-गोमा जि.सी. (थापा)
सधैं जस्तो यो बर्ष पनि बडा दशैं फेरि नेपालीको घर-आँगनमा भित्रिंदैछ। आफ्नो जन्मथलोबाट हजारौं माईल टाढा भए पनि मेरो मन हिंजोआज त्यही गाउँ ठाउँमा नैं बरोबर टहलिन पुगिराखे जस्तो मलाई महसुस भैराखेको छ। प्रत्येक पल तम्घास, छल्दिपना, राङ्दल, चौरासी, सिलादी, सिमाल्टारी, नमता, मैदान हुँदै देउराली चढ्न शुरु गरिरहे झैं लाग्छ मेरा मन-तरङगहरु। यसरी, तिनै अतितका अनगिन्ति यादहरुले एकाएक कताकता मुटुभित्र चस्काइरहे झैं लागिरहेछ अचेल। हुन त यहाँ पनि सम्भव भए सम्म वरीपरीका सबै नेपालीहरु एकै ठाउँमा जम्मा भएर चाडपर्बहरु रमझमका साथ नमनाउने गरिएका होईनन् तैपनि भौतिक सुबिधाले भरिपूर्ण ठाँउ मात्र सबै कुरा कहाँ हो रहेछ र। त्यो बाल्यकाल, गाउँ, पाखा, छहरा, पहरा, सबभन्दा प्यारो बनेर उभिंदा रहेछन् समयका विविध घुम्तिहरुमा।
मेरो प्यारो ठाउँ, मर्भुङ्ग, गुल्मीको आफ्नै खालको त्यो दशैं शायद त्यस ठाउँ वरपर जन्मी हुर्कने जो कसैलाई पनि बिर्सन गार्हो पर्छ। कटुवालको बाटो खन्ने सूचना सँगै शुरु हुने दसैं अनि कालरात्रिको रमाइलो रात को त्यो क्षण बयान गरिसाध्य छैन। अस्टमीको त्यो दिन, जुन दिन भोकै बसेर सुन या चाँदीका ध्वजा चढायो भने आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वासले सबैलाई खड्ग देवीको शरणमा पुर्याउँछ, त्यो निकै अविस्मरणीय छ। नवमीको दिन कोटमा लाग्ने त्यो विशाल मेला हेर्न उकाली, ओराली, भिरपाखा नभनेर टाढा टाढा देखि आउने मानिसको घुईंचोको त बर्णन गरिसक्नु छैन। त्यो क्षणलाई वास्तवमा बर्षौंदेखि नभेटेका साथि-सङ्गी र आफन्त भेट्ने अबसरका रुपमा उल्लेख गर्दा अझै उपयुक्त हुनेछ।
जे होस्, हिंजोआज लगभग अधिकांश ठाउँमा उपलब्ध आधुनिक आमसञ्चार प्रविधिलाई उपयोग गर्दै सामाजिक सञ्जालमा भित्र्याइएका तस्विरहरुको माध्यमबाट मनलाई रमाईलो अनुभुति दिलाउने हरदम कसरत गरिएकै छ।
यहाँहरु सबैमा विजया दशमी २०७१ को हार्दिक मंगलमय शुभ-कामना!
Leave a Reply