स्रोत: कान्तिपुर
-का.स.
संस्कृति मन्त्रालयले ‘सयौं थुंगा फूलका हामी’ बोलको राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई आजीवन तलब प्रस्ताव गर्ने भएको छ । मन्त्रालयले उनलाई मासिक २५ हजार तलब दिने प्रस्ताव मन्त्रिपरिषदमा लान लागेको हो ।
‘प्रस्ताव तयार भइसकेको छ, छिट्टै मन्त्रिपरिषद्मा प्रस्तुत हुनेछ,’ संस्कृतिमन्त्री मिनेन्द्र रिजालले कान्तिपुरसित भने, ‘उहाँको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हाम्रो चाहना हो ।’
लोकतन्त्रपछिको सरकारले पुरानो राष्ट्रगान परिवर्तन गरी मुलुकव्यापी प्रतिस्पर्धा गराएर नयाँ गीत छानेको हो । यसअघि राष्ट्रिय गीतका रचनाकार माइला र संगीतकार अम्बर गुरुङलाई सरकारले कदरस्वरूप पाँच/पाँच लाख रुपैयाँ प्रदान गरिसकेको छ । सरकारले संगीतकार गुरुङलाई संगीत नाट्य प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति समेत दिएको छ ।
२०६७ साल आषाढ १३ गते आईतवार।
Leave a Reply