स्रोत: कान्तिपुर
-घिमिरे युवराज
संकटमा परेको पन्क्षी गिद्धको संरक्षणमा सिरहाका एकजना शिक्षक लागिपरेका रहेछन् । गिद्धको बासस्थान र आहारा संकटमा छ । त्यसका लागि उनले एउटा उपाय निकालेछन् । मरेका गाईगोरु बटुलेर गिद्धलाई खुवाउने । अभियानमा केही राजनीतिक कार्यकर्ताले रोक लगाए । ती कार्यकर्ताको राष्ट्रियतासँग जोडिएको तर्क बढो बलियो थियो- ‘अमेरिकाको राष्ट्रिय पन्क्षी गिद्ध हो । अमेरिकाको राष्ट्रिय पन्क्षी गिद्धलाई गाई खुवाउने ? यो राष्ट्रघाती काम हो ।’ सोचमग्न भएँ, हामी युवाको राजनीतिक चेतना कहाँ छ ? राजनीतिक प्रशिक्षण चलाउने हाम्रा नेताहरू आफ्ना कार्यकर्तालाई के सिकाउँछन् ? यस्ता धेरै राजनीतिक अन्धविश्वास र अज्ञानता जोडिएर हामी यो बेथिति भोग्दैछौं । रंगकर्म गर्ने म उकुस-मुकुस भएर यो लेख लेख्दैछु । गिद्ध, अमेरिका, गाई र राष्ट्रियताको ‘आइरनी’ नेपाली राजनीतिक चेतनाको मुटु हो भन्ने मलाई लाग्छ । धेरै हप्तादेखि यो ‘आइरनी’ सजिलो र अप्ठ्यारो अर्थमा म गम्दो छु ।
केही हप्ताअघि वैद्य माओवादीले मजदुरहरूको पक्षमा गरेको भनिएको कथित आन्दोलन क्रममा एउटा आपत्तिजनक नारा फुके, ‘आन्दोलन जारी राख्छौं । चाहे देशका सबै कलकारखाना बन्द गर्नु परोस् ।’ मिडियाले यसलाई धेरै नै फुके मानौ यो सुन्दर राजनीतिक मन्त्र हो । तर यो समाचारले म अत्यन्तै दुःखी भएँ । मलाई लाग्यो, एउटा सामान्य अबुझ नागरिकले पनि भन्न नहुने कुरा उनीहरूले गरे । माओवादी युद्धमा विध्वंस भएका संरचनाहरू जत्तिकै आपत्तिजनक स्थिति हो, यो देशका लागि । हाम्रा पार्टीहरूले गरेको ठूला खाले राजनीतिक गल्तीहरूमा कहिल्यै कसैले विचार र पुनःमूल्याङ्कन गर्यो ? मलाई शंका छ ।
सायद त्यसैले हामी पटक-पटक असफल भयौं । देशमा चल्तापुर्जा रहेको राजनीतिक पार्टीले देशका विषयमा कसरी सोच्छ र उसको राजनीतिक चेतना कहाँ छ ? त्यो बुझ्ने बलियो आधार हो । भनेपछि एउटा राजनीतिक अहम्का लागि उनीहरू पुरै देशलाई ठप्प पार्न सक्छन् । सबैलाई सखाप पार्न सक्छन् । अदालती कानुनले यसलाई कसरी परिभाषित गर्छ ? के यो अपराध हैन ?
मैले केही दिनअघि यसै पत्रिकामा एकजना मानिएका नेता प्रदीप ज्ञवालीको धार्मिक तथा सामाजिक अन्धविश्वासबाट निम्तिएका केही क्रूर र अमानवीय घटनाहरू माथिको चिन्ता-लेख पढेंँ । केही समयदेखि म शिल्पीमार्फत निरन्तर महिलाहिंसा र अन्य खाले सामाजिक अन्धविश्वासको विरुद्धमा नाटक तयार पारेर देशव्यापी मञ्चनमा हिंँडेको र ती घटनाहरूको नजिक बसेर दर्शकहरूसँग बहस गरिरहेको हुनाले उहाँले लेखेका कुराहरू अझै धेरै मेरो चाखको विषय बने ।
प्रदीप दाइ, हामीले मानेका नेता हुनुहुन्छ । उहाँले उठाएका बँुदाहरू निक्कै महत्वपूर्ण लागे । तर मेरो चिन्ता के हो भने आफ्नो पक्षमा समाचार नलेखिएकोमा एउटा पत्रकारलाई ज्यान मार्ने हिसाबले कुटपिट गर्ने -खिलनाथ-पर्शुराम घटना) राजनीतिक कार्यकर्ता बोक्सी भनेर कुनै महिलालाई जलाउने पुरुषभन्दा कति फरक छ ? तिनका नेता प्रदीप दाइले बोक्सीका आरोपमा मारिएका वा कुटिएका महिलाहरूको पक्षमा लेख्नु र सांस्कृतिक चेतनामाथि प्रश्न उठाउनु मेरोलागि हास्यास्पद हो । मैले त्यतिखेर आफैसँग धेरै प्रश्न गरँंे, कुनचाहिं बढी अन्धविश्वास हो ? यतिखेर तिनै पर्शुरामलाई अपराधको कठघराबाट मुक्त गराउन उहाँका कार्यकर्ता चन्दा उठाउँदैछन् रे । राजनीतिक पार्टी र तिनका नेताहरूले आफूसँगै कुम्लोमा बोकेर नसकिने अन्धविश्वासले थिचिएर अरुको अन्धविश्वासको आलोचना के अर्थ छ ?
देशभरि घुमेर धेरै युवासँग भेटेर म आफैसँग प्रश्न गर्ने गर्छु, अनेक राजनीतिक आस्थामा हिंँडेका हामी युवाको राजनीतिक सोचमा कसरी आमूल परिवर्तन ल्याउन सकिन्छ ? सबैभन्दा डरलाग्दो कुरा एउटाले अर्कोको अस्तित्व स्विकार्दैन । आज नेपाली राजनीतिले सिकाएको ठूलो संस्कार यही हो । अब हामी कुन संस्कारको कुरा गर्दैछौं ?
अतएव मेरो निरीह आत्मा नेपालका राजनीतिक पार्टी, तिनका नेता र कार्यकर्ताहरूका राजनीतिक चेतनालाई बुझेर शनैःशनैः एक्लै विक्षिप्त हाँसो हाँस्छ । मलाई लाग्छ, नेपालका नेताहरू ठूलो राजनीतिक अन्धविश्वास र अज्ञानतामा काम गर्छन् ।
यसको कारण छ, तिनीहरू राम्रा किताब पढ्दैनन् । राम्रा गीत सुन्दैनन् । राम्रा नाटक र चलचित्र हेर्दैनन् । ग्यालरी वा पुस्तक पसल जाँदैनन् । स्वस्थ खाना खाँदैनन् । व्यायाम गर्दैनन् । यी सबै तत्त्वको अभावमा तिनका राजनीतिक र सांस्कृतिक अन्धविश्वास विद्यमान छन् ।
लगभग एक वर्षअघि नाटक यात्राको क्रममा दाङ पुगेको बेला अचानक बन्द भेटियो । सर्वोच्च अदालतले कांग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर्याएपछि विरोधमा नेविसंघका कार्यकर्ता सडकमा ओर्लिएका रहेछन् । हामी लज्जित भएर रोकियौं । उनीहरूसँग कुरा गर्ने मन पनि भएन । तिनको राजनीतिक अज्ञानतालाई कसरी चिर्ने ? खुमबहादुर गिरफ्तार हँुदै गर्दा टिभीलाई भन्दै थिए, ‘सर्वोच्च अदालतका दुई विद्वानले मेरो विषयमा गलत निर्णय गर्नुभयो । गलत निर्णय गर्नेहरूलाई उनले किन विद्वान भन्नु ? विद्वान मानिनैसकेपछि निर्णयको पनि पालना गर्नु । एउटा नेताले आफू सरकारमा बस्ता एउटा नियम बनाउँछ र उसैले बाहिर निस्किएपछि भत्काउँछ । ऊ आफैलाई भ्रम छ, उसको राजनीतिक विचार र आस्था के हो ?
धार्मिक र संस्कारगत अन्धविश्वासको सबैभन्दा ठूलो संरक्षण राजनीतिले गरेको छ । अशिक्षित राजनीतिक कार्यकर्ता र नेताहरूको कुरा छोडौं, तर तिनै जान्ने कहलिएका र आधुनिक विचार बोल्छौं, लेख्छौं भन्ने नेताहरूप्रति मेरो दुःखेसो हो । समाजमा समस्या छ, त्यसको वृत्तान्तको के कुरा भो । त्यसको विरुद्धमा हामीले कति काम गर्यौं, यतिखेर त्यो महत्वपूर्ण हो । कामै नगरी हामी दार्शनिक रोदन गर्छौं भने त्यसको नकारात्मक प्रभावमात्रै पर्छ । जसरी डा. बाबुराम भट्टराईले गरिबको हैसियत बुझ्न खोज्दा आलोचना भोगे ।
एउटा पार्टीले आफ्ना कार्यकर्ताहरूको राजनीतिक वा सांस्कृतिक प्रशिक्षण कसरी गर्छ भन्ने कुरा गहन छ । त्यसले पनि निर्धारण गर्छ, त्यस समाजको सामाजिक अन्धविश्वास । ती प्रशिक्षणहरूमा पक्कै अनगिन्ती त्रुटि भएका छन् । उसले जनजाति, क्षत्री-बाहुन, दलित, हिन्दु, बौद्धमार्गी, मुस्लिम आदिलाई हेर्ने दृष्टिकोण संकीर्ण छ । संघीयताको नाममा गरिएको ‘स्कुलिङ’ गलत छ । फेरि पनि नेपाली राजनीतिले आफ्ना कार्यकर्ताहरूलाई अरुको अस्तित्व नस्विकार्ने खालको ‘स्कुलिङ’ किन दिइरहेछ ?
रह्यो, सांस्कृतिक चेतनाको कुरा । सरकारी स्कुलहरूमा पढाइको स्थिति विजोग छ । भौतिक पूर्वाधारहरू छैनन् । शौचालयहरू छैनन् । डेक्स, ब्रेन्च छैनन् । आधुनिक विचार भएका शिक्षक छैनन् । गगन थापाहरू वर्षौंदेखि स्कुलमा गएर राजनीतिक भाषण गर्छन् र अचानक ‘हामीलाई प्रवेश निषेध अनिवार्य छ’ भनेर चर्चा बटुल्छन् । यतिखेर मलाई लाग्छ, विद्यालयमा हामी गुरु घिमिरे, मदन संग्रौला, विनोद ढकाल वा हर्कमान तामाङका वाहियात भाषण सुनेर हुर्कियौं । आज पनि यो क्रम निरन्तर छ ।
परिवर्तन स-साना कणहरू जोडिएर हुने हो । रुवाबासी गरेर केही नहुने रहेछ । यस्ता अन्धविश्वासलाई चिर्न लेखक, कलाकारहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने त तपाईहरूलाई महसुस भएको हुनुपर्छ । खासगरी एमाले र माओवादीलाई । तपाईहरूले त बेलाबखत आन्दोलनमा कलालाई प्रयोग गर्नुभएकै हो । कांग्रेस र अन्य पार्टी त यसमा शून्य छन् भन्ने मलाई लाग्छ । बुझिएका भनिएका पार्टी वा नेताहरूले पनि सरकारी सांस्कृतिक निकायलाई किन बलियो बनाउन सक्नुभएन ? किन राजनीतिक नियुक्तिहरूमा तपाईहरूले काम नलाग्ने मानिसहरूलाई थपनाको रूपमा राख्नुभयो ? प्रदीप दाइ संस्कृति मन्त्री हुँदा लक्ष्मण रायमाझीजस्ता व्यक्ति सांस्कृतिक संस्थानको महाप्रवन्धक बनाइए । अहिले पनि कुनै अर्का रायमाझी छन् । किन र कसरी यस्ता असक्षम र अदक्ष व्यक्तिहरू त्यहाँ पुर्याइन्छन् ?
धेरै नेताले पछिल्लोपटक लेखेका महान लेखहरूप्रति मेरो खेद छ । आफ्नो काममा असफल भएकाहरू वा बदमासी गरेर दण्ड भोग्नुपर्नेहरू पनि महान लेखद्वारा आचमन गर्दैछन् । अहिले देशलाई साँच्चै काम चाहिएको छ । ती महान विचारहरू व्यवहारमा टिक्छन् कि टिक्दैनन् त राजनीतिक लेख लेख्ने सबै नेताले आ-आफ्ना क्षेत्रमा आजमाएर हेरे कति जाती हुन्थ्यो ?
२०७० साल असार १२ गते।
Leave a Reply