स्रोत: ई-कान्तिपुर
-अतुल मिश्र
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नेपालमा पहिलो पटक मात्र नभई विश्वमै दुर्लभ मानिने प्रकृतिको गर्भवती महिलाको मुटुको शल्यक्रिया गरिएको छ ।
गंगालालका कन्सल्टेन्ट शल्यचिकित्सक एवं त्रि.वि.का प्राध्यापक डा. भगवान कोइरालाको नेतृत्वमा दस दिन अघि गरिएको उक्त शल्यक्रियापछि हाल आमा र छोरी दुवै स्वस्थ छन् ।
‘एसेन्डिङ एओर्टिक डिसेक्सन (Ascending Aortic Dissection)’ भनिने स्थितिका लागि ती गर्भवतीको शल्यक्रिया भएको हो । मुटुबाट निस्किने मुल रक्तनली ‘एओर्टा (Aorta)’ ले शरीरभरि रगत पुर्याइरहेको हुन्छ । ती महिलामा त्यही नली फुलेर भित्रभित्रै च्यातिएको थियो ।
चिकित्सा तथ्यपत्रका अनुसार ‘एओर्टा’ पाँच सेन्टिमिटर भन्दा बढी फुलेमा फुट्न सक्छ । फुट्दा मान्छे मर्छ । एओर्टाको पर्खाल भित्रभित्रै फुटेमा कोरोनरी आर्टी(Coronary Artery), एओर्टिक भल्भ (Aortic Valve) समेत चुहिन थाल्छ । अचानक चुहिन थाल्दा शरीरले थेग्दैन । ती महिलामा ‘एओर्टिक डिसेक्सन’ भएर भल्भ समेत चुहिन थालेको थियो ।
पहिलेदेखि नै एओर्टा सुन्निएकाले उनलाई चिकित्सकले गर्भधारण नगर्न सल्लाह दिएका थिए । तर, एक्कासि गर्भधारण भएपछि उनमा यो जटिलता देखिएको थियो ।
‘विश्वमै दुर्लभ शल्यक्रिया सम्पन्न भयो,’ गंगालालका निर्देशक डा. अरुण मास्केले भने । मास्केका अनुसार आमाछोरी दुवै पूर्ण स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
‘नेपालमा भएकै थिएन, विदेशमा समेत औंलामा गन्न सकिने दुई/चारवटा मात्र सफल केस छन्,’ गंगालालका शल्यक्रिया विभागका प्रमुख डा. ज्योतिन्द्र शर्माले भने, ‘यो अन्तर्राष्ट्रिय स्तरमै आफैंमा एउटा जटिलतम, दुरुह शल्यक्रिया थियो, जसमा हाम्रो चिकित्सा टोलीले सफलता पायो ।’
गंगालालले सधैं अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा दिइरहेको उल्लेख गर्दै डा. शर्माले भने, ‘डा. भगवान कोइरालाले यो शल्यक्रियाको नेतृत्व गर्नु भएको हो ।’
ती महिलामा रक्तनली फुटेर रक्तसञ्चारमा अवरोध आएपछि ‘हार्ट एट्याक (Heart-attack)’ हुने स्थिति समेत आएको थियो । उनलाई ८ महिनाको गर्भ हुँदा ताका यो रक्तनली फुटेको थियो । ‘तुरुन्त शल्यक्रिया नगरे अधिकांशको मृत्यु हुन्छ, उसै पनि गर्भवतीमा मुटुको शल्यक्रिया अति जटिल र जोखिमपूर्ण हुन्छ,’ कोइरालाले नेतृत्व गरेका शल्यचिकित्सा टोलीका डा. विजय राजवंशीले भने, ‘बच्चाको ज्यान जोगाउनु, आमाको ठूलो शल्यक्रिया सफल पार्नु, र प्रेग्नेन्सी-सम्बन्ध तीनै कुरा जटिल थिए ।’
ती महिलामा गरिएको प्रविधि गंगालालमा स्वस्थ महिला तथा पुरुषमा यसअघि समेत गरिएको थियो । ‘बच्चा पेटमा भएकै अवस्थामा शल्यक्रिया गरेर दुवैको ज्यान जोगाउनु दुर्लभ सफलता हो,’ डा. राजवंशीले भने ।
पहिले स्त्रीरोग विशेषज्ञहरूले शल्यक्रिया गरी बच्चा निकालेका थिए । ‘ओपन हार्ट सर्जरी (Open-heart-surgery)’ मा मुटु बन्द गर्नुपर्ने भएकाले पहिला बच्चालाई बाहिर निकालिएको थियो । तत्कालै बच्चालाई इन्क्युवेटरमा राखिएको थियो ।
स्त्रीरोग शल्यचिकित्सकले तलको भागलाई बन्द गरेपछि शल्यक्रिया कक्षमा तत्कालै मुटु शल्यचिकित्सकले माथिको भाग खोलेर आफ्नो काम सुरु गरेका थिए । मुटु शल्यक्रिया गर्न मात्र करिब ११ घन्टा लागेको थियो । बिहान ११ बजे सुरु भएको शल्यक्रिया राति १ बजेतिर मात्र सकिएको थियो । त्यसअघि बच्चा निकाल्न भने तीन घन्टा लागेको थियो ।
कोइरालाको नेतृत्वमा भएको उक्त शल्यक्रियामा डा. सिद्घार्थ प्रधान, डा. नवीन गौतम, डा. योगेश्वरमान सिंह, डा. सजन पाण्डे र डा. विजय राजवंशी संलग्न थिए । यस्तै एनेस्थेटिस्टमा डा. मुरारी उप्रेती, डा. जीजुनाथ पोखरेल र डा. अपूर्वा शर्मा थिए । परफ्युजनिस्टको रूपमा महेन्द्र भट्ट र उमेश खाँणले सघाएका थिए । त्रिवि शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. पदमराज पन्तले शल्यक्रिया गरेर बच्चा निकालेपछि मुट शल्यक्रिया सुरु गरिएको थियो । उक्त केस पाटन अस्पतालले रेफर गरेको थियो ।
Leave a Reply