छिस्रिक्क सबतले नैं डराउने भा’छु के भो
मिलिक्क बीचबाटै म हराउने भा’छु के भो।
**
बोल्दा पोल्ने योग पर्याछ, संवेदना घायल छ
झिंजिएर बारम्बार कराउने भा’छु के भो।
**
उमेर-फेरको झेल हो कि, अनेक भाउँतोको खेल यो
घाम छँदै जे पायो त्यै बर्बराउने भा’छु के भो।
**
दुख्ने मन, डुल्ने मन, थिरमै छैन तमाशा यो
चिनजानकै सामुन्ने म लर्बराउने भा’छु के भो।
**
अनुशासन भावै छैन, खुल्लम खुल्ला धोका-धम्की
परीआए जवाफी कल, गराउने भा’छु के भो।
**
मिठो-मसिनो पर्दैन भागमा, हाल बेहालको छ
कहरले जथाभावी अह्राउने भा’छु के भो।
**
न बातले, न साथले, कहीं भईन म कसैको
निस्फिक्री एकान्तै मन पराउने भा’छु के भो।
**
निहुँ पठा’छु, गयल भा’छु, हाजिर छैन जमघटमा
गुमनामको ढड्डामा नाम भराउने भा’छु के भो।
** **
Leave a Reply