स्रोत: ई-कान्तिपुर
साठी वर्षअघि रेडियो नेपालमा जागिरे हुँदा पहिलो गीतको पारिश्रमिक थापेका थिए उनले जम्मा ९ रुपैयाँ । गीत गाउनेलाई ‘गाइने’ भनेर होच्याउने र नृत्य गर्ने युवतीको मगनी नै नहुने त्यो समयदेखि गीत-संगीतमा नामका लागि जतिसुकै पैसा पनि खन्याउन तयार हुने अहिलेको समय सम्मका सही साक्षी हुन्, वरिष्ठ संगीतकार रत्नबहादुर खड्गी ।
उमेरको ७५ वर्षमा हिँडिरहेका उनको सक्रियता निकै तन्नेरी महसुस हुन्छ । ‘एक्लै बस्दा सधैँ मलाई…’, ‘सिरानीले बिझायो कि…’, ‘खोलाका दुई किनार भयो…’, ‘कर्मको रेखा नमेट्दो रैछ…’, ‘तिम्रो जोबन ढल्की जाला…’ जस्ता कयौं गीतका यी संगीतस्रष्टाले केहीअघि मात्रै एकसाथ तीन एल्बम सार्वजनिक गरेका थिए भने केही समयमै लन्च गर्ने गरी अरू तीन एल्बमको अन्तिम तयारीमा जुटिरहेका छन् ।
‘यो उमेरसम्म आइपुग्दा पनि प्रेसर, सुगर, युरिक एसिड जस्ता कुनै पनि रोगको अनुभव छैन,’ हालै बागबजारस्थित घरैमा आफ्ना नयाँ चेलाचेलीसाथ भेटिएका उनले सुनाए, ‘चौध घन्टा काम गर्छु । सधैं फुर्ती महसुस हुन्छ ।’
२०१० सालमै रेडियो छिरेका, त्यसयता नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संस्थापन टिममा काम गरेका, सांगीतिक प्रस्तुतिका लागि एसियादेखि युरोपका दर्जनौं मुलुक चहारेका खड्गीको दिनचर्यामा खासै फरकपन आएको छैन । ‘बिहान सातै बजे -जाडोको समय) उठिसक्छु,’ हार्मोनियममा औँला दौडाउन एकै छिन रोक्दै उनले भने, ‘सफासुग्घर भएर सरस्वतीको पूजा गर्छु र एकैछिन हार्मोनियम चलाउँछु । अरू जस्तो मर्निङ वाक या योग गर्ने मेरो बानी नै बसेन । मेरो योग भनेकै रियाज हो ।’
रमाइलो के भने, सरस्वतीको पूजाअघि उनी आफैं कोठा पुछपाछ गर्छन्, कुचो लाउँछन् । पूजापछि एकै छिनको आराम अनि ब्रेकफास्ट । ‘उही पुरी तरकारी,’ उनले भने, ‘मेरो जिब्रो खासै स्वादे छैन । घरमा जे पाक्छ, त्यही ।’
यसपछि उनी गीतको कम्पोजिसनतिर लाग्छन् । हरेक दिन कोही न कोही आएर गीत छाडेर गएका हुन्छन्, तिनका शब्दमा ज्यान भर्ने काम सुरु हुन्छ । ‘मेरो मुड अलिकति फास्ट नै छ भन्छन् अरूले पनि,’ उनले भने, ‘कहिलेकाहीं त रचना छोडेर गीतकार घर नपुग्दै यता कम्पोज तयार भइसकेको हुन्छ । फोनमा सुनाउँछु, छक्क पो पर्छन् ।’
कुनै कार्यक्रममा जानु छ भने खड्गी खाना खाएपछि निस्कन्छन् । खानामा दाल नभई हुन्न । सागपात, अचार त छँदै छ । मासुको हकमा भने अलिकति उमेर छेकवार बन्न थालेको छ अचेल । दाँत एउटा मात्रै बचेको छ, त्यसैले मासुको चाहिँ सुपमा बढी बल गर्छन् । उनलाई निकै मन पर्ने परिकारमध्ये एउटा हो- हलुवा । दिउँसोको खाजाचाहिँ बिस्कुट र दूध ।
सन् १९८२ मा बेलायतका युवराज चाल्र्सको निम्तोमा कन्सर्ट गर्न लन्डन पुगेका र बेलायत सरकारका तर्फबाट सम्मान समेत थाप्न भ्याएका उनका धेरैजसो समकक्षी अहिले छैनन् । उनी भने दिउँसो तीन बजेको हुँदैन, आफ्ना विद्यार्थीलाई सिकाउन तम्तयार भएर हार्मोनियम अघिल्तिर बसिसकेका हुन्छन् बागबजार स्थित आफ्नै घरको चौथो तलामा ।
‘तीन बजेदेखि सात बजेसम्म विद्यार्थीहरूसँग व्यस्त हुन्छु,’ शास्त्रीय संगीतका यी ज्ञाताले भने, ‘हरेक एकएक घन्टामा ग्रुप फेरिन्छ । अलिक बढी नै व्यस्त हुनुपरेको कारण बिहानको समयचाहिँ कटौती गरेको छु । त्यो समय आराम र सिर्जनामा बढी रमाउँछु ।’
खड्गीसँग कुराकानीका क्रममा भेटिएकी गायिका रोश्ना राईले उनको सिकाउने शैली अरूको भन्दा निकै भिन्न रहेको दाबी गरिन् । ‘अरू सीधै फर्मुलामा पस्छन्,’ दोस्रो एल्बमको तयारी गरिरहेकी राईले भनिन्, ‘उहाँचाहिँ काम र फर्मुला दुवै मिसाएर एकसाथ अघि बढ्नुहुन्छ । सिक्नेहरूका लागि यो निकै ठूलो मौका हो जस्तो लाग्छ । यही कारण पनि होला, सधैं यहाँ भीडभाड पाउँछु ।’
जतिसुकै भीड भए पनि साँझ सात बजेपछि रत्नबहादुर ब्रेक लिन्छन् । यसो बाहिरतिर टहल्न निस्किन्छन् । साँझ खाना खाने बानी छैन । दुध र कर्नफ्लेक्स लिएपछि साँझ नौ बजेतिर सुत्छन् । टीभी हेर्ने मुड चले दक्षिण भारतीय फिल्म आउने च्यानल हेर्छन्, प्रायः । ‘हार्मोनियम रेट्न थालेँ भनेचाहिँ राति बार्ह बज्छ,’ उनले भने ।
कुनै समय उनी ‘चेन स्मोकर’ थिए । आआफ्ना ढंगले व्यवस्थित भइसकेका एक छोरा दुई छोरीकी यी अभिभावक अचेल धूमपानदेखि टाढै बस्छन् । ‘रक्सीमा पनि रेकर्डिङ सकेको उपलक्ष्यमा साथीभाइले कर गरे भने एक बोतल बियरसम्म पिउने गरेको छु,’ उनले भने, ‘यसभन्दा बढी मेरो मात्रा छैन ।’
राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका निकै सम्मान र पुरस्कार पाइसकेका खड्गी नेपाली आधुनिक संगीतमा च्याउसरी आइरहेका एल्बमको ‘मात्रा’ देखेर निकै चिन्तित हुने गर्छन् । ‘संगीत बुझ्नु न सुझ्नु, त्यसै एल्बम निकालिरहेका छन्।’ उनले भने, ‘अहिले त साधना हैन, पैसा भए हुन्छ । पैसा पनि कतिसम्म मनपरी भने, फिल्मको गीत गर्नुपर्यो भने बजारमा अहिले रेट नै डबल रे । काम उही, तर पैसाचाहिँ कसरी डबल ? सायद नेपाली फिल्म टाट पल्टिनुमा यो पनि सानो कारण होला ।’
रेडियो नेपालबाट वरिष्ठ संगीतकारको उपाधि पाएका यिनले ‘कुनै समय मिडियामा जगजगी हुने गीतको आयु एकाध वर्ष मात्रै हुने’ दाबी गरे; भने, ‘सिर्जना भनेको त जुगजुगको हुनुपर्छ, तीन-चार महिना एफएममा चर्चा चल्दैमा सेलिब्रेटी होइँदैन ।’
२०७१ मंसिर १२ गते शुक्रवार।
Leave a Reply