स्रोत: कान्तिपुर
गंगा बीसी/योगेश खतिवडा
नागरिकता बनाउँदै हुनुहुन्छ भने नयाँ खबर । केही महिनापछि तपाइर्ंले नेपाली कागजले बनेको नागरिकता पाउनु हुनेछ । करिब २० वर्षभन्दाअघि पनि नेपाली कागजको नागरिकता प्रचलनमा थियो । सरकारले त्यसयता भने विदेशी कागजमा नागरिकता वितरण गर्दै आएको छ ।
लोक्ता व्यवसायी हुनुहुन्छ भने पनि खुसीको खबर । तपाईंले उत्पादन गरेको कागजले आम्दानी मात्रै होइन सम्मान पनि पाउँदैछ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न पहिलो चरणमा नागरिकताका लागि नेपाली कागजको प्रयोग गर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको हो । ‘स्वदेशी उद्योगलाई प्रोत्साहित गर्न यो निर्णय गरिएको हो,’ उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले कान्तिपुरसँग भनिन्, ‘यसले उद्योग फस्टाउने विश्वास सरकारको छ ।‘ उनले सरकारी कार्यालयमा नेपाली कागज प्रयोग गर्ने विषयमा एक महिना सम्भाव्यता अध्ययन गरेको जानकारी पनि दिइन् । यसअघि नेपाल हाते कागज संघले उद्योग र गृहमन्त्रीलाई भेटी नागरिकताका लागि नेपाली कागज प्रयोग गर्न माग गरेका थिए ।
‘हामीले उत्पादन गरेको कागजले सम्मान पाएकामा खुसी बनाएको छ,’ नेपाल हाते कागज संघका सचिव किरण डंगोलले भने, ‘यसले उद्योग फस्टाउन सघाउ पुग्ने छ ।‘ हाल वाषिर्क १० हजार मेटि्रक टन उत्पादन हुने नेपाली कागज ९० प्रतिशत अन्य मुलुकमा निर्यात हुने गर्छ । नागरिकताका लागि प्रयोग भएपछि २५ प्रतिशत स्वदेशमै खपत हुने डंगोलले कान्तिपुरलाई बताए । नागरिकताका लागि प्रतिवर्ष एक लाख सिट कागज प्रयोग हुनेछ ।
Leave a Reply