कवि माधवप्रसाद घिमिरेसँग गरिएको कुराकानी
स्रोत: ई-कान्तिपुर
-पारस नेपाल
पहिले बाहिर पनि जान्थें । अहिले चाहिँ मैले बाहिर जान रोकें । अब उमेर पनि अड्को भयो । बिहान छ बजेतिर उठ्छु । बेलुका साढे दस-एघारमा सुत्छु । दिउँसो भेटघाटको काम चल्छ । लेखन पनि चल्छ । तर रुटिनअनुसारको काम मबाट हुन छोड्या छ । रुटिनअनुसार म चल्दिनँ, मेरोअनुसार रुटिन चल्छ (लामो हाँसो) । त्यति स्वतन्त्र भइएछ ।
महाकाव्य लेखन कहाँ पुग्यो ?
अचेल मेरो मुख्य काम ‘ऋतम्भरा’ महाकाव्य नै हो । यो करिबकरिब समाप्त भएको छ । १४ सर्गको भएको छ । श्लोकहरू एक हजारभन्दा बढी छन् । (दाहिने चोरऔंलो देखाउँदै) जुन औंलाले लेख्नुपर्ने हो, त्यो औंलो काम्छ (हाँसो) । ‘काम धेरै भयो, अब नगर्’ भनेको हो कि ? तर मैले लेख्न थालेपछि खररर लेख्ने नगर्ने हुनाले औंलालाई त्यस्तो भार पनि छैन । म अगाडिको घाँस पेटभरि खाएर पछि उग्राउने गोरु होइन (हाँसो) । म त चरो हुँ, कुनै रूखको हाँगामा बसेको । चारो देखेपछि टपटप टिप्छु, फेरि उडेर जान्छु हाँगामा अनि त्यहाँ बसेर गीत गाउन थाल्छु । मलाई कुनै विषय स्फुरण भयो भने त्यसमा केही समय लीन हुन्छु । पंक्ति बनिसकेपछि सार्ने गर्छु । बिर्सेला भनेर लेख्नुपरिहाल्छ । तर फसाद सकिएको हुँदैन । सारेर ढुक्क भएर बस्यो । केही समयपछि हेर्दा त आफ्नो अक्षर उर्दू हो कि अंग्रेजी हो कि नेपाली हो, आफैंलाई थाहा हुँदैन (लामो हाँसो) । समयको अन्तराल लामो भयो भने त मुस्किल भइहाल्छ । अनि यसो हेरेको हेर्यै गर्यो, कतैतिर एउटा अक्षर फेला पर्यो भने त्यसैबाट शब्द अनि पंक्तिसम्म पुग्ने गर्छु । मनमा धेरै समयसम्म खेलाएर कापीमा सार्ने भएकोले गणेश राखेर मेरो काम चल्दैन । आफैंलाई लेख्न फसाद भइसक्यो ।
कविता के हो ?
सत्यको सौन्दर्ययुक्त प्रकटीकरण । सत्यको अभिव्यक्ति दुई किसिमले हुन्छ- बात मारेर वा साहित्य लेखेर । जस्तो छ त्यस्तै भन्न कवि वा साहित्यकार हुनुपर्दैन । कवितामा हृदय पक्ष, सौन्दर्य पक्ष पनि हुनुपर्छ । आफूले देखेको मात्र होइन, अर्काले देखेको सत्यलाई पनि मैले स्वीकार गरेर आफ्नो रंग चढाएँ भने, आफ्नो आत्मा हालें भने त्यो साहित्य हुन्छ । तर अर्काले जे भन्यो वा गर्यो वा आफूले जे सोच्यो त्यसलाई सीधै छन्दमा ढाल्दैमा वा गद्यमा ढाल्दैमा त्यो कविता वा साहित्य हुन सक्दैन । यस्तो सचेतता हाम्रा लोकगीतहरूमा पनि पाइन्छ । त्यहाँ कुनै जवान लड्कीलाई देखेर केटोले भन्छ, ‘लालीगुराँस (लालुपाते) फुलेर लाल भयो, आफ्नो भने (आज मेरो) जोगीको ताल भयो’ । त्यो केटोले बात मार्ने हिसाबले ‘ए नानी, तिमी त राम्री छयौ, मलाई कसैले पत्याएनन्, के गर्ने ?’ पनि भन्न सक्थ्यो नि ! तर त्यसरी भनेको भए, त्यो बातमराइ हुन्थ्यो । ‘आफ्नो भने जोगीको ताल भयो’ भन्दा साहित्यिक भयो । कविता वा साहित्यमा कुनै कुरा ढाल्न बडा मुस्किल हुन्छ । सोझै भनेको कुरा जति छन्दमा ढाले पनि गद्यमै राखे पनि त्यो कविता हुँदैन ।
छन्द कविताप्रति युवा पुस्ताको वितृष्णा बढेको एकथरीको गुनासो छ ।
यो ज्यादै सतही कुरा हो । पद्य वा गद्य कुनै कविता रुचाइँदैन भने त्यसको अभिप्राय हो- त्यो लेखन कवितामा ढलेको छैन । छन्द कविताको विरोधमा टीकाटिप्पणी अहिले मात्रै भएको होइन । छन्दको बहिष्कारका निम्ति विराटनगरमा एक बाजि ठूलो सम्मेलन भएको थियो । मलाई पनि डाकेका थिए । सबै जसोले गद्यका कविता सुनाए । मैले भनें- कसैले छन्द मन पराए पनि मन नपराए पनि धरानबाट उकालो चढ्नुपर्दा कुनै लय झिक्नैपर्छ । लय भनेकै छन्द हो । छन्दको आफ्नै विशेषता छ, गद्यको पनि छुट्टै विशेषता छ । यो तीसचालीस वर्षको अवधिमा चालीसपचासवटा महाकाव्य लेखिएका छन् । वितृष्णा भएको भए कसरी लेखिन्थ्यो ? साहित्यको फाँट एकपक्षीय हुँदैन । कुनै छन्द कविता पढिँदैन भने त्यो छन्दमा भएर होइन कि राम्रो नभएर हो । गीत लेख वा कविता वा अरू केही, तर राम्रो लेख, साहित्य लेख । साहित्यकारले अरूले केके रुचाउँछन्, त्यहीत्यही लेख्ने गर्नु हुन्न । आफ्नो रुचिमा पाठकलाई तान्नुपर्छ । ने पालीमा पहिले ‘प्रेमलहरी,’ ‘मदनलहरी’ लेखिन्थे, जनतालाई ध्यानमा राखेर । ‘मुनामदन’ को कल्पना त कसैले गरेको थिएन नि ! देवकोटाले कुनै लहरी नलेखेर अर्थोक लेखे र अमर भए । कवि वा साहित्यकारले जनताको रुचिको परिष्कार गर्नुपर्छ । तिनको रुचिको स्तर बढाउँदै जानुपर्छ । साहित्यकार, चित्रकार, संगीतकार, कलाकारको दायित्व यही हो ।
नयाँ किताबहरू पढ्न पाउनुभएको छ ?
अचेलको कुनै पनि किताब मैले पूरै पढेको छैन । आफ्नै महाकाव्य लेखनले गर्दा फुर्सद छैन । तर केही समयअघि जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ आद्योपान्त पढें । बडा राम्रो थियो । अर्की घिमिरे, खुट्टाले लेख्ने ती छन् नि, झमक घिमिरे, हो तिनको ‘जीवन : काँडा कि फूल’ पढें । राम्रो लाग्यो । अर्को फसाद के छ भने, बूढो मान्छे भइयो । बाहिर निस्किइँदैन । केकसो थाहा हुन्न । आइपरेका र चर्चामा रहेका चाहिँ पढ्छु । ‘सेतो धरती’ पनि पढें । गाउँका जनताको बोल्ने शैलीमा लेखिएको छ । पहिले त रातरातभरि पढेको पढ्यै गरिन्थ्यो । शरच्चन्द्र (चट्टोपाध्याय), रवीन्द्रनाथ (टैगोर) का कथा-कहानी पाएपछि पढेको पढ्यै गर्थें । अचेल त्यति नपढेको चाहिँ नरुचाएर होइन, नभ्याएर हो । अहिले हाम्रोमा गद्य साहित्यको निकै ठूलो विकास भएको छ, चकित पर्ने किसिमले ।
अचेल किताब धेरै बिकिरहेका छन् । लेखक/साहित्यकारहरूले मोटो पारिश्रमिक पाउन थालेका छन् । उनीहरू सेलिबि्रटी भएका छन् । कस्तो लाग्छ ?
हुनुपर्ने कुरै यही हो । पहिलेपहिले हामीलाई आफ्नो रचना छापिए पुग्थ्यो । अस्ति भरखरै जस्तो लाग्छ एउटा कविता छापिएबापत मैले चालीस रुपैयाँ पाएको । चालीऽऽस रुपैयाँ ! म त छक्कै परेको थिएँ । सोच्दै नसोचेको कुरा भएको थियो । तर, केही दिनअघि मात्रै एउटा गीत लेखेर मैले पचहत्तर हजार रुपैयाँ पाएँ । भूकम्पसम्बन्धी गीत थियो त्यो । कुनै पनि साहित्यकारका निम्ति शुभलक्षण भनेकै यही हो । साहित्यकारको खेतबारी फस्टाउँदै जानु अरू क्षेत्रको पनि उन्नति भएको संकेत हो । साहित्यकारहरूका लागि बाटा धेरै खुलेका छन् । अब समालोचकहरूले पनि साँघुरो नभई चौडा बाटो निर्माण गरिदिनुपर्छ । यस्तो हुन सक्यो भने साहित्य समृद्ध हुन्छ ।
तपाईंका सबैजसो रचना पहिलेदेखि नै लोकप्रिय रहँदै आएका छन् । रचनालाई पाठकप्रिय बनाउने कुनै सूत्र छ ?
आफ्नो रचनाबाट आफूलाई चित्त बुझाउन सक्यो भने पाठकको पनि चित्त बुझ्छ । सिर्जना मौलिक चाहिन्छ । मौलिक सिर्जना मान्छेले खोजीखोजी पढ्छन् । फूल राम्रो छ भने सबैले हेर्छन्, त्यो जोसुकैको फूल होस् । त्यो फूल राम्रो हुन गोडमेल, सिँचाइ पाएको हुनुपर्यो । सूत्र यही हो । तर लेख्नुअघि नै कुनै पनि रचनालाई सूत्रमा बाँध्नु हुँदैन । लेखिसकेपछि त्यसलाई कसी लाउनुपर्छ । छाप्ने हतार गर्नु हुन्न । ‘ऋतम्भरा’ महाकाव्य मैले सुरु गरेको सातआठ वर्ष भइसक्यो । तर म आफूलाई चित्त नबुझीकन प्रकाशित गर्दिनँ । सामान्यतया सानो रचना पनि लेखिसकेपछि केही समय त्यत्तिकै राखिरहन्छु । बिर्सने कोसिस गर्छु । त्यसप्रतिको मोह हटिसकेपछि अनि म त्यसको पाठक बन्छु । रद्दी लाग्यो भने थन्क्याइदिन्छु । अहो, मैले कुन सुरमा यति राम्रो सिर्जना गरेछु भनेर गदगद भएँ भने त्यो अरूका लागि पनि लायक छ भन्ने निचोडमा पुग्छु । केही लेखेर कसैलाई दिँदा त्यसले मन पराउला कि नपराउला भनेर सोच्न थाल्नु दोस्रो महत्त्वको कुरा हो । फस्ट प्रायोरिटी लेखकले आफैंलाई दिनुपर्यो नि ! आफैं गदगद हुनुपर्यो नि !
आफ्ना रचनाबाट गदगद् नहुने लेखक को होला र ?
यसमा लेखकको स्तरलाई ख्याल गर्नुपर्छ । स्तरै कम भएको लेखक त जे लेखे पनि गदगद परिहाल्छ । एक दुई रचनाले जनतामाझ स्थापित भएको लेखकले चाहिँ आफ्नो रचना वास्तवमै पाठकप्रिय हुन सक्छ कि सक्दैन भन्ने थाहा पाउन सक्छ । राम्रो सिर्जनाका लागि अर्को सर्त के छ भने, यति दिनमा सक्छु भनेर काम थाल्नु हुन्न । मचाहिँ दिन तोकेर केही लेख्न सक्दिनँ । कसैले फलानो दिनसम्म गीत वा कविता लेखेर दिनुपर्यो भन्यो भने मेरो सिर्जन सामथ्र्य तीनचार कोस पर भाग्ने गर्छ (लामो हाँसो) । करले गरेको कामको नतिजा राम्रो निक्लिँदैन । एघार-बाह्र वर्षको केटोलाई ‘तैंले प्रेम गर्नैपर्छ’ भनेर हुन्छ र ! ऊ जब जवान हुन्छ, त्यसपछि कसैले नभने पनि सुसेली हाल्न थाल्छ, अरू कुरा बिर्सेर प्रेमकै बारेमा मात्रै कल्पिन थाल्छ (लामो हाँसो) । सबभन्दा बढी मौलिकता प्रे ममा हुन्छ । आफ्ना सिर्जनालाई प्रेम गर्नेले मौलिकतामा ध्यान पुर्याउनुपर्छ । दर्शन अरूकै भए पनि त्यसलाई नयाँ किसिमले आफ्नो जसरी प्रस्तुत गर्नुपर्छ । नत्र नयाँ कुरा आउँदैन, पुरानै विषय दोहोरिन्छ । जस्तो, मैले अद्वैत दर्शनको सारलाई यसरी खिचेको छु, जुन राष्ट्रिय एकताको प्रसंगमा पनि मिल्छ :प्रत्येक पुष्पको रूप रंग रेखा अनेक छ तर सौन्दर्यको ज्योति तिनको भित्र एक छ ।
उमेरको शताब्दी छुन लाग्नुभएको छ । यहाँको अनुभवमा जीवन के रहेछ ?
माछालाई सोध्नुस्, सागर भनेको के हो । माछाले भन्न सक्छ ? त्यो बाँचेको त सागरमै हो नि ! जीवन भगवान्को वरदान हो । आफ्नो मन परेको मान्छे गुमाउनुभयो भने थाहा पाउनुहुन्छ, जीवन के रहेछ भन्ने । जीवनजति अद्भुत केही छैन । यही प्रसंगमा मेरा दुइटा पंक्ति भन्छु :यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी ।
केही वर्ष पहिले यहाँले तत्कालीन गीतहरूलाई लिएर भन्नुभएको थियो, ‘गीत त फूलको थुँगा बगेर गयो गंगाको पानीमा … जस्तो पो हुनुपर्छ ।’ अचेलका गीतमा केही भिन्नता पाउनुभएको छ ?
गीत अहिले पनि दुई किसिमकै छन्— एउटा, कुरालाई लयमा ढालेको र अर्कोचाहिँ साहित्यिक किसिमको । जस्तो : ‘बल्लबल्ल भेट भा’को दिन, सङ्लो पानी धमिलो मन किन ?’ भन्नुको अर्थ ‘तपाईं किन बिसन्चोजस्तो देखिनुभा’को ?’ भनेर सोधिएको हो नि ! तर त्यसरी ठाडै भनिएको भए गीत हुने थिएन । नेपाल गीतको देश हो । तराईको भोजपुरी गीत सुनेर मलाई कैयौं स्फुरण भएको छ । जनताको बोलीमा त्यति राम्रा गीत ! अनि मैथिली गीत त्यति नै राम्रा छन् । मैथिलीमा चाहिँ साहित्यिकता बेसी छ ।
यहाँका गीतहरूमा पनि साहित्यिकता, कवितातत्त्व बढी हुन्छ ।
मैले सचेततापूर्वक नै त्यस्तो गरेको हुँ । अघि पनि भनें, म कुनै कुरा सोझै भन्ने गर्दिनँ । यहाँ म एउटा प्रसंग जोड्न चाहन्छु । त्यतिखेर पनि प्रज्ञा प्रतिष्ठानमा वाषिर्क रूपमा कविता उत्सव मनाइन्थ्यो । कविताको विषय राजाबाट दिइन्थ्यो । एक बाजिको विषय आयो— ‘आधारभूत आवश्यकता’ । (लामो हाँसो) कवितालाई समाजशास्त्रको विषय ? समाजशास्त्रको विषयमा कविता कसरी लेख्ने ? नलेखी धर पनि थिएन । मैले सोचें— आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास हो । तर पेट भर्ने उपाय खोइ, हामीलाई बास खोइ, हामीले एक धरो कपडा पाउनुपर्यो भनेर कविता नहुने ! त्यो त नारा भयो । नाराको पनि महत्त्व त छ, तर यहाँ कविता चाहिएको छ । किनभने, बोल्नु त कविले परेको छ । मलाई बडो फसाद पर्यो । अनि कति दिन लगाएर गाँस, बास र कपासको महत्त्व झल्कउने गरी गीतिकविता लेखें : कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो एक इच्छा पुगे मेरो मन दुख्छ हजुर भाइको मन दुखे ।
पल्लो घरको धुरीबाट धूवाँ आ’को छैन
मैले खाई के सार भयो भाइले खा’को छैन
कस्तो हुन्थ्यो एक-एक गाँस सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे ।
तोपचरीको गुँडै राम्रो दक्खिनतिर दैलो
भाइको भने घरै छैन कहाँ खेल्ने भैलो ?
कस्तो हुन्थ्यो यौटा बास सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे ।
फूल राम्रो गुराँस हो कि फूल राम्रो कपास
भाइको शिरमा टोपी छैन कहाँ लाउने गुराँस
कस्तो हुन्थ्यो एक धरो सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे ।
मैले यो उदाहरण दिनुको अर्थ के हो भने, सबै विषयको आआफ्नै महत्त्व हुन्छ । तिमी गीतकार हौ भने कुनै पनि विषयलाई गीतैमा ढाल, नाराबाजी नगर । भाषण नठोक ।
देशको लक्षण अहिलेचाहिँ कस्तो देख्नुभएको छ ?
नेपाल किन अलमलिइराख्या छ ? मैले त सात सालदेखि अहिलेसम्म हेरिराख्या छु, बेहोरिराख्या छु । नेपाल जहिले पनि अलमलमा छ, ढलमलमा छ । जहिले पनि संक्रमणकाल जस्तो । किन त्यो दृष्टि आएन हाम्रा राजनेताहरूमा ? मैले दोष दिन मात्रै खोज्या होइन । तर हामीले राजनीतिको निकास खोज्ने त उनीहरूबाटै हो नि ! एउटा कविले समाधान दिन सक्दैन । स्थायी रूपले कसैले तीन वर्ष शासन गरे त्यो पनि संक्रमणकाल जस्तो क्या ! कुनै राम्रो मूर्ति बनाउनुपर्यो भनेर काम थाल्दै गर्दा गडडड भुइँचालो गयो भने त्यो मूर्ति कस्तो बन्ला ? नेपालको अवस्था यस्तै छ । तीसचालीस वर्षअघिसम्म हामीभन्दा गरिब रहेका देशमा बनेका गाडी आफ्नो सडकम गुडाउन पाउँदा हामी गर्व गर्छौं । अहिले त यतिसम्म दुर्दशा भएको छ कि, युवकहरू घरमा छैनन् । आफ्नो देशमा आयस्ता राम्रो हुने भए उनीहरू यहीं बस्थे नि ! यो प्रजातन्त्र त ‘पर जा तन्त्र’ अर्थात् ‘फलानो मरुभूमिमा जा’ भनेजस्तो पो भयो (लामो हाँसो) । लो कतन्त्र भोकतन्त्र भयो । मैले निन्दा गरेको होइन, यथार्थ देखाएको हुँ । तर मलाई आशा छ, अबचाहिँ नेपालले बाटो लिन्छ । चाहिएको गणतन्त्र आएको छ, संविधानमा त्यो अंकित भएपछि नेपालले स्थायित्व लिन्छ होला ।
२०७० साल भाद्र १३ गते।
Leave a Reply