स्रोत: ई-कान्तिपुर
-श्याम श्रेष्ठ
संविधानसभाको चुनावअघि संविधानसभा भयो भने सबै समस्या त्यसैबाट स्वतः हल हुन्छ भनेर एकथरि दलका नेताले भन्ने गर्थे । त्यो सफेद भ्रम हो भनेर साबित भइसकेको छ । अहिले फेरि उच्चस्तरीय राजनीतिक संयन्त्र भयो भने सबै समस्या छुमन्तर झैं हल हुन्छ भनेर अर्को भ्रमको खेती गर्न थालिएको छ । नेपाल अब धान/गहुँ खेतीका लागि विश्वमा महत्त्वपूर्ण रहेन, यो भ्रमैभ्रमको खेतीमा विश्वका अधिकांश मुलुकलाई पछि पार्न थालेको छ ।
त्यसो भनेर नेपालमा यतिबेला उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता छैन भन्न लागेको होइन । अहिलेको नेपालको मुठभेडमुखी परिस्थितिमा सम्भावित राजनीतिक दुर्घटना र अशान्तिबाट देशलाई जोगाउन त्यो नितान्त आवश्यक पनि होला । तर त्यो संयन्त्र कुन-कुन उद्देश्य हासिल गर्नका लागि बन्छ ? त्यसले गर्ने मूर्त काम के-के हो ? गठन र निर्णय प्रक्रिया के ? र, त्यसले जे निर्णय गर्छ त्यो संविधानसभाभित्रका अधिकांश राजनीतिक दलका लागि स्वीकार्य कसरी हुन्छ ? यी आधारभूत सवालमा स्पष्टता र साझा सहमति नभई उच्चस्तरीय राजनीतिक संयन्त्र बनिहाले पनि त्यो प्रभावकारी र फलदायी हुन्छ भनेर भन्नु आधारविहीन कुरो हुन्छ । त्यो हात्ती आयो, हात्ती आयो फुस्सा मात्र पनि हुनसक्छ । कुनै पनि संस्था वा संयन्त्र बन्नु ठूलो कुरो होइन, उद्देश्यमूलक ढंगले प्रभावकारी हुने गरी बन्नु ठूलो कुरो हो ।
Continue Reading »