स्रोत: कान्तिपुर
सुमनकुमार रेग्मी
फागुन अन्तिम साता देशभर होलि पर्व सकिए पनि प्रकृतिले आकाशमा खैरो अनि पहेँलो मिसिएको रंगमा होलि खेलिनै रहयो । फागुन ३०, चैत १ र २ गते यस्तो गतिविधिले व्यापक रूप लियो । आकाश धुम्मिएर धूलो र धूवाँको रंगले दिनभरजसो छायो । मौसममा देखिएको यस किसिमको परिवर्तनले दैनिक जीवनसमेत कष्टपूर्ण बनाइदियो । काठमाडौं लगायत देशका थुप्रै ठाउँमा मानिसहरू अप्रत्याशित रूपले आँखा तथा श्वास–प्रश्वासका समस्याले ग्रस्त भए । आँखा पोल्ने, बिझाउने, रातो हुने, रूघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता विविध रोगबाट अस्पतालहरूमा बिरामीको चाप बढेको देखियो ।
फागुन तेस्रो सातादेखि नै जंगलहरूमा आगलागी भइरहेका खबर आएका थिए । फागुन २९ का दिन अमेरिकाको वैज्ञानिक संस्था ‘नासा‘को मोडिस भूउपग्रहबाट लिइएको नेपालको जंगलमा आगलागी भएको तस्वीर सार्वजनिक भएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यति व्यापक रूपमा जंगलमा आगलागी भएको सम्भवतः यो पहिलोपटक हो ।
वायुमण्डलमा देखिएको यसप्रकारको विशेष मौसमी अवस्थालाई मौसम विज्ञानको भाषामा तुवाँलोे भन्ने गरिन्छ । जल तथा मौसम विज्ञान विभागको त्रिभुवन विमानस्थल, काठमाडौंमा लिइएको आँकडाअनुसार फागुन ३०, चैत १ र २ गते वायुमण्डलको दृश्य दिनभर ३–५ देखि ४ किलोमिटरभन्दा माथि उक्लन सकेन । देशभर न्यूनतम तापक्रममा केही वृद्धि भयो भने अधिकतम तापक्रम केही खस्कियो । गएको सातादेखि यसप्रकारको मौसमी अवस्थाको सम्बन्धमा जनमानसमा निकै तर्क–वितर्क चले । कसैले यसलाई विश्वव्यापी उष्णता, अनि कसैले यसलाई मौसम परिवर्तनको संज्ञा पनि दिए । आजको विश्वमा विश्वव्यापी उष्णता अनि मौसम परिवर्तनको लहरलाई सजिलै नकार्न नसकिने स्थिति छ । तैपनि यसप्रकारको तुवाँलोको चपेटामा देश एकाएक आक्रान्त हुनुमा भने विशिष्ट मौसमी अवस्था सिर्जना हुनु हो भनेर ठोकुवा गर्न सकिन्छ ।
सूर्यबाट पृथ्वीले ताप प्राप्त गर्छ । त्यहाँबाट आउने ताप वायुमण्डललाई नतताई सबभन्दा पहिले पृथ्वीमा प्रवेश गर्छ । यसलाई हामी विकिरण भन्ने गर्छौं । त्यो तापले सर्वप्रथम पृथ्वीको सतह तताउने काम गर्छ । त्यसपछि त्यो पृथ्वीबाट वायुमण्डलतिरै फर्किएर वायुमण्डल तताउँदै जान्छ । त्यसैकारण पृथ्वीको सतहभन्दा जति माथि गयो, तापक्रम उति घट्दै जाने हुन्छ । तर कहिलेकाहीं उपयुक्त मौसमी अवस्था सिर्जना भएर पृथ्वीको सतहको कुनै निश्चित उचाइसम्म तापक्रम बढ्दै जाने अनि त्यसपछि मात्र घट्न जाने हुन्छ । यस्तो विशिष्ट अवस्थालाई मौसम विज्ञानको भाषामा ‘इन्भर्जन‘ भन्ने गरिन्छ । साधारणतया यस्तो अवस्था पृथ्वीको सतहबाट करिब १.५–२.५ किमिसम्मको उचाइमा रहने हुन्छ । यस परिस्थितिमा वायुमण्डलको १.५–२.५ किमिसम्मको तल्लो तह र त्यसभन्दा माथिको तहबीच एकप्रकारको सम्बन्धविच्छेदजस्तै अवस्था आउँछ ।
वायुमण्डलमा जहिले पनि ताप र आद्रता तेर्सो र ठाडो तरिकाले स्थानान्तरण भइरहन्छ । तर यसप्रकारको अवस्थामा भने वायुमण्डलमा ठाडो तरिकाले ताप र आद्रता स्थानान्तरण नहुने अवस्था सिर्जना हुन्छ । यसैकारण हावा चलिरहे पनि त्यसको गति ज्यादै न्यून हुने हुन्छ । यस अवस्थामा वायुमण्डलमा भएको धूलो र धूवाँ पृथ्वीको सतह नजिकै खुम्चिएर बस्न आउँछ, अनि वायुमण्डलको दृश्यमा समेत निकै कमी आउँछ । अहिले यस्तै भएको हो ।
तुवाँलोको अवस्थामा यसलाई बढावा दिने काम वायुमण्डलको उच्च तहको बादलले पनि गर्छ । यसप्रकारका बादलहरू वायुमण्डलको ५ देखि १३ किमि माथिसम्म फैलन्छन् । विविध कारणले गर्दा बन्ने यी बादलले पातलो कपास फिँजाएजस्तो देखिन्छ । यिनीहरू धेरै माथि हुनाले यसले वषर्ा भने गराउन सक्दैन । यस्ता बादलको उपस्थितिले सूर्यको किरण छेकेर तापक्रम केही घटाउने काम गर्छ, जसले आकाश धुम्म राख्न पनि मद्दत गर्छ । अहिलेसम्मकै वैज्ञानिक खोजले हाम्रो देशको वायुमण्डलमा धूलोको ठूलो मात्रा स्थानान्तरण भएको देखिँदैन । त्यसो त कुनै न्यून तहमा भने यसप्रकारको गतिविधि पृथ्वीभर नै भइरहेको हुन्छ । मूलतः हावाको बहावसँगै यसप्रकारको गतिविधि हुने हुन्छ ।
मौसममा सुख्खापन रहने खासगरी मनसुनपूर्वको फागुन, चैत र वैशाख महिनामा तुवाँलोेले प्रश्रय पाउँछ । हावामा आद्रता बढ्न गए पनि तुवाँलोको समस्या न्यून हुन्छ भने बेला–बेलामा वषर्ा भइरहने हो भने तुवाँलोको समस्या रहने गर्दैन । वर्तमान स्थितिमा एकातिर सूर्य कर्कटरेखातिर लाग्ने र सूर्यको तापमा वृद्धि हुने क्रम भइरहेको छ भने अर्कोतिर पश्चिमी मौसम प्रणाली शिथिल हुनगई स्थानीय मौसम प्रणाली सक्रिय हुनथालिसकेको छ । यस्तो बेलामा यदि वषर्ा शून्य रही सुख्खाको स्थिति अझ कायम रहने हो भने यसप्रकारको तुवाँलोले बेला–बेलामा गाँजिरहने निश्चित छ ।
[लेखक जल तथा मौसम विज्ञान विभागमा कार्यरत छन् ।]
http://www.ekantipur.com/kolnepalinews.php?&nid=185100
Read Full Post »