स्रोत: नागरिक दैनिक
– दयानन्द बज्राचार्य
वैज्ञानिक कसलाई भन्ने? नेपालमा कति वैज्ञानिक छन्? नेपालको पहिलो वैज्ञानिक को हुन्? नेपाली वैज्ञानिकले समाजलाई के योगदान पुर्याए? र समाजमा नेपाली वैज्ञानिक किन अदृश्य छन्? सञ्चारकर्मी र सर्वसाधारणले पंक्तिकारलाई प्रायः सोध्ने गरेका प्रश्न हुन् यी।
वैज्ञानिकको सर्वमान्य परिभाषा छैन। नेपालमा विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका सबै व्यक्तिलाई वैज्ञानिक भन्ने चलन छ। तर विकसित देशमा प्रकृतिका नियमबारे मौलिक अध्ययन र अनुसन्धान गरी त्यसका रहस्य पत्ता लगाएर नयाँ ज्ञानको सिर्जना गर्ने व्यक्तिलाई वैज्ञानिक (साइन्टिस्ट) भन्ने गरिन्छ। उदाहरणका लागि हिजोआज नेपालमा लाली गुँरासलगायत कतिपय वनस्पतिको फूल फुल्ने मौसममा परिवर्तन आएको विज्ञहरू बताउँछन्। यसो हुनुको कारण मौसम परिवर्तन भएको विश्वास गरिन्छ। तर यसको ठोस प्रमाण भने छैन। कुनै वनस्पतिको फूल फुल्ने मौसममा देखिएको परिवर्तन सामान्य व्यक्तिले पनि पत्ता लगाउनसक्छ। त्यसैले त्यस प्रकारको अवलोकन गर्दैमा सही अर्थमा कोही वैज्ञानिक बन्दैन। अध्ययन र अनुसन्धान गरी प्रमाणसहित त्यसको रहस्य र सही कारण पत्ता लगाउन सक्षम व्यक्तिलाई मात्र वैज्ञानिक भन्न सकिन्छ। तसर्थ, विज्ञानमा उच्च शिक्षा हासिल गर्दैमा सबै स्वतः वैज्ञानिक बनिहाल्दैनन्। वैज्ञानिक बन्न निरन्तर अध्ययन–अनुसन्धान गर्नुपर्छ।
