स्रोत: कान्तिपुर
-अब्दुल्लाह मियाँ/शिला पाण्डे
काठमाडौ। बीसौंपल्ट सर्वोच्च शिखर सगरमाथा चुमेका ‘सुपर शेर्पा’ आप्पा मंगलबार त्रिभुवन विमानस्थल झर्दा निकै उत्साहित देखिए । आफ्नै कीर्तिमान तोड्दै बनाउँदै आएका उनी फेरि एकपटक चुचुरोमा पुग्न पाएकामा दंग थिए । तर यस्तो हर्ष अब अरूले पनि बाँडुन् भन्ने चाहना उनमा पलाउन थालेछ । भने, ‘युवा आरोहीले मेरो कीर्तिमान तोडुन् भन्ने चाहन्छु तर म थाकेको होइन ।’
आप्पाले चारपल्टको असफल प्रयासपछि सन् १९९० मा सगरमाथामाथि पहिलो सफलता पाएका थिए । सन् १९९२ मा दुईपल्ट शिखरमा पाइला पुर्याएका थिए । १९ औं पल्टको आरोहण कीर्तिमानलाई शनिबार फेरि तोडेका हुन् । इको एभरेस्ट एक्सपिडिसनको सगरमाथा सफाइ अभियानमा तीन वर्षदेखि उनी सक्रिय छन् । विश्व वन्यजन्तु कोषका एम्बेसडरका रूपमा रहेका आप्पाले शिखरमा जलवायु परिवर्तनबारे चेतना जगाउने नारा अंकित ब्यानर पनि फहराएका थिए ।

