स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
नेपाल राज्यभित्रका जनताले सुरक्षाका लागि भारतीय एसएसबीलाई गुहार्नुपर्ने अवस्था आउनु राज्यभित्रै राज्यविहीनताको विडम्बनापूर्ण स्थितिको संकेत हो।
सप्तरी जिल्लाको गोबरगाढा गाविसका जनता आफ्नै देशभित्र पनि वर्षौंदेखि राज्यविहीन नागरिक भएर बाँचिरहेका छन । तर, राज्य भने त्यहाँका स्थानीयवासीको पीडाबाट पूरै बेखबर छ । प्रत्येक वर्षको बर्खामा कोसी नदीमा आउने बाढीले पूरै गाविस जलमग्न हुँदा पनि आफ्नो थातथलो छाडेर सुरक्षित स्थलमा सर्नसमेत नसक्नु त्यहाँका बासिन्दाको गहिरो पीडा हो । भारतीय बिहार राज्यसित सीमा जोडिएको गोबरगाढाका जनताले दैनिक उपभोग्य सामान खरिद गर्न जानुपर्दा पनि ज्यान हत्केलामा राखेर कोसीको बाढीमा हेलिनुपर्छ । नेपाली बजारसम्म पुग्नमात्र पनि त्यहाँका जनताले बर्खामा उर्लिएको कोसीका साना-ठूला गरी ६ वटा भंगाला पार गर्नुपर्ने बाध्यता छ भने छिमेकी भारतीय बजारसम्म पुग्न कोसीको विशाल धारमाथि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गोबरगाढावासीको यो समस्या यस वर्षको मात्र होइन, त्यहाँ हरेक वर्ष एउटै समस्या दोहोरिइरहेको छ । तैपनि, आफूलाई राज्यका वास्तविक ठेकेदार मान्ने स्थानीय प्रशासन, चुनावमा त्यस गाविसका जनताको समेत भोटबाट विजयी बनेका सभासद्, राजनीतिक दल र तिनका स्थानीय नेता, गाविस सचिव, कसैका आँखा पनि ती पीडित स्थानीयवासीको पीडामाथि पर्न नसक्नु उदेकलाग्दो कुरा हो ।
Continue Reading »