स्रोत: अनलाईन खबर
धनगढी । कैलालीको दक्षिण पूर्वीक्षेत्रका बासिन्दा डल्फिन महोत्सवको तयारीमा जुटेका छन् । खास गरेर नारायणपुर, थापापुर, टीकापुर र भजनीका स्थानीय बासिन्दा महोत्सवका लागि जुटेका हुन् ।
टीकापुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज रावलका अनुसार- दुर्लभ डल्फिनको संरक्षण र पर्यटन विकासका लागि महोत्सवका विषयमा छलफल भइरहको छ । नेपाल-भारत सीमाको कैलाली जिल्ला भएर बग्ने मोहना, काढा र पथरैया नदीमा वर्षायाममा जलस्तर बढेपछि एक सयभन्दा बढी डल्फिन कर्णाली र गेरुवा नदीबाट अस्थायीरूपमा आउने गरेको डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ बताउनुहुन्छ ।
वर्षायाम सकिएपछि पानीको मात्रा घट्दै गएपछि डल्फिन ठूला नदीमा जानेगरेको पाइएको छ । डल्फिन संरक्षणका लागि स्थानीय बासिन्दा चेतनशील हुँदै गए पनि डल्फिनको उपयुक्त बसोबास खुलारूपमा हिँडडुल र खानपानको व्यवस्था हुन नसक्दा अझै पनि डल्फिन खतरामा रहेको श्रेष्ठले बताउनुभयो । कैलालीमा मात्र डल्फिन संरक्षण केन्द्रसहित डल्फिन संरक्षण उपकेन्द्र, इको क्लब, डल्फिन क्लब र निजी वन तथा सामुदायिक वनका गरी ६० हजारभन्दा बढी मानिस डल्फिन संरक्षणमा लागेको दाबी उहाँको छ ।
वर्षायाममा देखिने डल्फिन संरक्षणका लागि भजनी क्षेत्रका बासिन्दाले गरेको प्रयासका कारण वर्षा याममा ठूलो सङ्ख्यामा डल्फिन कर्णाली मोहना पथरैया काडा र कनरा नदीमा देखिने गरेका छन् । चितवन गैंडाका लागि, कोसी टप्पु अर्ना र चराका लागि बर्दिया कृष्णसार र बाघका लागि विश्वमा प्रशिद्ध मानिन्छन् भने कर्णाली मोहना पथरैया काडा र कनरा नदी डल्फिनका लागि प्रख्यात हुनसक्छ, श्रेष्ठले भन्नुभयो ।
Leave a Reply