स्रोत: नागरिक दैनिक
काठमाडौं। ख्याति श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्त वीरेन श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले श्रेष्ठलाई अपहरण तथा कर्तव्यज्यान मुद्दामा दोषी ठहर गर्दै शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो।
एउटै अपराधमा अभियुक्त वीरेन उम्किन नसकोस् र हदैसम्मको कारबाही होस् भनी दोहोरो सजायको मागदाबी गरिएको थियो। अदालतले पनि अपहरण र कर्तव्यज्यानतर्फ फरकफरक फैसला सुनाएको छ। अपहरणतर्फ १९ वर्ष र दुई लाख रुपैयाँ जरिवाना छ भने कर्तव्यज्यानतर्फ सर्वस्व सहित जन्मकैदको फैसला छ।
अपहरण तर्फ तीन शीर्षक तोकेर अदालतले वीरेनलाई सजाय सुनाएको हो। अपहरण गरेकोमा १५ वर्ष, दुईजना मिलेर गम्भीर प्रकृतिको अपहरण गरेकोमा थप २ वर्ष तथा महिलालाई अपहरण गरेकोमा २ वर्ष गरी जम्मा १९ वर्ष सजाय सुनाइएको हो।
त्यस्तै, अपहरणमा मतियारको काम गर्ने वीरेनकै छात्रा १६ वर्षीया मेरिना शाक्यलाई कर्तव्यज्यानतर्फ जन्मकैदको फैसला सुनाइएको छ। त्यस्तै, अपहरणतर्फ १०, गम्भीर प्रकृतिको अपहरण भएकोले दुई र महिलाको भएकाले थप दुई गरी १४ वर्ष कैदसजाय तोकिएको छ।
जन्मकैदमा राति, सार्वजनिक बिदाको सजाय कटौती भएपनि अपहरणमा त्यस्तो कानुनी व्यवस्था छैन। एउटै अपराधमा दोहोरो सजाय सुनाइए पनि फाइल भने एउटै रहेकाले त्यसलाई छुट्टाछुट्टै राख्ने वा सजाय एउटैमा गाभ्ने भन्नेमा भने टुंगो लागिनसकेको न्यायाधीश रुपाखेतीले जनाएका छन्।
२०६६ जेठ २२ गते पुतलीसडकबाट शाक्यको सहयोगमा अपहरणमा परेकी १९ वर्षीया ख्यातिलाई सोही दिन वीरेनले खुसिबुको आफ्नो कोठामा कफीमा बेहोस हुने औषधि हालेर खुवाई रडले टाउकोमा हानी हत्या गरेका थिए।
अपहरणमा सहयोग गर्ने शाक्यले ‘भाओ’ म्यागजिनका लागि अर्न्तवार्ता लिने भन्दै ख्यातिलाई बिहान आठ बजे पुतलीसडकमा भेटी वीरेनले सिकाएअनुसार खुसिबु टाउन प्लानिङ पुर्याएकी थिइन्।
घट्टेकुलोमा भाडामा बस्ने ख्यातिका परिवारसँग वीरेनको दुईवर्ष अघिदेखि नै चिनजान थियो। २०६४ सालमा ख्यातिका बाबुआमा ख्यातिको उच्च शिक्षाका लागि विराटनगरबाट काठमाडौं आई बालाजुस्थित वीरेनको घरमा भाडामा बसेका थिए। वीरेनले एकवर्षपछि घर बेचेका थिए। पछि ख्यातिको परिवार घट्टेकुलो सरे पनि ख्यातिको पढाइबारे वीरेनले बेलाबेला उनका बाबुआमालाई सल्लाह दिने गरेका थिए। त्यहीक्रममा ख्यातिका बाबुले वीरेनलाई खाना खान बोलाएर ख्यातिलाई पाइलट बनाउन २५ लाख जम्मा गर्न सक्ने बताएका थिए। त्यसपछि नै वीरेनले ख्याति अपहरणको योजना बनाएका थिए।
क्यासिनो गएर पैसा सक्ने कुलतले वीरेनले यस्तो क्रुर अपहरण गरेको प्रहरीले बताएको थियो। प्रहरीले ख्यातिको अपहरणको १७ दिनपछि २०६६ असार ६ गते वीरेनलाई सोह्रखुट्टेबाट पक्रेको थियो। वीरेनले हिन्दी भाषामा ख्यातिकै नम्बरबाट कुरा गरी परिवारलाई फिरौति बुझाउन सुनौली, चितवन, दार्जिलिङ, बोलाएर पछि काकरभिट्टाबाट १० लाख लिएका थिए।
ख्यातिको शरीरका भाग ललितपुर, काठमाडौं र चितवनमा फेला परेका थिए। २०६६ साउन दोस्रो साता काठमाडौं जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अहिले वीरेन केन्द्रीय कारागार र मेरिना महिला कारागारमा छन्।
२०६७ साल मंसिर ४ गते शनिवार।
Leave a Reply