स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
अब जनताको सुरक्षा प्रहरीले गर्ने दिन गएजस्तै छ । विश्वास नलागे नयाँ पत्रिकाको असोज १८ का केही समाचार हेरौँ । पहिलो समाचार भन्छ, अछामको एउटा प्रहरी-चौकीमा कार्यरत महिला प्रहरीलाई सोही कार्यालयका इन्चार्जलगायतका सातैजना पुरुष सहकर्मीले लामो षड्यन्त्र र दाउ लगाएर बलात्कार गरेछन् । प्रहरीहरूले दसैँको महानवमीका दिन खसीको मासुमा गाँजा मिसाएर पकाएछन् । उनीहरूले कुनै नाम नखुलेको कालो पदार्थ होइन, नामै खुलेको गाँजा आफ्नै खानेकुरामा मिलाएर पकाए । गाँजा र लागूपदार्थको उत्पादन, ओसार-पसार, कारोबार र उपभोग नियन्त्रण गर्ने कसम खाएर प्रहरी सेवामा कार्यरत रहेका ती प्रहरीहरूले त्यही गाँजा मिश्रति मासु आफ्नै सहकर्मी महिलालाई विनाजानकारी खुवाए । अनि होस हराएकी तिनै सहकर्मीमाथि बाँकी सातजनाले चौकीमा लगातार बलात्कार गरे । ती महिलाले होसमा आएपछि जिल्ला प्रहरीमा दिएको उजुरीसमेत जिल्ला प्रहरी कार्यालयले बुझ्न अस्वीकार गर्यो । सम्भवतः त्यहाँ महिला होइन, पुरुष हाकिम होलान् ।

