चौबिसै घण्टा
निराशाका कुरा, पश्चातापका कुरा
बारम्बार
असन्तुष्टीका कुरा, असमञ्जसका कुरा
अबका बिसौनी
सबैमा
आत्म-सन्तुष्टी मुस्कुराउने आश
जाँगरहरु स्वत-स्फूर्त जुर्मुराउने आश!
**
हप्ताभर
कुरा काट्नमा समय
सातै दिन
अरुकै धाक हेर्नमा समय
आयन्दा,
बढ्दो जिम्मेवारीबोधको आश
अर्थपूर्ण जिन्दगीको आश!
**
बाह्र महिना
चिया पसलका सतही कुरा
तीन सय पैंसट्ठी दिन
शुन्य उपलब्धीका मतलबी कुरा
अबका दिन
एक कदम अगाडि
गहन अध्ययनशिलताको आश
विश्वसनीय समाचारहरुको आश!
**
सिको गर्ने होड
आफ्नोपन ओईलिंदै गरेको समय
युगिन संस्कारमा विचलन
एकल, स्वतन्त्र जिवनशैलीको समय
अबका
नयाँ वर्ष
ओजस्वी मौलिकता गड्गडाउने आश
अनुकरणीय संयुक्त जिवनपद्धतिको आश!
**
यो दिन सम्म
जात-जाति, अनेक भाँती, विभेद छरपष्ट
अझै सम्म
गरीब-धनी, चैन-बेचैनी, दुरी अति प्रष्ट
आउने वर्ष
हर-संभव
पवित्र सामुदायिक समानताको आश
क्रमिक
मर्यादित मानव-स्तरोन्नतिको आश!
**
चारैतिर
पहुँचवालाका परिपञ्च
यत्रतत्र
बल हुनेका हुकुमतन्त्र
प्रत्येक
नयाँ दिनहरुमा
सर्वत्र
प्रशंसनीय कानूनी शासनको आश
बहुप्रतिक्षित निमुखातन्त्रको आश!
**
टोल-टोलैजसो
विविध विचारका संघ-संस्था गठन
क्षेत्रपिच्छे
भिन्न अभिष्टका मानव-संगठन
राजनैतिक
गैर-राजनैतिक
सयथरी भेला, नानाथरी खेल
जुँगाका लडाईं, शत्रुताका भेल
आउँदा दिन
निशर्त
सुमधुर मित्रता फुल्ने आश
निर्भय दैनिकीको आश!
**
रात-बिरात
गुज्रिंदो प्राकृतिक बिपत्ति
दिन-परदिन
चुलिंदो भूमण्डलीय उष्मीकरण
पृथ्वीभरी
मौसम परीवर्तनको बृहताकार
आगामी साल
समयमै
हराभरा ऋतुहरु मुस्कुराउने आश
मनहरुमा उत्साहका बिहानी छचल्किने आश!
**
तमाम
गाउँ-छिमेकभरी, शहरभरी
देश-देशभरी, हर-भूगोलभरी
विशेष
हरेक नव-दिन
सान्दर्भिक
स्वच्छ, सह-अस्तित्वको आश
भद्र, आम-सौहार्दताको आश
गतिवान
सामयिक
सकारात्मक सोचको आश
सभ्य, समग्र प्रगतिको आश!!!
** **
नयाँ वर्ष सन् २०१८ का अवसरमा…
Leave a Reply