स्रोत: कान्तिपुर
समालोचक तथा साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको बिहीबार साँझ निधन भएको छ । ताहाचल स्थित निवासमा एकाएक असहज महसुस भएको भन्दै सामान्य वान्ता गरेपछि ८५ वर्षे प्रधानलाई अपराह्ण ५ बजे त्रिपुरेश्वरस्थित काठमाडौं नर्सिङहोम लगिएको थियो । बाटैमा उनको निधन भएको बताइएको छ । डाक्टरले साँझ साढे पाँच बजे मृत घोषणा गरेका थिए ।
‘सालिक’ (२०२६), ‘अनाम सत्य’ (२०४६), ‘पाइला आगतमा टेकेर’ (२०४७), ‘बागमतीको हरफ’ (२०५७), ‘समय सुनामी’ (२०६३) लगायत चर्चित निबन्धकृतिका स्रष्टा प्रधानले कविताबाट लेखन थालेका थिए । २००४ मा पहिलोपटक ‘भञ्ज्याङनेरी’ कविता संग्रह निकालेका उनले १०१५ मा समालोचनात्मक कृति ‘कवि व्यथित र काव्य साधना’ का लागि मदन पुरस्कार पाएका थिए । ‘नेपाली उपन्यास र उपन्यासकार,’ ‘सिर्जनाको सेरोफेरो’ र ‘कृतिको अवलोकन’ समालोचनात्मक कृति लेखेका उनका ‘नफर्किने ती दिनहरू’ -२०५९) र ‘जिन्दगीका टिप्पणीहरू’ -२०६३) आत्मालाप कृति पनि प्रकाशित छन् ।
विसं १९८२ मा काठमाडौं यट्खाछेउ सुन्तागाउँमा जन्मेका प्रधानले दुई वर्षदेखि १८ वर्षसम्म वीरगन्जमा बिताए । साहित्यकार इन्द्र मालीका अनुसार वीरगन्जमा बुवा सूर्यप्रसादसिंह प्रधानको मौजा थियो । बुवालाई सधैं तमाखु भर्नु पर्दा हैरानीका साथ उनले पहिलोपटक ‘हाय तमाखु’ कविता लेखेका थिए । काशीबहादुर श्रेष्ठले बनारसबाट निकाल्ने ‘उदय’ पत्रिकामा २००२ मा उनको ‘अश्रुधारा’ कविता छापिएको थियो ।
प्रधानलाई आत्मपरक निबन्धका लागि शंकर लामिछानेपछिका उत्कृष्ट स्रष्टाका रूपमा लिइन्छ । त्रिभुवन प्रज्ञा, धरणीधर, साझा, शंकर लामिछाने निबन्ध पुरस्कार, उत्तम शान्तिलगायत दर्जनौं पुरस्कार पाएका उनी सशक्त समालोचकका रूपमा पनि चिनिन्थे । आउँदो २८ गते राष्ट्रप्रमुखको हातबाट लुनकरणदास गंगादेवी चौधरी स्रष्टा सम्मान थाप्ने कार्यक्रम तय भइसकेको थियो ।
पछिल्लो समय आफ्नै अन्तर्वार्ताको संगालो निकाल्ने तयारीमा थिए भने दुई वर्षयता लेखेका निबन्धको संग्रह बगर फाउन्डेसनबाट प्रकाशन भएर लोकार्पणको तयारीमा थियो । ‘बुधबारमात्रै भेट हुँदा अन्तर्वार्ता संग्रह र समालोचनाबारे योजना सुनाउनु भएको थियो,’ प्रधान निकट रहेर उनको समग्र अध्ययनमा जुटेका समालोचक डा. गोविन्दराज भट्टराईले भने ।
भट्टराईका अनुसार प्रधान आफ्नै कृतिहरूबारे विभिन्न २२ जना साहित्यकारलाई अध्ययन गर्न लगाएर तिनका लेख संग्रह निकाल्ने योजनामा पनि गरिरहेका थिए ।
औपचारिक शिक्षाभन्दा पनि स्वअध्ययनमा खारिएका प्रधानले शैक्षिक क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याएका छन् । २००३ देखि चार वर्षसम्म उनले तीनवटा प्राविहरू मिलेर बनेको भूगोलपार्कस्थित शान्ति निकुञ्जमा पढाए । लगत्तै गान्धीवादी तुलसी मेहरको अनुरोधमा भारत मध्यप्रेदशस्थित गान्धी महिला आश्रममा एक वर्ष पढाए । १८ वर्ष कन्या मन्दिर स्कुलको शिक्षक र सञ्चालक समिति सचिव रहेका उनले २०१८ मा महेन्द्ररत्न पब्लिक कलेज खोल्न सघाएका थिए भने २०६० सम्म उनी काठमाडौं क्याम्पससँग संलग्न थिए । राजनीतिक संलग्नताका कारण २००५ र २०१० गरी दुई पटक ६/६ महिना जेलसमेत परेका उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सहसदस्य, सदस्य हुँदै २०५२ मा आजीवन सदस्य भएका थिए । नेपाल भाषा एकेडेमीका पार्षद् सदस्यसमेत रहेका उनी २०३१ देखि २०४५ सम्म साझा प्रकाशनका महाप्रबन्धक पनि बनेका थिए ।
उनका एक छोरा र दुई छोरी छन् । बिहीबार राति नै प्रधानको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
२०६७ साल आषाढ १७ गते विहीवार।
Leave a Reply