बिगारिन कसैको
म बिगार्दिन कसैको
भदुवार खोलाको
सङ्लो, कञ्चन पानी जस्तो
म यही हुँ, यही छु
म माथि
डाहाको छिड्किनी नमार कसैले
ईर्ष्याको दुश्मनी नसाँध कसैले
खुसुक्क
मलाई रेकी नगर भो
सर्लक्क
ज्युँ का त्युँ
केवल
मैले सरक्क चाहेको
जिन्दगी, बाँच्न देऊ मलाई
ओठभरी हाँसो, हाँस्न देऊ मलाई
बेरोकतोक
अघाउञ्जेल
मेरो एकरुपी साँच्न देऊ मलाई
रङ्गीन, यो दुनियाँ आँक्न देऊ मलाई।
**
ढाँडेपाखाको
सालको नयाँ लुकुरो जस्तो
म त
सुरिलो, सोझो मान्छे
फिटिक्क
नगरेको गल्तिको
प्रायश्चित्त भोग्न सक्दिन म
बठ्याइँले जथाभावी बहुरुपी हुन सक्दिन म
धेरैले बुझेको
म यही हुँ, यही छु
मसँग
खोते थापेर कुरा नगर भो
अर्थको अनर्थ लगाएर
औडाहा नपार भो
बरु
मेरो आफ्नै घोईरो बान्कीमा
गमदारी पस्काईमा
पेटभरी
आफ्नै लय मौलाउन देऊ मलाई
स्वप्निल गहिराईमा मस्किन देऊ मलाई
अविरल
लहडको संगित बेपरवाह गुन्गुनाउन देऊ मलाई
मेरो पत्थरको निर्भयमा जरिन देऊ मलाई।
**
वचनले बिझाईन कसैलाई
म बिझाउँदिन कसैलाई
बिल्कुल
अनुशासनको पर्याय भएर
शालिन
ग्रामिण हुर्केको म
साँच्ची
म जे छु, यही छु
म यही हुँ, यही छु
अनावश्यक
मेरो नैतिकतामा
प्रश्न नगर भो
निश्कलंक मेरो अस्तित्वमा
भ्रम नछर भो
अहँ
मभित्रको मनलाई ढाँट्न सक्दिन म
क्षणिक स्वार्थलाई बिक्न सक्दिन म
त्यसर्थ
मेरो सकल परिचय
विशुद्ध
“मै” भएर हुर्किन देऊ मलाई
“सत्य” भरिएर बैंश फक्रिन देऊ मलाई
भरिपूर्ण
सुन्दर
मेरै पँधेरोको विशुद्धपनमा सुस्ताउन देऊ मलाई
मेरै गदेरोको शान्त-शोभामा बहलाउन देऊ मलाई।
**
म त
औसत जिवनयात्री
अपवादको ज्ञानेन्द्र होइन म
दैनिकीमा
कहीं पाहार, कतै छाँया
कहिले आवेग, कहिले माया
सिर्फ
मसँग खुनासिनु किन कसैले?
मूल्याङ्कनका
पेचिला टिप्पणी गर्नु किन कसैले?
म यही हुँ, यही छु
परिस्थितिले
हल्का डामिउँला म आफै त के भो?
सन्तुष्टीकै लागि सकिउँला म आफै त के भो?
रापकै नजिक
ढुन्मुनिन देऊ मलाई
मज्जाले
बिन्दास टहलिन देऊ मलाई
दाँयाबाँया मडारिन देऊ मलाई
बजारिन देऊ मलाई
लाटो सनकीमा
होस हराउन देऊ मलाई
बेपरवाह
शुन्यतामै सुखहरु चाख्न देऊ मलाई
सपनाकै संभ्रान्त भएर बाँच्न देऊ मलाई।
**
निर्णायक, यो “समय”
म
भईन भने नि सोचेको
रहिन भने नि रोजेको
बस्
अन्तर्मुखी या बैरागी
खुनी या सादगी
म
जे भएँ भैहालें
वास्तवमा
म यही हुँ, यही छु
भैगो
मेरो नाममा दाउ थापेर डिल्लगी नगर कसैले
मेरो स्वभाव साँधेर उपहास नगर कसैले
बिनसित्ती
बहुलट्ठीमा बटारिऊँ, या
रनभुल्लमा भौंतारिऊँ म
किञ्चित
आईनोवास्ता नगर भो
मान्य भए
धमक्क
एकान्तमा निस्फिक्री घोरिन देऊ मलाई
सामयिक सम्बन्धहरु गाँस्न देऊ मलाई
आवेशमा
रुखो भन, बिरसिलो भन
घमण्डी भन, एकलकाटे भन
जो जो जे जे भन
खै र
मेरो बैयक्तिक अलङ्कार
मेरो मौलिकताले
बेस्सरी
छपक्क ढाकिएर धितभरी नाच्न देऊ मलाई
मेरो रहरको जिन्दगी हाँक्न देऊ मलाई।
** **
आठ वर्षअघिको एक महत्वपूर्ण दिनका अवसरमा…..
Leave a Reply