स्रोत: कान्तिपुर
-भीम घिमिरे
विराटनगर। भारतीय अर्धर्सैनिक बल एसएसबीका जवानले चलाएको गोली लागि मोरङको अमाहीबरियाती-७ मा मंगलवार बेलुकी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षका बासुदेव साह रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले जनाएको छ । घटनाको विरोधमा स्थानीयवासीले बुधबार बिहानैदेखि प्रदर्शन गरेका छन् । त्यहाँ सीमामा भारतीय पक्षले सुरक्षा व्यवस्था कडा पारेको छ ।
सशस्त्र प्रहरीका डीएसपी भोला गिरीका अनुसार बेलुकी करीव ९ बजे बीआर ३८बी००३६ नम्बरको हिरोहोण्डा स्प्लेण्डर मोटरसाइकलमा दशगजादेखि उत्तर छिरेका दुई जवानले गोली चलाएका हुन् । घटनास्थल नेपाल-भारत सीमा भन्दा करीव सय मिटर नेपाल भित्र पर्छ । गोली लागेलगतै उपचारार्थ विराटनगर ल्याइदै गर्दा साहको बाटैमा मृत्यु भएको हो । सीमावर्ती भारतीय बजार कुवाडीबाट साहले दिउँसो एक टिन तेल ल्याएका थिए । उनलाई पच्छ्याउदै आएका एसएसबीका जवानले ओसारपसारमा रोक लगाइएको परिमाणका वस्तु रोक्न बेवास्ता गरेको भन्दै अमाहीबरियाती प्रहरी चौकीका हवल्दार शम्भु साहलाई हपारेका थिए ।

