स्रोत: नयाँ पत्रिका
-राजेन्द्र महर्जन
निरो दरबारको अट्टालिकामा बसेर बाँसुरी बजाउँदै थिए रोम सहर जल्दै गर्दा । महान् संगीतप्रेमी निरोको बाँसुरीवादन निरन्तर जारी थियो आफ्नो देश डढेलोका कारण ध्वस्त हुँदै गर्दा पनि । सहरबाट उठ्दै गरेका आगोका लप्काका बीच पनि बाँसुरीवादनको आनन्द कस्तो थियो होला ? आफ्नै राज्य जलाएर, त्यसको राप-तापका बीच संगीतमा मग्न हुने निरोलाई बाहेक अरू कसलाई त्यसको सही अनुभव र तथ्य ज्ञान होला ?
घर जलाएर खरानी घस्ने प्रवृत्तिकै पुनरावृत्ति हो निरोको व्यवहार । रोमका राजा निरोको यस्तो व्यवहार अचेल शासकीय प्रवृत्तिकै रूपमा देखिएको छ । हुन त रोम सहर जलाएर संगीतमा मग्न हुने निरोको उद्देश्य पनि पवित्र थियो, नयाँ सुन्दर रोम बनाउने उनको सपना पनि असुन्दर थिएन । तर, पवित्र वा सुन्दर सपना साकार पार्ने उद्देश्यले गरिएको विनाशले निरोलाई इतिहासका खलपात्र बनायो । हाम्रो युगका निरोका सपना-जपना पनि अपवित्र र असुन्दर छैनन्, किनभने उनले पनि शान्ति र संविधानको माला जपेका छन् । र त उनी संविधानसभा जल्ने सर्तमा पनि सत्ताको बाँसुरी बजाउँदै छन्, र त उनी बढ्दो असहमति, अराजकता र द्वन्द्वको रापतापका बीचमा कुर्सीको राग अलाप्दै छन् । उनी आजभन्दा दुई हजार वर्षअघिका रोमका निरोको नयाँ नेपाली अवतार बनेर देखाउँदै छन्, बहुमतीय शासनको ताण्डवनृत्य ।