स्रोत: कान्तिपुर
-झमक घिमिरे
हावाको स्पर्शले रूखपात हल्लिएका छन् । नजिकैका सल्लाहरू सुसाएर के के साउती गर्छन् । सायद भन्दा हुन्- हामीले कति हिउँद काट्यौं, कति झरी, बादल, असिना पानी थेग्यौं । भो जिन्दगी पनि दिक्क लाग्न थालिसक्यो । अब नयाँ पालुवाले पालो दिए हुन्थ्यो । साँच्चै जिन्दगी लामो भएपछि दिक्क लाग्छ क्यारे । त्यसैले त बूढापाकाहरू भन्छन्, सार गइदिइहाले आनन्दै हुन्थ्यो । यो कलिकति त जन्म, ज्युनु र जीउमा पनि भर पर्ने कुरा होला । कसैलाई उमेरले धेरै फाल हानेपछि भर्खरको जवानीले छोड्न सक्दैन । कसैलाई भने असमयमै जिन्दगी झुसिलो लाग्छ, अशान्त, अपि्रय र अनाम लाग्छ । र धर्तीबाट जिन्दगीलाई अनाम यात्रातिर धकेल्न खोज्छन् । यस लोकको अनाम यात्रा गर्न खोज्छन् । कमसेकम सल्लाहरू त एउटै ठाउँमा स्थिर रहन्छन् । जिन्दगी पनि स्थिर छ, जिन्दगीसँग दिक्क लागे पनि उनीहरू त्यही जिन्दगीलाई टेकेर उभिइरहन्छन् । उनीहरू आफैंमा स्थिर छन् अचल र अटल रहनुसँग पनि जिन्दगीको एउटा खासाकै मज्जा हुँदोरहेछ क्यारे । आफैंमा अशान्त, अपि्रय, अनाम बनेर नबाँच्नु पनि आनन्द नै हो । तर मान्छेसँग एउटा मन हुन्छ त्योसँग कैयौं धमिलोपन हुन्छ सङ्लोपन पनि त्यहीँ हुन्छ । मान्छे अस्थिर छ, ऊ अचल र अटल छैन । छिनछिनमा रूप रंग फेर्छ, आकार फेर्छ, विचार फेर्छ । त्यही मान्छेको अस्थिरपनसँग कताकता निराशाका गुजुल्टासँगै मान्छे आफैं हराउँछ र जिन्दगी त्यसै हराउँछ ।
ऊ ती सल्लाका रूखहरू जमिन टेकेर उभिइरहन्छन् जल पाएर बढिरहन्छन् । आफ्नो समयभरि ती आफैं चटपटाउँदैनन् मान्छेजस्तो फेदबाट चढेर टुप्पोसम्म र टुप्पोबाट झरेर फेदसम्म जाने आउने काम गर्दैनन् । उनीहरूसँग न आफू चढेकोमा खुसी छ ? न त आफू झरेकोमा दुःख छ । मलाई त्यही रूखको जस्तो जिन्दगी बाँच्न मन छ । जो आफैंमा पीडित छैन, हर्ष र विस्मातका रेखाहरू कोरिएकै छैन । उसको जिन्दगीमा मलाई त्यही जिन्दगी मन पर्छ, जोसँग हर्ष र विस्मात छैन, त्यसका धमिलापनहरू पटक्कै छैन । जो सङ्लोपन मात्र छ । जो स्वयंमा दुख्दैन । उसलाई हावाले हल्लाइदिँदा एकछिन हल्लिए पनि उसलाई कसैले चोट लाइदिए पनि ऊ स्वयम्मा हल्लिँदैन र चोटग्रस्त बनेर बाँच्दैन । ऊ जति लामो जिन्दगी भए पनि र वर्षौंदेखि एउटै ठाउँमा जरा गाडेर बसे पनि त्यो जमिन मेरो हो भनेर नवपालुवालाई कहिल्यै दावा गर्दैन ।
मान्छेले भने यो सृष्टि नै आफ्नो भनिदिन्छ । जव कि यहाँ हजारौं जीवन, जीवन र तिनका जीनामहरू छन् । त्यसो त नदी र पानी अगल अलग कुरा न नदीले यो मेरो भन्छ । न त जमिनले भन्छ । न त पानीले जमिन मेरो भन्छ, ऊ त बग्छ बगिरहन्छ । बग्नु उसको दैनिक नियति होला सङ्लो पानी, छातीमा बगाउनु नदीको आफ्नोपन हो । कहिलेकाहीं बाढी पसेर धमिलो देखिनु उसको कृत्रिम स्वरूप ऊ कहिल्यै चोटग्रस्त, तनावग्रस्त हुँदैन । र, त उसको सक्कली स्वरूप परिवर्तन हुँदैन । तर मान्छे ? कहिले उमेरसँग अशान्त बन्छ, कहिले जन्म, ज्युनु, जिउनसँग अशान्त बन्छ । यही अशान्त र असन्तुष्ट जिन्दगीहरूको डंगुरभित्रबाट कसैले चिच्यायो- मान्छे नदीमा डुब्यो । जिन्दगी नदीमा डुबेर स्वाहा पार्यो । त्यति अशान्त छ मान्छे । यसराजको प्रतीक्षा गर्न आफ्नो समयसम्म भ्याएन । आफैं अपहत्ते गरेर बेला न कुबेला उनको ढोका ढकढक्याउन पुग्यो भने मान्छे कति अशान्त, अस्थिर छ ? कति चोटग्रस्त छ मान्छेको जिन्दगी ? ऊ ती सल्लाजस्तो स्थिर हुन सकेन र त अभिशप्त जिन्दगी बाँच्छ । मान्छेले आफ्नैं कारण धमिलोपनमा बाँच्छ र मर्छ यो मान्छेको नियति भनौं कि अनियति भनौं खोइ मान्छे कसरी बाँच्दछ, मर्दछ यो भन्ने पालो उही समयलाई… पर्ख उसले के भन्छ ?
२०७० साल श्रावण ४ गते शुक्रवार।
Leave a Reply