स्रोत: कान्तिपुर
-डा. रबा थापा
समयमै ध्यान दिऊँ।
शरीरमा चिनी, अर्थात् ग्लुकोजको व्यवस्थापन र उपयोग गर्न सहयोग गर्ने इन्सुलिनको कमी भएमा वा कुनै कारणवश यसको काममा अवरोध आएमा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई हामी मधुमेह भन्ने गर्छौं। यो एक दीर्घरोग हो, जसले विस्तारै शरीरका सम्पूर्ण प्रणालीलाई प्रभावित गर्छ । खासगरी यसले शरीरका मुख्य संवेदनशील अंगहरू जस्तै: आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ ।
हाल विश्वभर नै मधुमेह रोग एक विकराल स्वास्थ्य समस्याको रूपमा देखापरेको छ र दिनानुदिन यो संख्या बढ्ने क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनको एक तत्थ्यांक अनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो संख्या झन्डै दोब्बर अर्थात् ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । यी मध्ये करिब ७० प्रतिशत बिरामी विकासोन्मुख देशमा र त्यसमा पनि करिब आधाभन्दा बढी मधुमेहका बिरामीको हिस्सा एसियाली मुलुकहरूमा हुने आँकडा छ । हाल विश्वमा करिब २८४ मिलियन मधुमेहका रोगी भएको र प्रत्येक दस सेकेन्डमा दुई जना नयाँ मधुमेहका बिरामी थपिने, एकजना भन्दा बढी व्यक्तिको मधुमेहजन्य समस्याबाट मृत्यु हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको तत्थ्यांकमा देखाइएको छ ।