आफुसक्दो
दु:खजिलो गरेर दुई छाक चलायो
भरथेगले एकसरो लगायो
गर्जो टार्यो,
लोक त
ईर्ष्याले भुतुक्क हुन्छ
यसले पनि गरी खायो भन्छ
र, डाहाले फन्फनिन्छ दुनिया
अकारण
मनकै आगोले रन्थनिन्छ दुनिया।
**
पारस्पारिक सद्भाव फुलाउन खोज्यो
आफ्नै ठानेर सघायो
मन-मुटु काटेर पँजायो
सर्वस्व लगायो,
आफ्ना त
स्वार्थले अघि सरिस् भन्छ
मनमौजी आफै गरिस् भन्छ
र, उल्टै अपजसको खोल ओढाउन तम्सिन्छ दुनिया
बेजोड रसिलो सम्बन्धलाई
खण्डहर तुल्याउन धम्मरधुस लगाउँछ दुनिया।
**
अन्यायलाई जगल्ट्याउन खोज्यो
मनका आँखाले साँचो जे देख्यो
त्यही बोल्यो
भएको खोल्यो,
यो सांसारिक भिड त
जान्ने भईस् भन्छ
सत्यलाई हाँक दिन्छ
र, कालो अरिंगाल झैं खनिन्छ दुनिया
भरसक हुलिया बदलेर
बोल्नै पर्ने ठाउँबाट निमेसभरमै गायब हुन्छ दुनिया।
**
विशुद्ध मन फुकायो
जनहितको वकालत गर्यो
सकुञ्जेल
पौरखी हातले रित्तिएको भर्यो,
जगत त
कर्के नजरले हेर्छ अघि सर्दा
सक्ने भए दोष, खोटले रङ्गाउँछ पर्दा
र, ‘श्रेय’ हत्याउन मरिहत्ते गर्छ दुनिया
अरुको प्रशंसा गरेर
एक चिम्टी समय खेर फाल्ने धृष्ठता गर्दैन दुनिया।
**
कानूनको राज सम्झेर
आधारभूत अधिकार खोज्दा
दण्डहीनता विरुद्ध बोल्दा
सचेत नागरिकको कर्तव्य निभाउँदा,
देश हाँक्ने ठेकेदार त
पाईला-पाईलाको नालीबेली राख्छ
निम्सरालाई धतुङ्गो भन्ठान्छ
र, कानून हातमा लिएर वाक-स्वतन्त्रताकै धज्जी उडाउँछ दुनिया
शरम पचाएर
आफु जस्तैलाई आतंकित पार्न अघि सर्छ निछट्टो दुनिया।
**
विचित्र संसार, विविध भोगाई
नियतिको लगामभित्र
कमजोर भएर काँप्छ कोही
निर्धो भएरै बाँच्छ कोही
कठै!
देख्दादेख्दै
मतलबी मान्छे त
फिटिक्क आईनो-वास्तै गर्दैन
सहानुभूतिको एक शब्द फ्याँक्दैन
अरुले बाँच्नु पर्ने देख्दैन
र, धनको बुई चढेर ढोंगी हाँसो फट्कार्छ दुनिया
अहँ
मान्छे हुनाको एक मुठ्ठी दायित्व देख्दैन दुनिया।
**
आफु भलो, जगत भलो
समयानुकूल
अनुभवको अनौठा सुनायो
प्रगतिका सत्-शुत्र सुझायो
जानेको बुझायो,
यो मानवसागर त
छोटो बढ्यो भन्छ, कुर्लन्छ
मलाई सिकायो भन्छ, डुक्रन्छ
र, दरिद्र दिमागले केवल नैतिकताको उपहास उग्राउँछ दुनिया
बन्धुत्व बढाउँदा
त्यसैलाई “दिल्लगी” को विषय पो बनाउँछ दुनिया।
**
जिम्मेवारीबोधले ओतप्रोत
स्व-निर्णयमै
जगजाहेर
बृहत्तर हितलाई अँगाल्छ कोही
निश्पक्ष कर्तव्य सँगाल्छ कोही
स्वत:स्फूर्त
कर्तव्यबोध प्रस्फुटित हुँदा
संसार त
सङ्लोलाई शंकाले डाम्न खोज्छ
शिष्टलाई कुनियतले छाम्न खोज्छ
र, आपसी विश्वासको धरोहर भत्काउन खोज्छ दुनिया
आफन्त-पराई चिन्नै खोज्दैन
बरु, सुनौलो एकताभित्र शितयुद्ध चर्काउन खोज्छ दुनिया।
**
त्यसैले,
भा’को कुरो
ए,
नैसर्गिक हककै लागि आवाज उठाउन
धक मान्ने लाटासुधाहरु हो,
मनभित्रका कुरा पोख्न
दकस मान्ने निमुखाहरु हो,
सजिलो नआँक
भिरमा फुलेको सुन्दर फूल हो दुनिया,
सरक्क
सित्तैमा लिनु भए, लहसिन्छ साईनो जुराउँदै
र, टन्न ढाडिएपछि
स्यालले दच्काएका कुखुरा जस्तो
घोसे मुन्टो लगाएर दाँयाबाँया हेर्दै नहेरी सुइँकुच्चा ठोक्छ यो ललिते दुनिया
एकलकाटे
आफु झरिझुत्त
र, अरुलाई बुच्चै देख्न हुर्तुराउँछ दुनिया
भने जस्तो नभए
पाँडे-गालीकै धरातलमा उत्रन साईत पर्खंदैन दुनिया।
**
निस्लाम दिनभरी काममा जोतिएर
परिवार धान्न अभिशप्त श्रमजीवीहरु हो,
सित्तैमा अरुको सुको नलिने
सीमित स्वाभिमानीहरु हो,
समयमै बुझे राम्रो,
खरोखास
आफु सँधैं राजसी खान्कीको अपेक्षा राख्छ
र, अरुले सिरम्ला मुकुर्क्याएर सुतोस्
या सुकेको सागको झोल पिएर सास धानोस्, खायस गर्दैन दुनिया।
आफु फटाइँ बाँच्छ
र, अरुको विशुद्ध कमाई देखिसहँदैन दुनिया।
**
प्रत्येक काममा हात हाल्नु अघि
पाप-धर्म ख्याल गर्न बानी परेका गमदारीहरु हो,
एकाध कडा बोलीका ठ्याक्कै पछाडी
शिष्टाचारका छायाँ देखिहाल्नेहरु हो,
सतर्क हुन सिके राम्रो,
दिनदहाडै
आफु मनलागी गरिहिंड्छ
र, अरुलाई अनुशासनका “फर्मूला” घोकाउन पछि पर्दैन दुनिया
आफु मनभरी पाप हुर्काउँछ
र, अरुलाई “बदमास” को संज्ञाले औंलो ठड्याउन समय कुर्दैन दुनिया।
**
अरुलाई कहिल्यै
भनी-बिराम सम्म नगर्ने सोझाहरु हो,
प्रत्येक कामको समापनपछी
गल्ति भो कि भनेर रुजु गर्ने भलादमीहरु हो,
सन्देह राख्न जाने राम्रो,
खुसुक्क
मायाको नाममा जाल बिछ्याउँछ
अनि, धित मर्ने गरी स्वार्थ घिचेर बैगुन डकार्छ दुनिया
पाङ्दुरे नाताको आवरणभित्र,
आफु, स्वार्थ ग्वाम्लङ्ग ओढेर जिउँछ
र, अरुको संवेदना बुझ्ने कष्ट गर्दैन दुनिया।
**
अत्याचारका सामुन्ने
खरो उत्रिहाल्ने सज्जनहरु हो,
पूर्वाग्रहीलाई पाता फर्काउन
साहास उराल्ने दोष-द्रष्टाहरु हो,
ख्याल गरिराखे राम्रो,
जानाजान
आफु सिमाना मिच्छ
र, सँधियारलाई खबरदार भन्न पछी पर्दैन दुनिया
सरासर
आफु, अत्याचारलाई काखी च्यापेर जिउँछ
र, अरुको निश्पक्षता पचाउने दुश्साहस गर्दैन दुनिया।
**
पुगिसरी आए
साथिले साथ भन्दैन
दाजुभाइले एउटै आँत भन्दैन
खुरुक्क
लिनु भए फर्किन्छ
दिनु भए तर्किन्छ
यो मानव-जमात
यो जञ्जाल
बडा गजब
हास्यरसले भरिपूर्ण रङ्गमञ्च जस्तो
रहस्यै रहस्यले ढाकिएको कहानी जस्तो
सांसारिक यथार्थ
बखान गरेर गरिनसक्नुको छ यो दुनिया।
**
चुरो कुरो,
कतै बलले गर्जिंदोरहेछ दुनिया
कतै छल भरी छचल्किंदोरहेछ दुनिया
कहीं कतै
छिटपुट अपवाद बाहेक
निभेको बाल्न खोज्दोरहेनछ दुनिया
फाटेको टाल्न तम्सिंदोरहेनछ दुनिया
स्पष्ट
वास्तविकताको साक्षात्कार गर्न
अघि सर्दोरहेनछ दुनिया
बरु
आफु मात्रै बौद्धिक
अनि, सारालाई मूर्ख र समस्याका खलियो भन्ठान्दोरहेछ दुनिया
उदार आत्माले
न्यानो सौहार्दता साँट्ने आँट गर्दोरहेनछ
र, मनभरी ईर्ष्या गबाएर अशान्ति बाँच्न अभ्यस्त हुँदोरहेछ दुनिया
दुनियालाई
आफ्नो वशमा नचाउन चाहाँदोरहेछ दुनिया
साक्षात
कोही किन चाल पाओस्
विना धामा, विना साधना
कुटिल
हैकमवादी
एकांकी बहुलठ्ठी कोरल्दै
गन्जागोल ओढेर
कता ढुन्मुनिन्छ
यो शक्तिपूजक
बिल्कुल स्वार्थी
निष्ठुरी, घामड दुनिया
युगौं युग सम्म।।
** **
Leave a Reply