स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
वैदेशिक रोजगारीका लागि बिदेसिनेको पछिल्लो तथ्यांकले नेपाली युवामा विदेशमोह निकै बढेको देखिन्छ । देशमा बढ्दो बेराजगारी, शान्ति-सुरक्षाको अभाव, चर्को गरिबी, रोजगारमुखी शिक्षाको अभाव आदि कारणले नेपाली युवामा विदेशमोह बढ्दै गएको छ । चाहे उच्च शिक्षाका नाममा होस्, या रोजगारीका नाममै किन नहोस्, हिजोआज दिनदिनै सयौँको संख्यामा नेपाली युवा विदेश पसिरहेका छन् । यसरी बिदेसिने अधिकांश युवाको गन्तव्य बन्ने गरेका छन्— मलेसिया, साउदी अरेबिया, कतार, दुबईजस्ता एसियाली मुलुक । यस्ता मुलुकमा पुग्ने अधिकांश अदक्ष कामदारले गर्नुपर्ने चर्को श्रमअनुसारको उचित पारिश्रमिकसमेत पाउँदैनन् । तैपनि, नेपाली युवामा विदेशमोह घट्नुको साटो बढ्दै गइरहेको छ । अहिले एसियाली मुलुकका अतिरिक्त युरोप र अमेरिकी मुलुकमा समेत नेपाली युवा रोजगारी खोज्दै पुगिरहेका छन् । तर, सरकारले ती मुलुकसित श्रम सम्झौता गरी व्यवस्थित ढंगमा कामदार पठाउने कार्य गर्न सकिरहेको छैन । यस्ता कतिपय देशबाट कामदारको माग आए पनि दक्ष कामदारको अभाव देखिँदै आएको छ ।
गत आर्थिक वर्षमा मात्र दुई लाख ९४ हजार ९४ नेपाली कामदार बिदेसिएको तथ्यांक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । गत असारमा एकै महिनामा ३२ हजार आठ सय ७६ कामदार बिदेसिएका छन् । वैदेशिक राजगारीमा जाने कामदारले पठाएको रेमिट्यान्सको लोभलाग्दो पोको हेरेर सरकार सकेसम्म बढीभन्दा बढी युवालाई विदेश पठाइरहेको छ । वाषिर्क बजेटमा रेमिट्यान्सको २१ प्रतिशत योगदान रहेको अवस्थामा वैदेशिक रोजगारीको ठूलै महत्त्व रहेको छ । तर, यसरी भित्रिने रेमिट्यान्सलाई व्यवस्थित गरी उत्पादनशील क्षेत्रमा खर्च गरी स्वदेशमै रोजगारी वृद्धि गर्नेतर्फ राज्यले कुनै पहल गरेको छैन । मुलुकको कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रले अहिले आवश्यकताअनुरूप कामदार नपाउने अवस्था आएको छ । शिक्षित जनशक्तिले कृषि क्षेत्रलाई रोजगारीको सम्भावित क्षेत्रका रूपमा बुझ्नै सकेको छैन । पढेलेखेको जनशक्तिले कृषिकर्ममा हात हाल्नु हुन्न भन्ने सोच सर्वत्र देखिन्छ । कृषि क्षेत्रलाई वैज्ञानिकीकरण गरी युवाशक्तिलाई आकषिर्त गर्न सकिए पर्याप्त रोजगारीको ढोका खुल्न सक्छ । देशमा भएका उद्योगधन्दा पनि धमाधम बन्द भइरहेका छन् । सरकारले उपयुक्त औद्योगिक नीति ल्याएर उद्योगधन्दाको सुरक्षामा विश्वासिलो वातावरण सिर्जना गरी लगानी आकषिर्त गर्न सके कामकै लागि बिदेसिने युवाको संख्यामा कमी आउन सक्छ । देशको पर्यटन, जलविद्युत्, पशुपालन, भौतिक निर्माण, शिक्षा, निजामती सेवा सबैमा प्रभावकारी सुधार गरी युवा आकर्षण बढाउन सके बेरोजगारी समस्यामा पक्कै कमी आउँछ ।
तर, रेमिट्यान्सको गुलियोमा भुलेको सरकार वैदेशिक रोजगारीलाई प्रोत्साहित गर्दै लाखौँ युवालाई धमाधम विदेश पठाइरहेको छ । यसरी पठाइएका युवा स्वदेशकै म्यानपावर एजेन्ट, विदेशी रोजगारदाता आदिबाट नराम्ररी ठगिएका घटना बारम्बार सार्वजनिक भइरहँदा पनि सरकार भने त्यस्ता समस्याको न्यूनीकरणका लागि प्रयासरत देखिँदैन । विदेशमा अलपत्र पर्ने नेपालीको उद्धारमा समेत सरकार उदासीन देखिन्छ । नेपाली युवालाई वैदेशिक रोजगारीका लागि दक्ष बनाएर भरपर्दो माध्यमबाट कम खर्चमा पठाउन सरकारले खासै ध्यान दिएको छैन । बिदेसिने कामदारलाई आपत पर्दा खासै चिन्ता नगर्ने सरकारले रेमिट्यान्सको हिसाबकिताब गरेर बस्न पनि सुहाउँदैन ।
२०६७ आषाढ ५ गते बुधवार।
Leave a Reply