स्रोत: नयाँ पत्रिका
-बच्चु विक
नेपालको राष्ट्रिय सम्प्रभुता अपमानित हुने गरी भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ।
महेन्द्रनगर। भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।
मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।
स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।
तीव्र वेग, भयंकर आवाज र धुवाँको मुस्लोसहित जहाज उडेपछि सीमाक्षेत्रका नेपाली मंगलबार नै त्रसित भएका थिए । तर, नेपाली प्रशासनले कुनै प्रतिक्रिया नजनाएपछि बुधबार बिहान सुपरसोनिक फेरि नेपाली आकाशमा देखिएको थियो ।
मंगलबारजस्तै बुधबार पनि सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाश चक्कर लगाएर उत्तरी सीमातिर लागेको थियो ।
दार्चुलाका प्रहरीप्रमुख डिएसपी डिल्लीराज विष्टले पनि भारतीय जहाज सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेको बताए । ‘महाकाली नदी हुँदै जहाज उत्तरतिर उडेको हो, नदी त नागवेली छ, तर जहाज सीधा उडेकोले कहिले नेपाल त कहिले भारतको आकाशमा उडेको होला,’ डिएसपी विष्टले भने ।
उनले सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेपछि बुधबार दिउँसो भारतको धार्चुलाका प्रशासनिक तथा सुरक्षा निकायसँग जानकारी लिन खोजेको जानकारी पनि दिए । भारतीय अधिकारीले सीमाक्षेत्रको नियमित गस्ती गरेको जानकारी दिएका थिए ।
तर, सीमाक्षेत्रको गस्ती गर्दा जहाज नेपाल किन प्रवेश गर्यो भन्ने विषयमा कुनै छलफल नभएको नेपाली अधिकारीको भनाइ छ । ‘उनीहरू (भारतीय सुरक्षा अधिकारी) सँग कुरा गरेका थियौँ, नियमित पेट्रोलिङ हो भन्ने जानकारी आयो,’ डिएसपी विष्टले नयाँ पत्रिकासित भने, ‘महाकाली-महाकाली भएर उत्तरी क्षेत्रमा पेट्रोलिङ गरेको हो भनेका छन्, यो त नियमित प्रक्रिया हो भन्ने कुरा आयो ।’
दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज थानीले पनि नेपाली आकाशमा अचानक भारतीय जहाज आएको बताए । ‘भारतीय सेनाले सीमाक्षेत्रमा त्यस्तो जहाज उडाउँदैछ भन्ने हामीलाई पूर्वजानकारी थिएन,’ उनले भने, ‘जहाजले चक्कर लगाएर गयो, त्यसपछि पनि भारतीय पक्षले केही भनेको छैन ।’
के हो सुपरसोनिक ?
लडाकु जहाजमा सुपरसोनिक दुनियाँमै दु्रततम् र सबैभन्दा हलुका मानिन्छ । सुपरसोनिकमा पनि भारतले संसारकै सबैभन्दा सानो र हलुका लडाकु विमान एलसिए -लाइट कम्ब्याट एअरक्राफ्ट) बनाएको छ । भारतीय वायुसेनाले एलसिएलाई सीमा-गस्तीमा लगाएको छ ।
एलसिए सुपरसोनिक भारत आफैले बनाएको दोस्रो लडाकु विमान हो जसमा एक पाइलटका लागि मात्रै सिट छ । विमान हलुका र तीव्र मात्र होइन, प्रतिस्पर्धीलाई छक्याएर उड्न सक्ने क्षमताको मानिन्छ । सन् २००८ मा औपचारिक उडान सुरु गरेको एलसिए सन् २०१५ सम्ममा पूर्ण प्रविधियुक्त हुने भारतको अपेक्षा छ ।
भारतले पहिलो लडाकु विमान ‘हिन्दुस्तान फाइटर’ सन् १९६२ मा नै बनाएको हो । हिन्दुस्तान फाइटर (एचएफ) लाई विकसित गरेर एलसिए सुपरसोनिक जहाज बनाइएको हो । यसको तयारी सन् १९८३ मा सुरु भएको हो । तर, पोखरण परमाणु परीक्षणको प्रतिक्रियास्वरूप अमेरिकाले सैनिक सहयोगमा नाकाबन्दी लगाएपछि एलसिए निर्माण लगभग अवरुद्ध भएको थियो । तर, एलसिएको सफल परीक्षणपछि भारत डबल इन्जिनको एमसिए बनाउने तयारीमा छ ।
आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न यो विमान बनाइएको हो । त्यस्तै, लेजरको निर्देशनमा खस्ने बम पनि यो विमानले बोक्न सक्छ । यो विमानले चार हजार किलो हतियार बोक्न सक्छ ।
Leave a comment