स्रोत: नयाँ पत्रिका
-डा.तारालाल श्रेष्ठ
आदर्श अभिव्यक्तिमा झन्डै सत्प्रतिशत यी कविहरूले सहरलाई निकै निन्दा गरेका छन् भने गाउँको खुला कण्ठले तारिफ गरेका छन् । त्यसो भए मोफसलका वकालत गर्दै आएका कवि/लेखकसमेत किन केन्द्रमै कोचिन आएका छन्, बुझिसक्नु छैन ।
अमेरिकामा सात वर्ष बसेर, विद्यावारिधि सकेर, नेपाल फर्किएका एक प्राध्यापकले एमफिल अंग्रेजीको एक गेस्ट लेक्चर्सका क्रममा भने, ‘अमेरिकाबारे नेपालमा बसेर जे सोच्ने गरिन्छ, त्यस्तो छैन, अमेरिका । अमेरिकाभित्रबाट अमेरिकालाई हेर्दा अमेरिका अर्कै देखिन्छ । त्यहाँ पनि जीवन कष्टकर छ । त्यसैले, म स्वदेश फर्कें ।’
काठमाडौँ पनि मोफसलबाट जे देखिन्छ, त्यही होइन । काठमाडौँको बहुरूप पीडाका वर्णन स्वस्थानीमा उल्लेखित हजार जिब्रा भएका शेषनागले पनि सहजै गर्न सक्दैनन् । तर, स्थापित कविहरूले विदेशी दातृसंस्थाको आर्थिक सहयोगद्वारा प्रकाशित ‘हुज् सिटी इज् दिस (यो सहर कसको हो) ?’ कृतिमा यो सहरबारे कवितामार्फत जोडदार वर्णन गरेका छन् । २७ जना चुनिएका कविका कवितालाई अंग्रेजी भाषामा समेत अनुवाद गरेर कलात्मक चित्रहरूको सजावटसमेतले सुसज्जित कृतिलाई सहिद दिवसका साँझ सिद्धार्थ आर्ट ग्यालरीमा सार्वजनिक गरिएको हो । खुला आकाशमुनि कविता वाचन र भाषणमार्फत गाउँले र सहरिया बीच चर्काचर्की विवाद र व्यंगले भरिपूर्ण त्यो चिसो साँझ सम्झन लायक थियो ।
सहर र गाउँबीचको द्वन्द्व नयाँ होइन । सहरले गाउँलाई गन्दैन, सहरियालाई गाउँलेको अस्तित्व स्वीकार गर्न निक्कै समय लाग्छ । अझसम्म पनि सम्भ्रान्त सहरिया वर्ग गाउँलेलाई ‘पाखे, काँठे र गवाँर’ मान्छन् । गाउँलेले तिनका सुन्दर सहरलाई अतिक्रमण गर्दै, कुरूप पार्दै लगेको ती ठान्छन् । गाउँलेलाई छोरी दिँदा सहरियाले सातपटक सोच्छन् । तर, सहर गाउँलेकै घेराबन्दीमा परिसकेको छ । जति पनि शक्तिमा आसन्नहरू छन्, ती अधिकांश गाउँबाटै उठेका छन् । ती दुर्गम गाउँबाट सहर पसेका र सहरमै जमेर बसेका छन् । यस सँगालोमा समेटिएका ९५ प्रतिशतजति कवि पनि गाउँबाट सहर पसेका र सहरमै जमेर बसेका गाउँले सहरिया बौद्धिकमध्येकै हुन् । तर, तिनका अधिकांश कविताले सहर र सहरिया जीवनको धज्जी उडाएको छ भने गाउँलाई सभ्यता, स्वच्छता र शान्तिको आदर्शतम युटोपियन भूमि मानेका छन् । भलै यी कविहरू काठमाडौँ वा केन्द्रीय सहर र सदरमुकाम छाडेर कदापि स्वच्छन्दवादी कविहरू जसरी जंगल र्फक अभियानमा लाग्नेछैनन् भन्नेमा दुविधा नहोला । तैपनि, यिनले सहरको साटो गाउँकै पूजा गरेका छन् र सहरमाथि आफ्नो दाबी पनि उद्घोष गरेका छन् । कृष्ण जोशीले लेखेका छन्, ‘भित्रिएका छन्…थुप्रै भेष अनि रूपमा…असहरियाहरू…हुलका हुल पस्न सक्नेछ गाउँहरू/सलह भएर सहरभित्र/रोक्न सक्दैनन्/सहरियाहरूले असहरियाहरूलाई…प्रतिशोधहीन पनि भएको छ सहर/चार भन्ज्याङ कटाउन सक्दैन असहरियाहरूलाई…बाँच्ने-मर्ने युद्धकलामा अभ्यस्त भएर आऊ सहरमा…सुरक्षित अवतरण सहज छैन…गहिरो ठूलो सहरिया पोखरीमा डुबेपछि’ (८४-८६) ।
यो केन्द्रीकृत सहर काठमाडौँ कसको हो ? सीमित शक्तिशाली विशेषको मात्रै हो कि शक्तिविहीनको पनि हो, यो सहर ? यो सहर विगतमा कसको थियो र आगतमा कसको हुनेछ ? के यो सहर मेरो पनि होइन ? जति पुँजीवादी महाराजाको हो माग्नेको पनि उत्तिकै होइन, यो सहर ? किन होइन ? सहिद दिवसको साँझ सिद्धार्थ आर्ट ग्यालरीमा खुला चिसो आकाशमुनि कृतिको सार्वजनीकरण कार्यक्रममा यस्ता प्रश्नहरूमध्ये माघको चिसो साँझलाई चिर्दै वरिपरि घुमिरहेको थियो, मेरो मथिंगल तताइरहेको थियो । कृतिमा संलग्न कविहरू र त्यहाँ वाचित तात्तातो कविता नहुँदो हो त त्यो झम्केसाँझको चिसो पचाउन सहज थिएन । मनु मञ्जिल सहरमा धेरै दुःखहरू छन्…पाइलैपिच्छे सडकहरू बिझ्छन्…सबै अस्पष्ट केवल क्रूरतामात्रै प्रस्ट देखिन्छ…प्रेमको लास फोहोरको कन्टेनरहरूमा भेटिन्छ र मान्छेको छातीको मरुभूमि टाढैबाट देखिन्छ भनेर सहरमा आएर नबस्नका लागि लाख सम्झाउँछन् तर उनको काव्यिक व्यक्तित्वले अन्ततः भन्छ, ‘म अब सहरमै बस्छु ।’ हार खाएर कविले अन्त्यमा भन्छन्, ‘…सहर तिमीझैँ रातमा घाम देख्नेहरूको हो/सहर लिदीको थुप्रोमा घोडा खोज्नेहरूको हो…यो सहर तिम्रो हो’ -९२) ।
यति हुँदाहुँदै पनि सहर र केन्द्रका भोका मानिस गाउँ र विकेन्द्रको भोका कहिले बन्लान् ? आखिर सहरमा के छ ? के हो यो सहर भन्ने जात जहाँ सबै नचाहेरै कोचिन आइपुगेका छन् ? कवि प्रकाश आङ्देम्बेका अनुसार, ‘सहर भन्नु अलि ठूलो गाउँ/हाट/भीडमात्र हो…अलि ठूलो अपरिचितहरूको ठेगानामात्र हो…सहर पस्नेहरू/आगो लिएर पस्छन्-अँगारमा बदलिन्छन्’ -६७) । कविले सहरलाई कठोर, रुखो, बेइमानी, छलकपट, चाकरी, चाप्लुसी, अविश्वास, अह्म र घृणाले भरिपूर्ण, गाउँको भन्दा सबै किसिमले विकृतिमा ठूलो मानेका छन्, सहरलाई । उनका विचारमा गाउँ जुनजस्तै,
स्वच्छ नदी, फूलजस्तै सुन्दर, बुद्ध जस्तै शान्त र निःस्वार्थ छन् भने सहर सहरजस्तै रूखो । ‘सहर आफू कहिल्यै सहर जाँदैन/सहर जाने त गाउँ हो’ र गाउँ सहर पसेपछि नराम्ररी बदलिएका छन् भन्ने कविको दाबी छ । के कविले कल्पिए जस्तै अब गाउँ सहर पस्दा खातका खात चोखो माया, आत्मीयता, बालक हाँसो, सदभाव, शितलता, स्नेह, मानवीय मन, नयाँ बिहानी र सहरको नयाँ परिभाषा लिएर आउला ? उनको सहरमा गाउँ रोप्ने र गाउँमा सहर पुर्याउने सपना यो जुनीमा साम्यवादी युटोपियाजस्तै कहिल्यै पूरा हुनेछैन, सायद । फूलमान वलले जसरी ‘कान्तिपुरी, ओ मेरी पि्रयसी π…तिमी सधैँ मेरी हौ’ जसरी लामो त्याग र कष्टपछि प्राप्त पि्रयतमा मात्र पनि होइन, यो सहर । सहर त्यस्तो पि्रय भएको भए सबैजसो कविले खातका खात घृणाका अभिव्यक्ति कवितामा यसरी पस्किने थिएनन् । बरु भूपाल राईले भनेजस्तै हिजोको ‘राजाको गाउँ’ भनेर चिनिएको ‘उन्मत्त राजकुमारको सवारी हुने’ सहर र सडक पहिले हामी कसैको थिएन, तर अहिले क्रमशः आम हुँदै गइरहेका छन् । सहर कविले चित्रण गरेजस्तै त्यति सारो कुरूप र गाउँ यी कविहरूले वर्णन गरेका जस्तै युटोपिया भएदेखिन् किन कोही सहरिया सहर छाडी गाउँ र्फकन सक्दैनन् ? किन जनक पौड्यालले यसो भनेका होलान्, ‘म/गाउँ छाडेको सहरिया/सहरभित्र पाखे/म/गाउँको भद्रभलाद्मी/सहरभित्र गिदी भएको रोबर्ट/अझै, यही सहरमा जिन्दगी खोज्दै छु’ -१०३-४) ?
विप्लव प्रतीकको शब्दमा ‘गरिबले लुछेका, धनीले लुटेका, रैथानेले हक ठानेका, बाहिरकाले सरापेका’ यो सहरमा क्रमशः घाम विस्थापित भएका छन् । तैपनि गाउँबाट यो सहरभित्र आएर प्रख्याति कमाएका अभि सुवेदी यही सहरसँग संवाद गर्दै किन यही परिवर्तित सहरमा ‘आफ्नो पनि कथा खोजिरहेछन्’ -१२४) ? विमोचनमा बोल्ने क्रममा पनि सुवेदीले विश्वका चर्चित कविहरूले सहरबारे कविता लेखेको प्रसंगमा आदिकवि भानुभक्तदेखि अन्य धेरै कवि-कलाकारले काठमाडौँ सहरको सुन्दरतादेखि मोहित भएर कालजयी कला-साहित्यको सिर्जना गरेका प्रसंगलाई बहुआयामिक ढंगले विश्लेषण गरेका थिए । तर, यो सहरमा अहिले स्वच्छ हावा, पानी, प्रकाश विस्थापित छन् । शान्ति, सुन्दरता बिलाउँदै छिन् । यो सहर भीड कोलाहलको राजधानी भएको छ । विस्थापितहरू यहीँ कोचिन आइपुगेका छन् । स्थापितहरू पनि यहीँ कोचिएका छन् । यहीँका रैथानेहरू विस्थापित र स्थापित गाउँलेको अतिक्रमणको मारमा परेको तिक्तता पोखिरहेका छन् । सुलोचना मानन्धर लेख्छिन्, ‘सहरमा जन्मेको एक सहरिया/मेरो परिचय…आफैँ बस्तीबाट विस्थापित छु…यो देश मेरो हो कि उसको मात्र ?/यो सहर मेरो पनि हो कि तिम्रो मात्र ?…अँगालो मार्दै भन न प्रेमले/यो सहर हाम्रो हो/यो सहर मेरो हो π’
आदर्शको अभिव्यक्तिमा यो सहर सबैको होला, तर आजसम्म डार्बिनको सिद्धान्तअनुरूप बाँच्ने-मर्ने वा स्थापित-विस्थापितको युद्धमा जित्नेहरूको बढी हो, यो सहर । हार्नेहरूको हो, त्यो गाउँ, जहाँ अहिले रोगी, वृद्धवृद्धा, बालबालिकामात्र छन्, कति ठाउँमा मलामीकै अभाव छ । आदर्श अभिव्यक्तिमा झन्डै सतप्रतिशत यी कविहरूले सहरलाई निकै निन्दा गरेका छन् भने गाउँको खुला कण्ठले तारिफ गरेका छन् । त्यसो भए मोफसलका वकालत गर्दै आएका कवि/लेखकसमेत किन केन्द्रमै कोचिन आएका छन्, बुझिसक्नु छैन । गाउँमा सामूहिकताको ‘हामी’ छाडेर सहरमा ‘म’हरूमात्र देख्ने मोफसलको वकालत गर्दै आएका कृष्ण धरावासी पनि अन्ततः केही वर्षदेखि काठमाडौँमै कोचिन आइपुगेका छन् । उनी ‘यो सहर कसको हो ?’ भन्ने बहसमा पनि भाग लिँदै छन् । अरू त अरू भैगए, ग्रामीण विकास अध्ययन गरेर, गाउँको विकास गर्ने उच्च शिक्षाको पाठ्यक्रमबाट दीक्षित हजारौँ ग्रामीण विकास विज्ञसमेत बरु विदेश पलायन हुन ज्यान फाल्दै छन्, आफ्नै गाउँ उनीहरूको रोजाइमा पर्न सकेको छैन भने यी साढे दुई दर्जन कवि र नामविहीन अनुवादकका सहर र गाउँबीचको विभेद हटाउने सामूहिक प्रयास तथा दातृसंस्थाले कविहरूलाई देशविदेश घुमाएर गरेको लगानी र कविहरूका योगदानले केही झिल्को प्रभावमात्र पार्न सकेमा यसको उपलब्धि मान्नुपर्छ ।
कविहरूले दाबी गरेझैँ कुरूप यो सहर सबैको हो भने त्यो (सुन्दर !) गाउँ कसको हो ? अमेरिकाबाट स्वदेश फर्केका डाक्टर साहेबजस्तै हामी गाउँले साहेबहरूलाई स्वगाउँ नै फर्कौं, फर्कौं लाग्ने नयाँ लोकतान्त्रिक संघीय नेपालको सपनासम्मले पनि अझै आकार लिन नसक्नु सरमपूर्ण छ ।
Leave a Reply