स्रोत: कान्तिपुर
-देवेन्द्रप्रसाद उप्रेती
वर्षभरि मनाइने विभिन्न चाडपर्वमध्ये जनैपूर्णिमा पनि एक हो । श्रावणशुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिन्छ । यसलाई ऋषितर्पणी र रक्षाबन्धन पनि भनिन्छ तथा हरेक वर्ष यो पर्व साउनमै पर्ने भएकाले यसलाई श्रावणी पनि भनिन्छ । ब्राह्मण ग्रन्थमा पनि जनै र शिखा भएका ऋषिहरूको वर्णन पाइन्छ । यज्ञोपवित अर्थात् जनैका तीन सूत्रले ब्रह्मचर्य, गार्हस्थ र वानप्रस्थ गरी तीन आश्रम वा अवस्थालाई जनाउँछन् । संन्यास अवस्थामा भने यसको आवश्यकता पर्दैन । ब्रह्मचर्य अवस्था पहिलो आश्रममा पर्छ । यस अवधिमा गुरुकुलमा बसेर शिक्षा लिने काम हुन्थ्यो । दोस्रो चरणको गार्हस्थ आश्रम वा अवस्थामा भने विवाह गरी घरव्यवहार सम्हाल्ने काम हुन्थ्यो । तेस्रो आश्रम वानप्रस्थ हो । यस अवस्थामा घरव्यवहार छोरा खलकले हेर्न सुरु गर्ने हुँदा वानप्रस्थीलाई केही खुकुलो हुने भएकाले बिस्तारै आध्यात्मिकतातिर लगाव बढ्न थाल्थ्यो । चौथो एवं अन्तिम आश्रम संन्यासमा भने घरपरिवार त्यागेर वैराग्य तथा भक्तिसाधनामा जीवन व्यतीत गर्थे । संन्यास अवस्थामा घरपरिवारको मायामोहबाट टाढै रहन्थे । वर्तमान अवस्थामा भने घरपरिवार छोडेर नहिँडे पनि व्रतबन्ध गर्ने, शिक्षादीक्षा प्राप्त गर्ने, विवाह गरेर घरगृहस्थी चलाउने अनि छोराछोरी ठूला भएपछि उनीहरूकै हातमा व्यवहार सुम्पने र बिस्तारै आफू चाहिँ भजनकीर्तन गरी आत्मिक ज्ञानको खोजीमा लाग्ने गरेको पाइन्छ ।
जनैपूणिर्माको दिन सनातन धर्मावलम्बीहरू पञ्चगव्य (गाईको गहुँत, दूध, दही, घिउ र गोबर) प्राशन गरी गोबर, खरानी, माटो, दतिवन, दुबो आदि विधिपूर्वक लगाई नुहाएर शुद्ध हुने परम्परा छ । शरीर शुद्ध भएपछि पुरोहितबाट मन्त्रेको जनै लगाउने र हातमा डोरो बाँध्ने गरिन्छ । स्त्रीहरूले चाहिँ रक्षासूत्र मात्र बाँध्ने चलन छ । यसै दिन प्रत्येकले घरघरमा क्वाँटी पकाएर खाने चलन पनि छ । क्वाँटीबाट वषर्ातको समयमा कमजोर भएको र चिसो लागेको शरीरमा पौष्टिक तत्त्व प्राप्त भई चिसोसमेत हट्छ ।
तराईतिर हातमा राखी बाँध्ने चलन छ । दिदीबहिनीले दाजुभाइलाई हातमा राखी बाँधिदिएर सदैव रक्षाको निम्ति कामनासमेत गर्छन् । यसले दाजुभाइ तथा दिदीबहिनीका बीचमा आत्मीय सम्बन्ध झन् प्रगाढ बन्ने विश्वास गरिन्छ । यस दिन पौष्टिकताले भरिएका पदार्थ तथा मिठाई खाने चलन छ ।
रक्षाबन्धनका विषयमा एउटा भनाइ यस्तो छ— एकपटक देव र दानवको बीचमा लामो समयसम्म युद्ध चर्कियो । यस युद्धमा कसैले पनि जित्न सकेनन् । देवराज इन्द्रसमेत किन युद्ध जित्न सकिएन भन्ने चिन्तामा परे । यसपछि देवराज आफ्ना गुरु वृहस्पतिकहाँ गए । वृहस्पतिले भने, ‘तपाईंहरू सबै मिलेर इन्द्राणीकहाँ जानुहोस् र सबैको रक्षाका निम्ति उनलाई तपस्या गर्न अनुरोध गर्नुहोस् । उनको व्रत समाप्त भएपछि हातमा धागो प्राप्त हुनेछ र त्यो धागाको डोरो इन्द्रको दायाँ हातमा बाँध्न लगाउनू तब अवश्य पनि दानवलाई जित्ने बाटो खुल्नेछ ।’
इन्द्राणीको व्रत समाप्त भई प्राप्त गरेको धागाको डोरो इन्द्रले ग्रहण गरे अनि प्रसाद लिई टीकासमेत लगाए । यसपछि पुनः देव र दानवको बीचमा युद्ध हुँदा देवताकै विजय भएको थियो र यहीँबाट रक्षाबन्धनको प्रारम्भ भएको हो भन्ने किंवदन्ती पाइन्छ ।
शरीरमा नयाँ जनै धारण गर्नुको अर्थ सत्य, प्रेम र संस्कारलाई भुलेको छैन भनी गरिएको वाचा हो । यो रक्षासूत्र ग्रहण गरेपछि मान्छेले त्यसलाई स्मरण गर्छ र नकारात्मक एवं कुप्रवृत्तिप्रति अग्रसर हुनबाट जोगिन्छ । आफू आफैमा अनुशासित हुनु नै आत्मानुशासन हो । तर आजभोलि जनै लगाएकाले पनि जनै खोलेर वा नखोलीकन कुप्रवृत्ति एवं कुसंस्कारप्रति ध्यान खिच्न थालेको अनुभूति हुनथालेको छ । हत्या, हिंसा, व्यभिचार र अशान्ति यसकै उपज हुन् । सत्य लोप हुँदै जान थालेको प्रतीत हुन्छ । जनैलाई लक्ष्मणरेखा मानी संस्कारोचित अवस्थामा दृढ रहने हो भने व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रको नै हित र उन्नति हुन्छ ।
जनैपूणिर्मा वा रक्षाबन्धनको दिन सार्वजनिक बिदा दिने चलन पनि छ । यसले परम्परादेखि चल्दै आएको सनातनी संस्कारलाई जीवित राखेको छ भने आफ्नो अस्तित्व एवं संस्कृतिलाई समेत बढावा दिएको छ ।
२०७० साल भाद्र ५ गते बुधवार।
Leave a Reply