न भेऊ, न छेऊ
न बुझिने छेकछन्द, न आफन्त
केवल
अनौठो
तर
अघोर अभ्यस्त
हो त्यही
परदेश नगरीमा
धपक्क
शिरमा
ढाकाटोपी लाउने भेटें
फररर्र
झर्रो नेपाली
सास नरोकी बोल्ने भेटें
विधाता,
सन्नाटाको
एक ग्रामिण गोज्याङ्ग्रो
म पथिक
म मुसाफिर
एकान्त
दूर दोबाटोमा
संक्षिप्त बिसौनीमा
झ्वास्स
कोही यात्री भेटें
न्याश्रो मेट्ने सर-संगत भेटें
सुदूर
कहीं बिरानो शहरमा
सोह्रै आना
आफ्नो भेटें।
**
जम्काभेट मै
नीति खोजी
फ्याट्टै नाता गाँस्ने भेटें
धक नमानी
आँगनीमा
हार्दिकताले हाँस्ने भेटें
संयोग,
परदेशको पल्लो छेऊमा
मेरै लाग्ने
मान्छे भेटें।
**
घर, बैठकमा
बुद्ध भावका
शालिक राख्ने शालिन भेटें
मादल र सारङ्गीका
पारख गर्ने प्रविण भेटें
धन्य समय,
कहीं पराई बास, बस्तीमा
नेपाली गाउँको
भाउ, भाका भेटें
आफ्नै ठाउँको
गुण, गाथा भेटें।
**
दशैंमा
मालश्री धुन
घन्काउने भेटें
तिहारमा
देउसिरे
रन्काउने भेटें
लमतन्न
कहीं भिन्नै संसारमा
आफ्नै चाडपर्वको
रङ्ग, छटा भेटें
नेपाली संस्कृतीको
अनुपम
विश्व व्यापकता भेटें।
**
नजाने नि
एक दुई टुक्का
झ्याउरे गित गाउने भेटें
कविताका
मार्मिक पाउले
मनभरी छाउने भेटें
घघडान्
भिन्न विधामा
आफुखुशी रमाउने भेटें
भगवान्
कहीं अपरिचित भूगोलमा
स्वतः स्फूर्त
निख्खर नेपाली
मौलिकता भेटें।
**
बिल्कुल
नौलो ठाँउ, ठहरमा
देउडा, रोईला र ठाडो भाकाका
रञ्जना भेटें
ठाँटी, पाटी र चौतारीका
बन्दना भेटें
चिरपरिचित
ताल, बान्की
र, लहना भेटें
समग्रमा
सङ्लो
नेपाली मन भेटें
चुस्त, दुरुस्त
नेपाली पन भेटें
खाँटी
सौहार्दता भेटें
सुशिल शिष्टता भेटें
विधाता,
सन्नाटाको
एक ग्रामिण गोज्याङ्ग्रो
म पथिक
म मुसाफिर
एकान्त
दूर दोबाटोमा
संक्षिप्त बिसौनीमा
झ्वास्स
कोही यात्री भेटें
न्याश्रो मेट्ने सर-संगत भेटें
सुदूर
कहीं बिरानो शहरमा
सोह्रै आना
आफ्नो भेटें।
** **
Leave a Reply