स्रोत: नयाँ पत्रिका
झाडापखालाको महामारीबाट ज्यान जोगाउन रुपैडिया नाकाबाट भारततिर लागेका जाजरकोटवासी वृद्धवृद्धा र बालबालिकाको लस्कर सिंहदरबारप्रति त्यहाँका जनताको विश्वासको शवदाहको लस्कर हो । यो केवल सरकारको विफलता होइन, राष्ट्रिय शर्मको विषय पनि हो ।
काठमाडौंमा जतिसुकै प्रचार भए पनि जाजरकोटमा अझै स्वास्थ्यकर्मी र औषधि पर्याप्त नभएको स्पष्ट भइसकेको छ । केही गाउँमा अहिलेसम्म स्वास्थ्यकर्मी र औषधी दुवै पुगेका छैनन् । यही एउटा जिल्लामा मात्रै झाडापखालाले केही साताभित्रै डेढ सयभन्दा बढीको ज्यान लिइसकेको छ । राज्यका प्रयासहरूमा पत्यार भएको भए वा ती प्रभावकारी भएको भए वृद्धवृद्धा र बालबालिकाले समेत देश छाड्नुपर्ने अवस्था आउने थिएन । त्यसैले जाजरकोटवासीको भारत पलायन केवल तिनको भौतिक पलायन होइन, राज्यप्रतिको विश्वास र भरोसाबाट पनि पलायन हो । सिंहदरबारका लागि यो अत्यन्तै ठूलो नैतिक संकट हो । तर, सरकार सञ्चालकहरूका भाषा र मुद्रामा यसको कुनै छनक पाइन्न ।