स्रोत: नागरिक दैनिक
-सुरेन्द्र पौडेल
‘प्रधानमन्त्रीज्यू, शासक वर्ग र सर्वसाधारणले विज्ञान–प्रविधिको महत्त्व नबुझेसम्म विकासले गति लिँदैन।’ प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षको एक कुनाबाट आवाज आयो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आवाज आएतिर टाउको मोडे। पातलो ज्यानमा सेतो सर्ट र कोट, अनि सेतै चस्मा लगाएका अग्ला कदका एक व्यक्ति भन्दै थिए, ‘द्रुत गतिमा देशको विकास गर्ने हो भने सबभन्दा पहिला विज्ञान–प्रविधिसम्बन्धी ज्ञान शासक वर्ग र सर्वसाधारणसमक्ष पुर्याउनुपर्छ।’
‘देशको विकास कसरी गर्न सकिएला?’ प्रधानमन्त्रीको यस्तो जिज्ञासामा जवाफ दिन अघि सर्ने ती अग्ला कदका दुब्ला व्यक्ति थिए, प्राध्यापक दयानन्द बज्राचार्य। त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का पूर्वउपकुलपति।
राष्ट्रको विकासमा विज्ञान तथा प्रविधि र वैज्ञानिकको भूमिकामाथि छलफल गर्न भट्टराईले ठिक एक वर्षअघि देशका चिनेजानेका वैज्ञानिकलाई बालुवाटार डाकेका थिए। विज्ञान तथा प्रविधिको प्रवर्द्धन कसरी गर्ने भन्ने योजना बज्राचार्यको दिमागमा पहिल्यैदेखि थियो। ‘हरेक दिनजस्तो हामी कुनै न कुनै दिवस मनाउँछौं, तर देश विकासमा महत्त्वपूर्ण योगदान दिने विज्ञान तथा प्रविधि दिवस मनाउँदैनौं,’ उनले भने, ‘कुनै एक दिनलाई राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउनुपर्छ।’
बज्राचार्यले उतिन्खेरै २०६९ असोज २४ लाई राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउन प्रस्ताव गरे। त्यसको केही साता नबित्दै सरकारले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने घोषणा गर्यो।
विज्ञान दिवसका यी प्रस्तावक र विज्ञान तथा प्रविधिका अभियन्ता बज्राचार्यको ज्ञान बाँड्ने यात्रामा पूर्णविराम लागेको छ। श्वासप्रश्वाससम्बन्धी जटिल खालको ‘ब्रोङकेलाज्मा’ रोगबाट पीडित बज्राचार्यको ६८ वर्षको उमेरमा सोमबार निधन भयो।
गएको असोज १ गते पहिलो विज्ञान दिवसको अवसर पारेर उनले आफ्नो नवौं पुस्तक ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’ विमोचनसमेत गरेका थिए। त्यही नवौं पुस्तक उनको अन्तिम बन्न पुग्यो।
फोक्सोसम्बन्धी रोगका कारण मस्तिष्क वा मुटुमा आकस्मिक रूपले रक्तसञ्चार बन्द भई उनको निधन भएको हो। चाबहिलस्थित ओम अस्पताल लग्दालग्दै उनको मृत्यु भइसकेको थियो। दान गरेका कारण बज्राचार्यका आँखा तिलगंगा आँखा अस्पतालका चिकित्सकले निकालेका छन्। सोमबारै शोभा भगवतीमा उनको अन्त्येष्टि गरिएको छ। बज्राचार्यका श्रीमती, एक छोरा र एक छोरी छन्।
‘नेपालको विज्ञान तथा प्रविधिको विकासमा उहाँको योगदान उल्लेखनीय छ,’ वनस्पतिविद तीर्थबहादुर श्रेष्ठले नागरिकसँग भने, ‘विज्ञानलाई नेपालको समष्टिगत विकासमा प्रोजेक्सन गर्ने काम उहाँले गर्नुभयो।’
त्रिभुवन विश्वविद्यालयमा ४२ वर्ष बिताउँदा बज्राचार्यले बुझेका थिए– विज्ञान तथा प्रविधि नै विकास र प्रगतिको पर्याय हो। नास्टमा दुई कार्यकाल गरी आठ वर्ष बिताउँदा उनले यो पनि नजिकबाट बुझ्न पाए, सरकारलाई विज्ञान तथा प्रविधिसँग सरोकारै छैन। त्यही भएर ६ वर्षअघि त्रिविबाट अवकाश लिँदा उनले संकल्प गरेका थिए, ‘बाँकी समय विज्ञान तथा प्रविधिको प्रवर्द्धनमै बिताउँछु।’
लगत्तै उनले विभिन्न पत्रपत्रिकामा लेख लेख्न थाले। यसबीच ‘अँध्यारोमा एक काँटी सलाई’, ‘वैज्ञानिक गोरेटोमा’ लगायत ९ वटा पुस्तक प्रकाशन गरे। उनले नागरिक दैनिकमा स्थापनाकालदेखि विज्ञान तथा प्रविधिसम्बन्धी स्तम्भ लेख्दै आएका थिए।
२००२ सालमा काठमाडौंको मरु टोलमा जन्मेका बज्राचार्य २१ वर्षको उमेरमा एमएस्सीको रिजल्ट आएको १५ दिनमै त्रिविको वनस्पतिशास्त्र विभागमा उपप्राध्यापक भएका थिए। कम उमेरमै उपप्राध्यापक हुने रेकर्ड उनकै नाममा छ।
सन् १९६५ बाट नेपालमा एमएस्सी पढाइ सुरु गरिएको थियो। वनस्पतिशास्त्र अन्तर्गत प्लान्ट फिजियोलोजी (वनस्पति शरीर विज्ञान) विषय एमएस्सी दोस्रो वर्षमा राखियो। त्यहाँ पढाउन एमएस्सी पहिलो डिभिजनमा पास गरेको हुनुपर्थ्यो। शरीर विज्ञान पढाउन नेपालभरिबाट सबै मापदण्ड मिल्ने बज्राचार्य एकमात्र व्यक्ति भेटिएका थिए। सात महिनापछि उनी उपप्राध्यापकमा स्थायी भए।
त्यतिबेला टाइम्स अफ इन्डिया, स्टेटमेनजस्ता प्रमुख भारतीय अखबारमा प्राध्यापक, उपप्राध्यापकका लागि विज्ञापन गरिन्थ्यो। यसो गर्नुको मुख्य कारण नेपालमा दक्ष जनशक्तिको अभाव नै हो। त्रिविमा आवश्यक पदपूर्तिका लागि अन्तर्वार्ता लिन भारतबाट नामी प्राध्यापकहरू आउँथे। यस्तो कठिन परीक्षाबीच विज्ञान संकायमा एकसाथ तीनजना शिक्षक स्थायी हुँदा उनी एक थिए।
पढ्ने र पढाउने कलाको ज्ञान गोरखपुरमा एमएस्सी पढ्दा प्राप्त गरेको उनी बताउँथे। गोरखपुरमा विश्वविद्यालयको पूर्वाधार राम्रो थिएन तर प्राध्यापक असाध्यै राम्रा थिए। पढाउने शैली उच्चस्तरको। उनले त्यहीँ जाने– मन्दिरको भवनभन्दा मन्दिरभित्रको देवताको महत्त्व बढी हुन्छ। स्तरीय पुस्तक पढ्ने र पढ्न सिकाउने बानी त्यहीँबाट डोरिएर आयो।
उनको पढाउने शैलीको त विद्यार्थीहरू तारिफ गरेर थाक्दैनन्।
‘अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन, तैपनि उहाँले पढाउन आउँदा चक र डस्टर प्रयोग गर्नुभएन,’ बज्राचार्यका विद्यार्थी र सहकर्मीसमेत भएका नास्टका प्राज्ञ तथा त्रिवि वातावरण विभागका प्राध्यापक दिनेश भुजुले भने, ‘उहाँ त्यो समयमा पनि ओभरहेड प्रोजेक्टर प्रयोग गरी विद्यार्थीलाई पढाउनु हुन्थ्यो।’
भुजुका अनुसार उनले कहिल्यै कक्षामा नोट लेखाएनन्। ‘नोट लेखाउने कुराको कडा विरोधी हुनुहुन्थ्यो,’ उनले भने।
सन् १९६९ मा तत्कालीन पश्चिम जर्मनीले उच्च शिक्षाका लागि ‘ड्याड स्कलरसिप’ खोल्यो। स्कलरसिपका लागि आवेदन दिन न्यूनतम प्रावधान थियो– विश्वद्यिालय पढाएको, एमएस्सी पहिलो डिभिजनमा पास। त्यतिबेला नेपालभरिमा बज्राचार्य मात्र त्यस्ता एक व्यक्ति थिए, जसले एमएस्सी वनस्पतिशास्त्र पहिलो डिभिजनमा पास गरेका थिए।
त्यसपछि उनी युरोपतिर लागे।
बोन विश्वविद्यालय अध्ययन क्रममा उनी बिरामी परी लामो समय थलिए। ठूलो अप्रेसन र आरामपछि उनी अध्ययनमा फर्कन त सके, तर बोनमा होइन फ्राइबुर्ग विश्वविद्यालयमा। फ्राइबुर्ग १५ औं शताब्दीमा स्थापना भएको विश्वविद्यालय थियो, जहाँ संसारभरका वैज्ञानिक आएर लेक्चर दिन्थे। नोबेल विजेता वैज्ञानिकका कुरा पनि सुन्न पाइन्थ्यो।
यस्तायस्तै अनुभव र सिकाइबाट खारिँदै सन् १९७१ मा उनले जर्मनीमा मास्टर्स सके। अध्ययन गर्ने उनको प्यास भने अझै मेटिएको थिएन। उनले त्यहीँ प्राध्यापक पिटर शोप्फरअन्तर्गत प्लान्ट फिजियोलोजी विषयमा विद्यावारिधिको शोधकार्य थाले। शोधको विषय थियो, ‘वनस्पतिको विकासमा प्रकाशको प्रभाव’। उनको यही शोधले कैयौं वर्षदेखि स्थापित सिद्धान्तलाई गलत साबित गरिदियो। प्रकाशले क्लोरोप्लास्ट मात्र होइन, कोषभित्रका अन्य अंगहरूको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ भनी प्रतिपादन गरेको उनकै शोधले हो। उनले सन् १९७४ मा विद्यावारिधि सके।
सन् १९७५ मा नेपाल फर्कंदा वनस्पतिशास्त्र विभागको छुट्टै भवन बनिसकेको थियो। उनी विद्यार्थीलाई अनुसन्धान गराउन थाले। नेपालको जंगलमा पाइने ऐँसेलु, पैंयु, लब्सी, काफलजस्ता खानयोग्य फलफूलमा पाइने पौष्टिक तत्त्वबारे पहिलोपल्ट अध्ययन गरियो। उनी विस्तारै अध्यापनमा व्यस्त हुन थाले। यहाँ गरेका खोजहरू अन्तर्राष्ट्रिय जर्नलमा छपाए। त्यसबाट पनि उनको ख्याति बढ्दै गयो।
सन् १९७७ मा सहप्राध्यापक र प्राध्यापकको विज्ञापन भयो। सहप्राध्यापक हुन विद्यावारिधि र ८ वर्ष अध्यापन र प्राध्यापकका लागि विद्यावारिधि र १० वर्ष अध्यापनको अनुभव चाहिन्थ्यो। उनले दुवै पदमा आवेदन भरे। अन्तर्वार्ता लिन भारतबाट ठूला वैज्ञानिक बोलाइएको थियो। उनी अन्तर्वार्ताका लागि कक्षामा प्रवेश गर्नेबित्तिकै अन्तर्वार्ता लिनेले भने, ‘तिम्रो लेख त मैले पढेको छु।’
त्यो वर्ष सहप्राध्यापक र प्राध्यापक पदमा एकजनाले मात्र नाम निकाले। ती थिए– दयानन्द बज्राचार्य। त्यतिबेला उनको उमेर ३१ वर्ष मात्र थियो।
यो खबरले विश्वविद्यालयमा हलचलै मच्चियो। उनका सिनियर त कुरै छाडौं, गुरुहरू नै प्राध्यापक भएका थिएनन्। कम उमेरमा प्राध्यापक हुने त्रिविको सूचीमा उनी पहिलो नम्बरमा पर्छन्। यो रेकर्ड अझै कायम छ।
बज्राचार्यले त्रिविमा ३५ वर्ष प्राध्यापक भएर बिताए। यो रेकर्ड पनि कसैले तोड्न सकेको छैन। सन् १९७८ मा उनी वनस्पतिशास्त्र विभाग प्रमुख भए। कम उमेरमा विभागीय प्रमुख हुने रेकर्ड पनि उनकै नाममा रह्यो। उनी विभिन्न समय गरेर १३ वर्ष विभागीय प्रमुख भए।
सन् १९८२ मा फेरि जर्मन गए– पोस्ट डक्टर्स रिसर्चका लागि। बायोलोजी विषयमा यो अवसर पाउने उनी पहिलो थिए। बीस महिना उनले फाइमब्रुगमा बिताए। सन् १९९३ मा नेपाल फर्केर फेरि विभागीय प्रमुखको जिम्मेवारी सम्हाले। सन् १९८७ मा उनी विज्ञान संकायका डिन भए। त्यसपछि रेक्टर भए। रेक्टर हुँदा उनले दसौं वर्ष बस्न नसकेको सबै विषय समितिको बैठक बसालेर पाठ्यक्रम परिवर्तन गर्न सफल भए।
२०४६ सालमा जनआन्दोलन चर्किएपछि उनले रेक्टर पदबाट राजीनामा दिए। आन्दोलन बेला त्रिविबाट राजीनामा दिने उनी पहिलो पदाधिकारी थिए। सन् १९९४ मा उनी विभागीय प्रमुख भएर फेरि वनस्पतिशास्त्र विभाग छिरे।
सन् १९९८ मा उनी तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) हालको नास्टमा उपकुलपति पदमा नियुक्त भए। उनले दुई कार्यकाल त्यहाँ बिताए। त्रिविबाट उनलाई त्यहाँ काजमा लगिएको थियो।
नास्टमा प्रवेश गर्नेबित्तिकै उनले १६ वर्षदेखिको कर्मचारीको ‘स्थायी’ समस्या समाधान गरे। नास्टको खुमलटार (अहिले भवन रहेको स्थान) मा १ सय २० रोपनी जग्गा थियो। जसमध्ये १ सय ११ रोपनी अर्थ मन्त्रालयले लगिसकेको थियो। उनले अर्थले लगेको जग्गा फर्काएर नास्टको जग्गा ८० रोपनी बनाए। त्यहीँ नास्टको नयाँ भवन बनाउन सफल भए।
सेवाको अन्तिम १५ महिनाअगावै २०६४ सालमा प्राध्यापन पेशाबाट बिट मारेका थिए बज्राचार्यले। विद्यार्थीहरूमा बढ्दो अराजकताका कारण अवकाश लिएको उनले बताएका थिए। क्याम्पसमा सधैं भाषणबाजी, तालाबन्दी, क्याम्पस प्रमुख मरणासन्न हुनेगरी विद्यार्थीबाट कुटिने, प्राध्यापकलाई कालोमोसो दलिने – अखबारमा देखिने यस्ता शीर्षक पढ्दा उनलाई अवकाश लिएर ठिकै गरेछु भन्ने लागेको थियो त्यतिखेर।
‘त्रिविमा जबसम्म सुधार आउँदैन तबसम्म देश बन्दैन। देश बनाउने विश्वविद्यालयले हो, नैतिकवान समाज बनाउने काम विश्वविद्यालयले गर्छ। हामीसँग सबै छ तर दक्ष जनशक्ति छैन। देशका लागि दक्ष जनशक्ति विश्विद्यालयले उत्पादन गर्छ,’ चार वर्षअघि बज्राचार्यले भनेका थिए।
काठमाडौं चुनदेवीस्थित आफ्नै निवासमा प्राध्यापन पेशालाई विदाइ गरेपछिको अनुभव साट्दै उनले यस संवाददातासँग भनेका थिए, ‘यस्तो आनन्द आयो। पहिलोपटक यस्तो अनुभव भयो। पहिला जीवन दौड्या दौड्या गर्ने ननस्टप एक्सप्रेस थियो। अहिले ब्रेक लागेको छ।’
त्यसपछि पनि उनको एक्सप्रेस गाडी रोकिएन। उनी पढिरहन्थे। लेखिरहन्थे। सिकिरहन्थे। सिकाइरहन्थे। विज्ञान तथा प्रविधिका पेचिला र कठिन विषयलाई ‘आमाले बुझ्नसक्ने भाषामा’ लेख्ने दयानन्दको खुबी सायदै कसैमा छ।
उनको ‘ननस्टप एक्सप्रेस’मा खास ब्रेक भने सोमबार मात्रै लाग्यो, उनको निधनसँगै।
[तस्विर: कान्तिपुर, २०७०-कार्तिक २५ गते सोमवार]
२०७० साल कार्तिक २६ गते मंगलवार।
Leave a Reply