स्रोत: नागरिक दैनिक
जीवनलाई चेप्टो होइन आयामिक रूपमा बुझ्नुपर्छ भन्दै आयामेली अभियानबाट नेपाली साहित्यको दिशा परिवर्तन गरिदिने एक लेखक इन्द्रबहादुर राई राजनीतिको चेप्टोपनले ग्रसित काठमाडौंमा भेटिए। सांग्रिला बुक्सले निकालेको आफ्नो कथासंग्रहको प्रवर्द्धन गर्न र एक साहित्यिक सम्मान थाप्न दार्जिलिङदेखि आएका इन्द्रबहादुर ८० वर्षको उमेरमा पनि स्पष्ट वक्ता देखिए। आयामेली साहित्यकै अर्का अभियन्ता वैरागी काइँलाको निवासमा नागरिकका दीपेन्द्र लामाका जिज्ञासाहरू मेटाउँदै उनी सिधै छाप्न मिल्ने वाक्यमा बोल्दैगए, ठाउँठाउँमा अल्पविराम र पूर्णविराम समेत सम्झाउँदै।
दार्जिलिङभित्रै तपाई बसाइँ सर्न बाध्य हुनुभएको थियो नि, किन?
मेरो बुबाले १९५० मा तुङसुङ बस्तीमा एउटा घर बनाउनुभयो, जहाँ मैले बस्न पाएँ। तर, सन् १९७० को दशकमा सुभाष घिसिङको आन्दोलनले हामी कतिपयलाई शत्रु देख्यो। हामी भाषाको नाम नेपाली हो, घिसिङले भनेको जस्तो ‘गोर्खा’ होइन भन्थ्यौं। त्यही निहुँमा घिसिङको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मेरो घरमा एकपटक बम हान्यो भने अर्कोपटक आगो लगाउने प्रयास गर्यो। त्यसपछि मैले सन् १९७५ तिर तुङसुङ छाडी बजारबीचको लोचनगर क्षेत्रमा घर बनाएर बस्नुपर्यो। तर, तुङसुङको घर अझै छ, भाइहरू बस्छन्। त्यहाँ ठूलो जमिन छ, पाँच एकड जति। त्यसमै छ मेरो भाग।

