स्रोत: नागरिक दैनिक
-हरि अधिकारी
पश्चिमा जगतले अपनाएको पञ्चांग अनुसार भर्खरै बितेर गएको सन् २०११ नेपाली साहित्यका हकमा समग्रतामा हेर्दा सुखद रह्यो भन्न सकिन्छ। आसलाग्दा नवस्रष्टाको आगमन, विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमको सफल आयोजन र पुस्तक बिक्रीमा लगातारको अभिवृद्धिका आलोकमा हेर्दा सन् ११ लाई उपलब्धिमूलक ठानिएको हो।
अधिकांश पाका र प्रतिष्ठित लेखकले भने यस वर्ष प्रकाशित आफ्ना कृतिबाट पाठकलाई निराश बनाएको देखियो। बासी विचार, अनाकर्षक शैली र थोत्रो संवेदनालाई जोडजाड गरेर तिनले रचना गरेको साहित्यले तिनीहरूभित्रको लेखक अधमरो भइसकेको तथ्यकै पुष्टि गरेझैं भएको छ। उपन्यासको उत्पादन गर्ने कारखानाझैं सक्रिय ध्रवचन्द्र गौतम, पूर्णकालीन लेखक भनिएका कृष्ण धरावासी, मञ्जुल, सरुभक्त जस्ता स्रष्टाले यस वर्ष आफ्ना प्रकाशित कृतिको बलमा खासै प्रभाव जमाउन सकेनन्। धेरै समयको अन्तरालमा दुइटा उपन्यास लिएर आएका किशोर नेपाल पनि रचना सामर्थ्य र पुस्तक बिक्री दुवै दृष्टिले आशातीत रूपमा सफल हुन सकेनन्। यस वर्ष कथालेखनमा राम्रो नाम कमाएका राजव पनि उपन्यासकारका रूपमा पूर्णतः फ्लप भए। स्वास्थ्यका कारण हुनुपर्छ, जगदीश घिमिरेले पनि यस वर्ष कुनै नयाँ सिर्जना गरेको देखिएन। उनी ‘अन्तर्मनको यात्रा’ ले दिएको सफलता र यसबाट प्राप्त ख्यातिकै प्रवर्द्धनमा अहिले पनि लागिरहेका छन्। स्थापित आख्यान लेखकमध्ये कृतिगत श्रेष्ठताका हिसाबले नारायण ढकाल मात्र पाठक र समालोचक दुवैको नजरमा टिक्न सकेको देखिन्छ।
