स्रोत: कान्तिपुर
-घिमिरे युवराज
संकटमा परेको पन्क्षी गिद्धको संरक्षणमा सिरहाका एकजना शिक्षक लागिपरेका रहेछन् । गिद्धको बासस्थान र आहारा संकटमा छ । त्यसका लागि उनले एउटा उपाय निकालेछन् । मरेका गाईगोरु बटुलेर गिद्धलाई खुवाउने । अभियानमा केही राजनीतिक कार्यकर्ताले रोक लगाए । ती कार्यकर्ताको राष्ट्रियतासँग जोडिएको तर्क बढो बलियो थियो- ‘अमेरिकाको राष्ट्रिय पन्क्षी गिद्ध हो । अमेरिकाको राष्ट्रिय पन्क्षी गिद्धलाई गाई खुवाउने ? यो राष्ट्रघाती काम हो ।’ सोचमग्न भएँ, हामी युवाको राजनीतिक चेतना कहाँ छ ? राजनीतिक प्रशिक्षण चलाउने हाम्रा नेताहरू आफ्ना कार्यकर्तालाई के सिकाउँछन् ? यस्ता धेरै राजनीतिक अन्धविश्वास र अज्ञानता जोडिएर हामी यो बेथिति भोग्दैछौं । रंगकर्म गर्ने म उकुस-मुकुस भएर यो लेख लेख्दैछु । गिद्ध, अमेरिका, गाई र राष्ट्रियताको ‘आइरनी’ नेपाली राजनीतिक चेतनाको मुटु हो भन्ने मलाई लाग्छ । धेरै हप्तादेखि यो ‘आइरनी’ सजिलो र अप्ठ्यारो अर्थमा म गम्दो छु ।
