स्रोत: नयाँ पत्रिका
-राजेन्द्र महर्जन
निरो दरबारको अट्टालिकामा बसेर बाँसुरी बजाउँदै थिए रोम सहर जल्दै गर्दा । महान् संगीतप्रेमी निरोको बाँसुरीवादन निरन्तर जारी थियो आफ्नो देश डढेलोका कारण ध्वस्त हुँदै गर्दा पनि । सहरबाट उठ्दै गरेका आगोका लप्काका बीच पनि बाँसुरीवादनको आनन्द कस्तो थियो होला ? आफ्नै राज्य जलाएर, त्यसको राप-तापका बीच संगीतमा मग्न हुने निरोलाई बाहेक अरू कसलाई त्यसको सही अनुभव र तथ्य ज्ञान होला ?
घर जलाएर खरानी घस्ने प्रवृत्तिकै पुनरावृत्ति हो निरोको व्यवहार । रोमका राजा निरोको यस्तो व्यवहार अचेल शासकीय प्रवृत्तिकै रूपमा देखिएको छ । हुन त रोम सहर जलाएर संगीतमा मग्न हुने निरोको उद्देश्य पनि पवित्र थियो, नयाँ सुन्दर रोम बनाउने उनको सपना पनि असुन्दर थिएन । तर, पवित्र वा सुन्दर सपना साकार पार्ने उद्देश्यले गरिएको विनाशले निरोलाई इतिहासका खलपात्र बनायो । हाम्रो युगका निरोका सपना-जपना पनि अपवित्र र असुन्दर छैनन्, किनभने उनले पनि शान्ति र संविधानको माला जपेका छन् । र त उनी संविधानसभा जल्ने सर्तमा पनि सत्ताको बाँसुरी बजाउँदै छन्, र त उनी बढ्दो असहमति, अराजकता र द्वन्द्वको रापतापका बीचमा कुर्सीको राग अलाप्दै छन् । उनी आजभन्दा दुई हजार वर्षअघिका रोमका निरोको नयाँ नेपाली अवतार बनेर देखाउँदै छन्, बहुमतीय शासनको ताण्डवनृत्य ।
नेपाली निरोलाई राम्ररी थाहा छ, संविधानसभाको म्याद थपिएन भने आफ्नो सरकारको म्याद पनि गुजि्रन्छ । संविधानसभाको आयु समाप्त भयो भने व्यवस्थापिका-संसद्को आयुसमेत समाप्त हुन्छ, व्यवस्थापिका-संसद्को अकाल मृत्यु भएपछि सरकारले पनि सास फेर्न छाड्छ, सरकारको हैसियत कायममुकायमको र्झछ । संविधानसभा, संसद्, सरकार र राष्ट्रपति सबै-सबै निर्वाचित संस्था समाप्त हुने भयावह स्थिति हुँदाहुँदै पनि उनी भने कुर्सीको बाँसुरी बजाउनमै मग्न छन् । उनी त संविधानसभाको आयु थपिए पनि आफैँ प्रधानमन्त्री, नथपिए पनि आफैँ प्रधानमन्त्रीको राग अलाप्नमै मस्त छन् ।
बालुवाटारका महलमा बसेर बाँसुरीवादन गरिरहेका आधुनिक निरोलाई राम्ररी ज्ञान छ, राजाका पाउमा दाम चढाउँदा पनि नपाइएको, शाही सैनिक शासनकालमा प्रतिगमन आधा सच्याउँदा पनि बक्सिस नपाइएको कुर्सी अब कसैले सडकबाट माग्दैमा त्यत्तिकै कहाँ छाडिन्छ ? अतः कुर्सीमा टाँसिएरै बसेका नेपाली निरोको मग्नमस्त ‘बडी ल्यांग्वेज’ले भन्दै छ— आफ्नो कुर्सीमोहका कारण संविधानसभा त के देशै जले पनि जलोस्, मलाई पर्वाह छैन, किनभने यो त्यही देश हो, जहाँ म दुई-दुई ठाउँबाट पराजित भएको थिएँ । पराजित भए पनि प्रधानमन्त्रीका लागि योग्य साबित भएको म नेपाली निरोलाई पराजित गर्ने यो देश स्वयं अब जल्न र जलाउन योग्य छ । मेरो अनिर्वाचित र अलोकतान्त्रिक शक्तिहरूको वर्चस्व भएको सरकारका नजरमा संविधानसभालाई पनि कठोर सजायका भागिदार बनाइनुपर्छ, किनभने यो त्यही संविधानसभा हो, जो माओवादीको ‘ब्रेन चाइल्ड’ (मानसिक सन्तान) हो ।
मुखबाट संविधानसभाको दीर्घायुको कामना गर्ने, कुर्सीपि्रय व्यवहारले भने संविधानसभाको जग नै जलाउने ! वचनबाट शान्ति र संविधानको माला जप्ने, आचरणबाट भने अशान्ति, हिंसात्मक द्वन्द्वको वातावरण तयार गर्ने अनि राष्ट्रपतिको ग्रेकोट वा सेनापतिको खाकी बर्दी वा दिल्ली दरबारका क्षेत्रपतिको धोतीबाट ‘नई विधान’ जारी गराउने ! यस्ता रहस्यमय कुराबारे आफूलाई हाक्काहाकी संविधानसभाविरोधी दाबी गर्ने नेपाली निरोलाई भन्दा बेसी अरू कसलाई थाहा होला ? यसबारे उनलाई प्रधानमन्त्री बनाउने राजनीतिक दल, सैनिक बल र कूटनीतिक बुद्धि भएका दिमागहरूलाई जति अरूलाई कहाँ थाहा होला र ? किनभने, नयाँ निरोको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई दिइएको म्यान्डेट नै शान्ति र संविधानको खिलाफमा छ । संविधानसभाका जनक, शान्ति-प्रक्रियाका दुई पक्षमध्ये एक पक्ष, जनआन्दोलनका एक सहयोद्धालाई सरकार, शक्ति बाँडफाँड र संविधान लेखनबाट बाहिर राखेर भूस्वर्ग कायम राख्नु नै त यस सरकारलाई दिइएको दूत-आदेश हो ।
त्यसैले शान्ति र संविधानको नारा जप्दै अशान्ति र असंविधानको मिसनमा लागेका आधुनिक निरो देश र संविधानसभा जल्ने सर्तमा पनि बालुवाटारमा बाँसुरीवादनमा लिप्त हुनुमा कुनै अनौठोपना छैन । आफ्नो महान् मिसन सफलतातिर पूरै उन्मुख रहेको यस घडीमा प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेपाली निरोलाई थोरै असफलताको श्रेय कमाउनु छ र ? सिर्फ एउटा कुर्सीलाई दाउमा राखेर राष्ट्रिय राजनीतिलाई अराजकतातिर, राज्यलाई शून्यतातिर, सरकारलाई भ्रष्टतन्त्रतिर अनि देश र जनतालाई हिंसात्मक भिडन्ततिर लान सक्नु भनेको कम ठूलो सफलता हो र ?
नेपाली निरो र उनलाई कुर्सीमा थपक्क थापना गर्नेहरूका आँखामा शान्ति र संविधानका लागि सरकारमार्फत सहजीकरण गर्ने जनादेश पूरा गर्नु भनेको त प्रधानमन्त्रीकै असफलता हुन्छ, शान्ति र संविधानका लागि राष्ट्रिय सरकार गठन गर्नु र त्यस्तो सरकारका लागि बाटो प्रशस्त गर्न राजीनामा दिनु त सरकारकै कायरता हुन्छ । र, बहुमतीय शासनको सट्टा सहमतीय पद्धति अँगाल्नु, सहमतिका नाममा संविधानसभाको ४० प्रतिशत ओगट्ने दललाई राष्ट्रिय सरकारको कुर्सी हस्तान्तरण गर्नु अनि सबै शोषित-पीडित वर्ग र तप्काका हित र स्वार्थलाई समायोजन गरी संविधान लेख्नु त झन् लोकतान्त्रिक विधि-विधानकै बर्खिलाप हुन्छ ।
यस्तो महान् सफलतातिर उन्मुख रहेका वेला थप सफलताका लागि बाँकी छ— आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारका लागि मरिहत्ते गरिरहेको माओवादीका हातबाट सविधानसभाको इहलीला समाप्त गर्न लगाउने काम फत्ते गर्नु अनि सैन्यबलका आधारमा शासन चलाएर संविधानसभाको साटो अर्कै चोरबाटोबाट कुलीनहरूका लागि ‘लोकतान्त्रिक विधि-विधान’ बनाउनु । त्यसका लागि आधुनिक निरोले आफूलाई संविधानसभाका विरोधी रहेको उद्घोष त गरिसकेकै छन्, अब संविधानसभाका जनक र समर्थकहरूको प”mडानी गर्न बाँकी छ । यसका लागि संविधानसभाको म्याद नथप्ने प्रयासलाई गज्जबको निहुँ बनाइनेछ । यसका लागि सेना समायोजन, लडाकुको बखेडा, वाइसिएल विघटन, जग्गाजमिन फिर्ता वा अन्य धेरै निहुँ पनि बाँकी नै छन् ।
यी सबै बाँकी काम गर्न तम्तयार रहेका नेपाली निरोमा इतिहास-चेत र मोह धेरै छ, जो इतिहासका कुपात्रलाई बोक्न र तिनका बासी बयान बक्न पनि तत्पर छन् । रोमका निरोजस्तै नेपालका मातृकाप्रसाद कोइराला पनि इतिहासका त्यस्ता पात्र हुन्, जसप्रति नेपाली निरोमा धेरै मायामोह छ । सात सालको परिवर्तनपछि ‘प्रजातन्त्रका लागि नेपाल योग्य छैन’ भन्दै हिँड्ने मातृकाप्रसाद कोइरालाको प्रवृत्ति उनमा पनि लुकिरहेको देखिन्छ । उनमा सबैभन्दा बेसी त संविधानसभाविरोधी प्रधानमन्त्री टंकप्रसाद आचार्य प्रवृत्ति छाएको देखिन्छ । आचार्य तिनै प्रधानमन्त्री थिए, जसको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले राजाको आदेश शिरोपर गरी संविधानसभाको सट्टा संसद्को चुनाव गराएका थिए । उनले त्यसका लागि प्रधानमन्त्रीको कुर्सीमा बसी-बसी ०१३ सालमा लैनचौरको सभामा बोलेका थिए— ‘मुलुकमा चुनाउ त हुने हो, तर संविधानसभा वा संसद् केका लागि हुने हो, टंुगो छैन ।’ यसरी सात सालको परिवर्तनका क्रममा भएको शाही घोषणाकै ज्यानका रूपमा रहेको संविधानसभाको चुनावबारे अन्योल पैदा गर्दै आचार्यले धमिलो राजनीतिक वातावरणमा जनताका हातबाट संविधान लेखनको अधिकारलाई नै राजाका पाउमा चढाएका थिए ।
नेपाली निरोले पनि आफ्ना अग्रज आचार्यकै सिको गरेर आफूलाई संविधानसभाविरोधी दाबी गरिसकेका छन् र अब जनताका हातबाट संविधान लेखनको अधिकारलाई ककसका हातमा कोसेलीका रूपमा सुम्पने हुन्, थाहा छैन । अब उनको नयाँ अवतार मात्रै हेर्न बाँकी छ, त्यो सम्भवतः डा. केआई सिंह प्रवृत्तिको पुनरावृत्ति हुन सक्छ । नेपाली निरोकै अग्रज प्रधानमन्त्री डा. केआई सिंहले कुर्सीमा हुँदा राजालाई खुसी पार्न संविधानसभाको चुनावका लागि भद्रअवज्ञा आन्दोलन गर्ने राजनीतिक दलहरूमाथि व्यापक दमन गरेका थिए । तर, आज फेरि संविधानसभाको म्याद थप्ने-नथप्ने नाममा जारी द्वन्द्वका क्रममा नेपाली निरो संविधानसभा विघटन गरेको वा शान्ति-प्रक्रिया भंग गरेको वा अन्य कुनै निहुँमा व्यापक दमनमा उत्रन हतारिएका छन्, सेनाको बलमा ।
‘शान्ति र संविधानका लागि राष्ट्रिय सरकार’को नारा जोडजोडले लगाउने क्रममा माओवादीले संविधानसभाको म्याद नथपेर आज रातिसम्म उनलाई त्यस्तो मौका जुराइदिने सम्भावना बढ्दो छ, उसको हठ हेर्दा । हुन त माओवादीले आफ्नो ‘ब्रेन चाइल्ड’ (मानसिक सन्तान) : संविधानसभालाई बचाएर नेपाली निरोको भयावह सपनालाई तत्कालका लागि दिवास्वप्नमा फेर्न सक्छ, बुद्धि र विवेक पुर्याइयो भने । तर, माओवादीले पनि आफ्नो नेतृत्वमा सरकार र प्रधानमन्त्रीकै अत्तो थापेर संविधानसभाको म्याद नथप्ने हो भने उसमा पनि निरो प्रवृत्ति सल्किसकेको मानिनेछ ।
यथार्थमा आज संविधानसभाको म्याद थपिए पनि, नथपिए पनि नेपाली निरो नेपाली जनमानसमा नराम्ररी ढलिसकेका छन्, कुर्सीको बेतालको राग र द्वन्द्वको कर्कश संगीतसँगै । अब भोलिदेखि जनजनको नांगा आँखाले पनि देख्नेछन्, आफनो टाउको र अनुहारसमेत नभएको शरीर, अर्काले भिराइदिएको मुकुन्डो र कवचयुक्त गिँड । अब नराम्ररी च्यातिनेछ महान् लोकतान्त्रिक योद्धा ठानिएका नेपाली निरोलाई बोकाइएको शान्ति र संविधानको झन्डा पनि ।
२०६७ साल जेठ १४ गते शुक्रवार।
Leave a Reply