनै न कुनै पक्षलाई फाइदा पुर्याउला तर दीर्घकालमा त्यसले देशको हित गर्नै सक्दैन। यहाँ सन्दर्भ परेकाले मात्र कांग्रेसका नेताहरूको दिल्ली सम्बन्धबारे चर्चा हुन गएको हो। माओवादी र एमालेमा पनि दिल्ली लिप्सा छ भन्नेमा शंका छैन।
यस्तो परिस्थितिमा तपाईँ लगायत नेताले शान्ति र संविधानका लागि काम गर्दै गर्दा नेपाली राजनीतिको जरामै लागेको भारतीय ‘भाइरस’ निदानका लागि केही न केही नगरी नहुने भएको छ। नत्र शान्ति प्रक्रिया पूरा हुँदैमा र संविधान लेखिँदैमा, नेपालले स्थिरता र विकास हाँसिल गर्ने अपेक्षा नगरे हुन्छ। अहिलेको परिस्थितिमा भारतीय ‘भाइरस’को चरित्र, व्यवहार र आक्रमणको शैलीबारे सबभन्दा बढी ज्ञान हुने नेता सम्भवतः माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र तपाईँ नै हुनुहुन्छ होला। त्यसबाहेक कैयन् अन्य नेतालाई पनि त्यस्ता भाइरसबारे राम्रैसँग अवगत छ तर ती सम्पत्ति, सत्ता वा दुवैको लोभका कारण बोल्नै चाहँदैनन्। उदाहरणका लागि भारतीय गुप्तचर संस्था ‘र’ का वरिष्ठ अधिकारी आलोक जोशी एक सातासम्म काठमाडौँमा त्यसै झिँगा मारेर त बसेनन् होला। निश्चय पनि उनले कैयन् नेतालाई भेटेर धेरै कुरा गरेको हुनुपर्छ। ‘जोशीले मलाई भेटेर यसोयसो भने’ भन्ने आँट किन कुनै नेता गर्दैनन्? त्यतिमात्र आँट गरिदिने हो भने पनि भविष्यमा भारतीय भूमिका स्वतः न्यून भएर जानेछ। जहाँसम्म दाहाल, भट्टराई र तपाईँको प्रश्न छ, तिनले कुनै हालतमा वास्तविकता उजागर गर्ने छैनन्। किनभने त्यसबाट उनीहरु आफैँ नांगिनेछन् र उनीहरूको सत्ता संघर्षमा त्यसको नकारात्मक प्रभाव पर्नेछ। दाहालको भारत चिढाउने अडान र सतही गर्जनले उनीहरूलाई अलिअलि नकारात्मक प्रभाव त पारिसक्यो। त्यसैले अहिले उनीहरूले भारतबारे अलि नरम नीति अख्तियार गरिरहेका छन्।
बाँकी रहनुभयो तपाईँ। जसले जति विमति राखे पनि र तपाईँका जेजति कमजोरी भए पनि तपाईँले सत्ता र सम्पत्तिका लागि कहिल्यै मोह देखाउनु भएन। अहिले पनि सबैले प्रधानमन्त्री बन्न अनेक तिकडम गरेर मरिहत्ते गरिरहँदा तपाईँले त्यसमा कुनै चासो देखाउनुभएको छैन। यो अत्यन्तै सम्मान योग्य विषय हो। अब तपाईँले जीवनको उत्तरार्धमा जनताको सम्मानबाहेक लिनु केही छैन, जनतालाई दिनुमात्र छ।
तपाईंले जिन्दगीभर लोकतन्त्रका लागि लडेर देशलाई ठूलो गुन लगाएँ भन्ने ठान्नुभएको छ भने त्यो
तपाईँको भ्रम हो। लोकतन्त्रको लामो लडाइँबाट यस देशले आजसम्म सैद्धान्तिक परिवर्तन र अस्थिरताबाहेक खासै केही पाएको छैन। निकट भविष्यमा सैद्धान्तिक परिवर्तनको दस्तावेज र अस्थिरताको निरन्तरता बाहेक केही पाउने सम्भावना छैन। तर, त्यसमा तपाईँको मात्र दोष छैन। हामी सबैको दोष छ। किनभने हामी इमानदार र सक्षम हुनै सकेनौँ। एउटा अर्को प्रमुख कारणचाहिँ माथि चर्चा गरिए जस्तै भारत पनि हो जसले हाम्रो कमजोरी माथि सधैँ रजाइँ गरिरह्यो। भारतका राजदूतदेखि गुप्तचर सेवाका अधिकारीसम्मले हाम्रा वरिष्ठ र वृद्ध नेताहरूलाई समेत राजनीतिक ‘दुर्व्यवहार’ गरिरहे। त्यसको सिकार जानेर वा नजानेर तपाईँ पनि हुनुभएको छ। तर, म तपाईँलाई नै ती तीतामिठा अनुभव सार्वजनिक गर्न किन आग्रह गरिरहेको छु भने, देशको अत्यन्त संवेदनशील घडीमा तपाईँ ‘महानायक’ गिरिजाप्रसाद कोइरालाको सहयात्री रहनुभयो र त्यसपछि आफैँं नेपाली कांग्रेसको नेतृत्व गर्दै हुनुहुन्छ। भारतीय कूटनीतिज्ञ र गुप्तचरले कसरी पहुँच बढाउँछन्, कसरी फकाउँछन्, धम्काउँछन्, प्रत्यक्षपरोक्षरूपमा दबाब दिन्छन् र आफ्नो उद्देश्य हासिल गर्ने प्रयास गर्छन्, त्यो तपाईँलाई धेरै थाहा छ। कृपया, नेपाली जनतालाई त्यति बताइदिनोस्। नेपाली जनताले त्यसको सामना गर्ने बाटो आफैँं पहिल्याउने छन्। एकताका, तपाईँका आदर्श र अग्रज गिरिजाप्रसाद कोइराला, स्थिति आफू अनुकूल नहुने बित्तिकै विदेशी र खासगरी भारतीयलाई संकेत गर्दै ‘ग्रान्ड डिजाइन’ का कुरा गर्थे। त्यसैले उनलाई यस स्तम्भकारले २०५८ साल भदौमा लेखेको एउटा लेखमा उनले चर्चा गर्ने गरेको विदेशी शक्तिको भूमिका र त्यससँग सम्बन्धित तथ्य पर्दाफास गरिदिए त्यो राष्ट्रका लागि कसैले लाउन नसकेको गुन ठहर्नेछ भनेर आग्रह गरेको थियो। उनीजस्ता ‘महानायक’ले मेरो आग्रह किन सुन्थे!
तपाईँ पनि त्यस्तै किसिमको आचरण प्रस्तुत गरेर दिवंगत् हुन चाहनुहुन्छ भने त्यसै गर्नोस्। त्यो तपाईँको इच्छा हो। तर, त्यस्तो आचरण जोजति नेताले देखाए, तिनले नेपालमा लोकतन्त्रका लागि जिन्दगीभर लडेका, मन्त्रीप्रधानमन्त्री भएका, ठूला आदर्श बोकेका भए पनि, ती सब धोखेबाज हुन्, राष्ट्रघाती हुन्। तिनले आफूलाई ठूलो नसम्झिए हुन्छ। ती नेपालका लागि बरदान होइनन्, श्राप हुन्, जसले व्यक्तिगत स्वार्थपूर्तिका लागि आफ्नो र भारतको हित गरे, नेपालको होइन। भारतको भूमिकाबारे हाम्रा राष्ट्रवादीहरू भारतलाई दोष दिन्छन्। त्यो व्यर्थ हो। हाम्रा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म भारतीय राजदूतलाई सिधै आफूसम्म पहुँच दिन्छन्। त्यो राजदूतको दोष हो? दोष हाम्रो हो। तर, हाम्रो कमजोरीमाथि भारतीयहरूले कसरी खेल्छन् र कसरी हामी यस स्थितिमा पुग्यौँ भन्नेचाहिँ नेपाली जनताले थाहा नपाइभएको छैन। त्यसबारे तपाईँजस्ता जानकार नेताले नबोली भएको छैन। नत्र, अबको तीन महिनामा माओवादीलाई घुँडा टेकाएर हतियार व्यवस्थापन गर्न बाध्य पारे पनि, हामीले छिटै अर्को अनपेक्षित झमेला बेहोर्नु पर्नेछ। त्यसैले हाम्रा लागि शान्ति प्रक्रिया र नयाँ संविधान जति महत्वपूर्ण छ, त्यतिकै वा त्यसभन्दा पनि बढी, भारतीय ‘भाइरस’ले नेपालमा परिरहेको असरको उपचार खोज्न जरूरी छ। नत्र देशको स्थिरता र विकास जटिल विषय रहिरहने छ। किनभने भारतबाट हामी फाइदा लिने होइन, हानिमात्रै बेहोरिरहने छौँ। सुशीलजी, बोलिदिनोस्, तपार्इँको उमेर र अवस्थाले पनि अब कसैसँग डराउनु आवश्यक छैन। त्यति बोलिदिनुभयो भने त्यो नेपालका लागि तपाईँको लामो लोकतान्त्रिक संघर्षभन्दा धेरै ठूलो गुन हुनेछ। बाँकी तपाईँको इच्छा।
२०६८ साल जेठ १८ गते बुधवार।
Leave a Reply