स्रोत: कान्तिपुर
– कृष्ण आचार्य
मकैसिंग, गोरखा। अल्प संख्यक चेपाङ समुदायले तरकारीबाट आएको आम्दानीले गोबरग्याँस स्थापना गरेका छन् ।
सामुदायिक वन उपभोक्ता समितिले सरल ब्याजदरमा उपलब्ध गराएको ऋणले तरकारी खेती गरी बढेको आम्दानीले गोबरग्याँस बनाएका हुन् । समितिबाट लिएको ऋणको किस्ता तरकारीबाटै तिर्दै आएका छन् ।
मकैसिंग कोलडाँडा ३ र ४ वडाका १५ चेपाङ परिवारले यस वर्ष गोबरग्यास बनाएका हुन् । विकास निर्माण र प्रविधि विषयमा कम जानकार चेपाङका घरमा ग्यासबाट खाना पाक्न थालेपछि दंग छन् ।
सिजनअनुसारको खेतीमात्र गर्ने चेपाङले समूहको किस्ता तिर्न बेमौसमी तरकारी लगाउन थालेका छन् । ‘दाउरा खोज्ने समय आजभोलि तरकारीमा लगाएका छौं,’ स्थानीय बेलीमाय चेपाङले भनिन्, ‘त्यसबाट आएको पैसाले समूहको मासिक किस्ता तिर्छौं।
गाउँमा उत्पादित गोलभेंडा, करेला, बोडी, आलुलगायतको तरकारी खेतीबाट वन समूहको किस्ता तिर्ने गरेको बेलीले बताइन् । उत्पादित तरकारी मुग्लिङ ल्याएर बिक्री गर्छन् ।
Leave a comment