आधी आँगन ढाकिनेगरी
दायाँ तर्फ
बाँया तर्फ
त्यो
भित्रीबारीको डिलभरी
टौवामुनीको कान्लाभरी
गमक्क
ढकमक्क
गुलाब, ढुङ्ग्री, पुतली, घण्टी-फूल
सर्वदा, भूइँचम्पा, रंग-बदल, जर्नेली फुल
पारीजात, जाई, र कामिनी फूल
प्रत्येक साल फेरिंदा
हरेक बसन्तमा
उस्तैगरी
यीनको
नशालु मनमोहकता चुमिरहन पाए
यीनको
बैंशालु अस्तित्व साक्षात्कार गरिरहन पाए।
**
घनघोर
खानी-खोलाको बन, बुंकोटपाखाको बन
ढाँडेको बन, उन्युघारीको बन
अविराम
बैखोलो, कसिनी-खोलो
मुरली-खोलो, भदुवार-खोलो
प्रत्येक नयाँ बर्ष
उसैगरी
यीनको
शान्त सुसाहट सुनिरहन पाए
यीनको
अविचलित
शालिन, भद्र उपस्थिती देखिरहन पाए
यीनको
जैविक विविधतामा जथाभावी नभए
अमूल्य
प्राकृतिक संपदामा
मानवकृत खलल नपुगे।
**
आँखाले नठम्याउञ्जेल
हराभरा
धान झुल्ने
बिरौटो-खेत, टारी-खेत, जुँडी-खेत
सबैतिर
असारे पन्ध्रको भरपुर दैनिकी
अनेकानेक
मौसमी छेक-छेकमा
विविध खेती फल्ने
खोरियाका पाटा, घरबारीका सुर्का, टारका गह्रा
रमाईलो
तर
बाह्रमासे व्यस्तता
प्रत्येक नयाँ साल
मंसिरभरी
उसैगरी
घरका पिंढी, फलैंचामा
धानका गह्रौं धोक्रा बिसाइएको देखिरहन पाए
उसैगरी
देश-परदेश भौंतारिई हिंड्नेहरुले
गुँड फर्किएर
आफ्नै माटोमा पसिना चुहाएको हेरिरहन पाए
सर्लक्क
पिता-पुर्खाका नासो
पवित्र कर्म-भूमि
सन्ततीका
सयौं वंश उर्वर रहिरहे।
**
धेरै पर
क्षितिज सम्म
छ्याङ्ग
सफा
सुन्दर देखिने निलो आकाश
माथि
गुफे-डाँडा, गौंथलेबाट
आमने-सामने जस्तो
छर्लङ्गै देखिने
सेता हिमाल
कतै गुजुमुज्ज
कतै फिंजारिएका
घरहरु
कलात्मक बस्तीहरु
कञ्चन
हरिया बन-पाखा
हरेक नव दिन
उसैगरी
आँखाको धित मरुञ्जेल
यो दुनिया
प्रदुषण-रहित देख्न पाइरहे
उसैगरी
आँत शितल होउञ्जेल
स्वच्छ हावाको निश्वास लिन पाइरहे
आम जनमानसमा
कार्बन उत्सर्जन बारे चेतना जाग्रत भइदिए
बैकल्पिक
नविकरणीय उर्जाका प्रयोग बारे
युद्धस्तरमा
समग्र पहल-कदमी अघि बढिदिए।
**
घघडान
साँस्कृतिक विविधता
अनगिन्ती
जातजाती, भाषाभाषी
परम्परागत
स्थानीय रहन-सहन
सनातन
जिवनशैलीगत
सामाजिक आवश्यकता
प्रत्येक फेरिने सालसँगै
सँधैं
उसैगरी
यीनमा
आपसी मर्यादाको माहोल घन्किइरहे
यीनमा
स-गौरव सह-अस्तित्व
सबैलाई स्वीकार्य भइरहे
दूर-दराज सम्म
आफ्नो मौलिक पहिचान फुलिरहे।
**
बृहत
संयुक्त परीवार
सखारै
खेतमा पानी पटाउन हिंडेका बुबा
दिनभरी
भान्सा, घर-धन्दामा जुटेकी आमा
एकाबिहानै
हिंजाको मेलो सक्न निस्केका दाजु
दिन-परदिन
पर्म तिर्न खटिएकी बहिनी
ठूलो
पाथी पाक्ने कसौंडीमा
खुर-मुनि धानको भात
ओहो,
हरेक नयाँ वर्ष
उसैगरी
यी
बुबा-आमा, दाजु-भाउजू
दिदी-बहिनी, भाइ-बुहारी र केटाकेटी
एकैसाथ
लहरै
पिर्का, चकटीमा बसेर
सुखको मानोमा रमाइरहेका देख्न पाइरहे
उसैगरी
ठूलो जहान
मकै-भटमासका तालमा
कहिले
गोठाला र दाइँ-बरातुका कुरामा
कहिले
औंसी-पूर्णे र ढिकी-जाँतोका कुरामा
बिन्दास
मस्तसित हराइरहेका हेर्न पाइरहे
निश्चिन्त
न्यानो
उदाहरणीय
पारिवारीक थिति चलिरहे।
**
सारा
नयाँ आउने समय
तमाम
यो बिचित्र पृथ्वीतलभरी
बसन्तका पालुवा, पिपिरा
बरोबर छुटिरहे
प्रकृतिमा
निख्खर सामञ्जस्य
अबिच्छिन्न कायम भइरहे
असारका
कर्मयोगी जुटिरहे
मंसिरको
बेफुर्सदी बयली खेलिरहे
जुगौं-जुग
सकल मानव जातीलाई
विशुद्ध प्राणवायुले स्पर्श गरिरहे
हरेक
छर-छिमेकभरी
गाउँघरभरी
बस्तीभरी
शहर-बजारभरी
आदर्श
आफ्नो पहिचान
ज्वलन्त फैलिइरहे
सौम्य
सुसंस्कृत
अनुकरणीय
पारिवारीक सौहार्दता छाईरहे
आफन्ती माया मौलाईरहे
सदा-सदा
शताब्दिऔं-शताब्दी
युगौं-युग
मान्छे
स्वार्थ हैन
मान्छे हुनुको अर्थले
मान्छे भएर
बाँचिरहे
अनन्त
अनन्त।
** **
नव वर्ष वि.सं. २०७६ का अवसरमा…..
Leave a Reply